निर्माताले ‘गर्लफ्रेन्ड’ बन्न आग्रह गरेपछि…

निर्माताले ‘गर्लफ्रेन्ड’ बन्न आग्रह गरेपछि…


नायिकाको पहिचान बनाउँदै गरेकी स्यारोन श्रेष्ठले आफूलाई ‘ब्रेक’ दिने एक निर्माताविरुद्ध गम्भीर आरोप लगाएर सनसनी मच्चाएकी छिन् । केही दिनअघि ‘सायद २’ नामक चलचित्रकी नायिका स्यारोनले सञ्चारकर्मीहरू नै गुहारेर आफ्नो पीडा पोखिन् । उक्त फिल्मका निर्माता सुनील रावलले आफूलाई ‘सेक्सुअल ह्यारेसमेन्ट’ गरेको उनको आक्षेप छ । पत्रकारहरूबीच स्यारोनले सुनीलमाथि आरोप लगाउन कुनै हिच्किचाहट गरिनन् । फिल्मको सुटिङ अवधिभर आफूहरूबीच सुमधुर सम्बन्ध रहे पनि जब चलचित्र प्रदर्शनमा गयो, त्यसले अपेक्षित परिणाम नदिएपछि निर्माता सुनीलले अनेक दोष लगाएर दिक्क तुल्याएको स्यारोनको भनाइ छ ।

सुटिङ सेटमा जिस्क्याउनेदेखि ‘मेरो गर्लफ्रेन्ड बन न’ भनी दबाब दिँदा पनि आफूले हल्का रूपमा लिएर टार्दै आएको खुलासा गर्दै स्यारोनले भनेकी छिन्, ‘सायद २ को प्रमोसनमा सहयोग नगरेको भन्दै सुनीलदाइले विभिन्न आरोप लगाउनुभयो । म मुम्बई जानु थियो, त्यसैले भ्याइनँ भनेर भनेकी थिएँ, मुम्बईबाट फर्केपछि ल म फुर्सदमा छु, फिल्मको प्रमोसनसम्बन्धी कुनै काम भए भन्नुहोला भनेर खबर पनि गरेकी थिएँ । तर, उहाँको व्यवहार अर्कै देखियो ।’ मेरो एक करोडमा स्यारोनले मस्ती गरी भनेर सुनीलदाइले जथाभावी अभिव्यक्ति दिनुभएको रहेछ, त्यो सुनेपछि मैले आफूलाई दबाएर राख्न सकिनँ भन्दै स्यारोनले प्रतिप्रश्न गरेकी छिन्, ‘कुन एक करोडमा मैले कसरी मस्ती गरेँ ? यो कुराले मेरा साथीसङ्गी र घरपरिवारलाई नै चकित पारेको छ, मलाई यसले नराम्रो अनुभूति दिलाएको छ ।’ विशालनगरस्थित चलचित्र सङ्घको कार्यालयमा सञ्चारकर्मीहरूसँग भावुक मुद्रामा प्रस्तुत हुँदै स्यारोनले निर्माता रावलको गलत व्यवहारकै कारण आफूले कतिपटक त सुटिङको सेटसमेत छाड्न लागेको पनि बताइन् । फिल्म नचल्नुमा विभिन्न फ्याक्टरले काम गरेको हुन सक्छ भन्दै उनले आफ्नै कारणले फिल्म फ्लप भएजस्तो गरेर यसरी खनिनु अनुचित भएको तर्क गर्दै भनिन्, ‘फिल्म नचलेपछि एक करोडमा मस्ती गरेको मनगढन्ते आरोप लगाउने निर्माता सुनीलको यो कस्तो रवैया ?’

उता, आफैँले कास्ट गरेको एक नयाँ कलाकारले यसरी सार्वजनिक रूपमा अभियोग लगाएकोमा निर्माता सुनीलले बेग्लै चित्त दुःखाएका छन् । आइन्दा नयाँ कलाकार लिएर काम नगर्ने अभिव्यक्तिसमेत उनले दिएका छन् । तर, स्यारोनले चाहिँ आफूमाथि दिएका अभिव्यक्तिका लागि सुनील रावलले माफी माग्नुपर्ने अडान राखेकी छिन् ।