प्रहरी बढुवामा महिला अधिकृत नपरेपछि…..!

प्रहरी बढुवामा महिला अधिकृत नपरेपछि…..!


नेपाल प्रहरीमा हालै गरिएको अधिकृतहरुको बढुवामा महिला प्रहरी अधिकृत नपरेको भन्दै गृहमन्त्री जनार्दन शर्माको आलोचना हुन थालेको छ । हालै भएको बढुवामा जना पनि बरिष्ठ महिला अधिकृत नपरेपछि आलोचना सुरु भएको हो । सो बारे प्रहरी संगठनभित्रै चर्काे आलोचना भएको बताइएको छ । प्रहरी संगठनमा योग्यता पुगेका प्रहरी बरिष्ठ अधिकृतहरु रहेता पनि बढुवामा कसैको नाम सिफारिस नभएपछि फेरी महिला समावेशीको विषयले प्राथमिकता पाएको छ ।

संविधानले सरकारी सेवालाई समावेशी बनाउन निदृष्ट गरेको छ । तर, केहीदिन पहिले प्रहरीभित्र भएको बढुवा सिफारिसमा सो कुरा प्रतिविम्वित हुन नसकेको असन्तुष्ट बाहिरीनेक्रममा रहेको छ । त्यति धेरै संख्यामा पदोन्नतीका लागि सिफारिस हुंदा महिला प्रहरी एक जना पनि नपरेपछि उनीहरु खिन्न भएका छन् । एआईजी र डीआईजीमा बढुवा गर्न महिला प्रहरी नभएपनि एसपी र एसएसपीमा बढुवा गर्न योग्यता पुगेका महिला प्रहरी अधिकृत धेरै रहेका थिए ।

२०४९ सालमा एसपी पूजा सिंहसंगै नेपाल प्रहरीमा प्रवेश गरेका एसपीहरु बिश्व पोख्रेल, उत्तम सुवेदी, रबिन्द्र धानुक, दिवेश लोहनी, बसन्त लामा र धिरज सिंहलाई एसएसपीमा बढुवा हुन सिफारिस गरिएको छ । तर सोही ब्याचकी प्रतिस्पर्धी एसपी सिंहलाई बढुवाका लागि सिफारिस गरिएन । एसपी सिंह एक मात्र बढुवाका लागि महिला प्रतिस्पर्धी थिइन । उनी अहिले सुडान मिसनमा कार्यरत छिन् । एसपीबाट एससपीमा बढुवा हुन एउटै ब्याचका पुरुषहरु पर्दा सोही प्रतिस्पर्धाबाट आएकी एसपी सिंहलाई बढुवाका लागि सिफारिस नहुंदा आलोचना सुरु भएको छ । उनी खुल्ला प्रतिस्पर्धाबाट ईन्स्पेक्टरमा आएकी महिला प्रहरी अधिकृत हुन । प्रहरीमा अहिले पूजा सिंह, मिरा चौधरी, किरण बज्राचार्य, दुर्गा सिंह र किरण राणा गरी पाँच जना महिला एसपीहरु रहेका छन ।

महिला एसपीहरुमध्ये खुल्ला प्रतिस्पर्धाबाट आएकी एसपी सिंह रोलक्रम अनुसार अगाडि छिन् । हाल संयुक्त राष्ट्रसंघीय मिसन कमाण्ड गरिरहेकी सिंह भूकम्प आएका बेला जिल्ला प्रहरी कार्यालय काभ्रेकी प्रमुख थिइन । पूर्वाञ्चल क्षेत्रीय ट्राफिक कार्यालयमा रहंदा उनले राम्रो ट्राफिक ब्यवस्थापन गरेको भन्दै प्रशंसा भएको थियो । प्रहरी संगठनभित्र समावेसीको कुरा गर्दा पनि उनी महिला र मधेशी दुवै हुन् ।