२०६७ सालको मदन पुरस्कार झमककुमारीलाई

२०६७ सालको मदन पुरस्कार झमककुमारीलाई


काठमाडौं । मदन पुरस्कार गुठीले ’जीवन काँडा कि फूल’ नामक आत्मकथात्मक कृतिका लागि झमककुमारीलाई २०६७ सालको मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कारको राशी २ लाख रुपैया रहेको छ । सन् १९८० मा धनकुटाको कचिडेमा जन्मिएका झमककुमारीको जन्मदेखि नै हातगोडा नचल्ने, उभिन, हिडडुल गर्न, बोल्न सक्दिनन् । तर, उनको दुबै गोडाको तीन औंला मात्र चल्छ । त्यही गोडाको औंलाको सहयोगमा धरै रचना प्रकाशित भइसकेको छ ।
पछिल्लो सयय प्रकाशित ‘जीवन काँडा कि फूल’ नामक आत्मकथात्मक कृति धेरैले मन पराएका छन् । झमककुमारीका संकल्प, मान्छेभित्रको योद्धाहरु,आफ्नै चिता अग्निशिखातिर, झमक घिमिरेका कविताहरु, सम्झनाका बाछिट्टाहरु, जीवन काँडा कि फूल, अवसानपछिको आगमन लगायतका कृति प्रकाशित छन् ।

मदन पुरस्कार गुठीले एक वर्षभित्र नेपाली भाषामा निस्किएका उत्कृष्ट कृतिहरुमध्ये एकलाई मदन पुरस्कार प्रदान गरिँदै आएको छ । मदनशमशेर राणाको स्मृतिमा रानी जगदम्बाले स्थापना गरेको मदन पुरस्कारको घोषणा २०१२ साल असोज १० गते भएको थियो । पहिलो पटक २०१३ सालमा ‘हाम्रो लोकसंस्कृति’का लागि सत्यमोहन जोशी, ‘जनरल भीमशेन थापा’का लागि चित्तरञ्नज नेपाली तथा ‘अधिकविभव स्थिरविद्युत उत्पादक’ का लागि बलराम जोशीलाई प्रदान गरिएको मदन पुरस्कार अहिलेसम्म ६६ जनाले पाइसकेकाछन् ।
-देब, मेस, काठमाण्डौ ।