छोरीको साथ पाएर मख्ख सनी

छोरीको साथ पाएर मख्ख सनी


वलिउडबारे थोरै मात्र चासो राख्नेले पनि चिन्दछ कि सनी लियोनी को हुन् ! तर सनी लियोनी एक छोरीकी आमा बनेकी छिन् भन्नेचाहिँ धेरैलाई जानकारी नहुन सक्छ । हो, सनीको जिन्दगीमा एक सानी छोरी आएकी छिन् । तर, छोरीलाई सनी आफैले जन्म दिएकी भने होइनन् । महाराष्ट्रको लातुर भन्ने ठाउँबाट धर्मपुत्रीको रूपमा सनीको जोडीले हालै ती बच्चीलाई अपनाएका हुन् । सनीले छोरीको नाम निशा कौर वेबर राखेकी छिन् ।

हालै मुम्बईमा आयोजित एक कार्यक्रमबीच सञ्चारकर्मीहरूले सनीलाई उनको मदरहुड (मातृत्व)बारे धारणा जान्न चाहे । सनी अत्यन्त प्रफुल्लित भइन् र जावाफ दिइन्– ‘म छोरीकी आमा बन्न पाएर यतिबेला अत्यन्त खुशी छु । वास्तवमा यो अनुभूति कस्तो छ भनी शब्दमा म बताउनै सक्दिनँ । जब म छोरीलाई हेर्छु, उनको अवोधपन र मुस्कुराहट देखेर मुग्ध हुन्छु । म पूरै पग्लिन्छु र काखमा लिएर उनलाई छातीमा टाँस्छु ।’

धर्मपुत्रीको रूपमा बच्ची अपनाएपछि आफ्नो परिवारले पूर्णता पाएको सनीको ठहर छ । आफू बच्चा भनेपछि हुरुक्कै हुने गरेको खुलासा गर्दै सनिले हालै आफूसँग घटेको एक घटना सुनाइन् । कुनै एक अवसरमा काखमा सानो बच्चा बोकिरहेकी एउटी महिलाको नजिक उनी थिइन् । ती महिलाको काखबाट बच्चा आफूतिर लम्किएपछि उनी चुप रहन सकिनन् र उक्त बच्चालाई हातमा लएर खेलाउन थालिन् । तर, पछि त यस्तो स्थिति आइपर्‍यो कि बच्चा उसकी आमासँग जान नमानेर सनीकै काखमा बस्न खोज्छ । निकै फकाएपछि मात्र उसले सनीको काख छोडेको थियो । वास्तवमा यस घटनापछि नै सनीभित्र धर्मपुत्रीको रहर पलाएको रहेछ ।

स्मरणीय छ, वलिउड स्टार शाहरुखको छोरा अबराम र अमिर खानको छोरा आजाद ‘सरोगेसी’बाटै पैदा भएका हुन् भने करण जौहर र तुषार कपुर पनि सेरोगेसीमार्फत् नै ‘सिङ्गल ड्याड’ बनेका छन् ।