अनेसास यूकेको घोषणा पत्र र बेमेल प्रसङ्गहरु

अनेसास यूकेको घोषणा पत्र र बेमेल प्रसङ्गहरु


अनेसास यूकेले गत महिनाको आखिरीमा दोस्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन लण्डनमा आयोजना सम्पन्न गरेको छ । नेपाली भाषा तथा संस्कृतिलाई विदेशी भूमिहरुबाट सम्वर्द्ध तथा प्रवर्द्धन गर्ने हेतु आयोजित सो कार्यक्रम यहाँ तीन दिनसम्म चलेको थियो । सोही तीन दिनको निचोडमा उक्त संस्थाले एक घोषणा पत्र तयार पारी सार्वजनिक गरेको छ । जसको मुख्य बुँदाहरु निम्न छन् –

१) डायस्पोरा लाई नेपाली भाषामा आगन्तुक शब्दको रुपमा शब्दकोषमा भित्र्याउने
२) नेपाली भाषालाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउने प्रयत्न गर्ने
३) नेपाली भाषा पठनपाठनको निमित्त स्थानीय निकायहरुसँग सम्वन्ध बढाउने
४) पूर्वीय सम्यताको संवाहक संस्कृत भाषामा अभिलिखित सम्पदालाई विश्वसामु परिचित गराउने आदि ।

विस्तारै बढ्दै जाने क्रममा रहेको एनआरएनको तात्पर्य बोक्ने नेपालीहरु अहिले विश्वको विभिन्न देशहरुमा कानूनी वा गैरकानूनी रुपमा पच्चीस लाखभन्दा बढी भइसकेका छन् । तीमध्ये ठूलो संख्याका नेपालीहरु रोजगारीको शिलशिलामा विदेशी जीवनको निश्चित वा अनिश्चित समय बिताइरहेका छन् । वास्तवमा खासगरी पिरलो अवस्थामा तर्कनाहरुले अक्षरहरुको माध्यमबाट आफ्नो वृतान्त बताउँदछन् र त्यसरी नै साहित्यले सिर्जनशील अवस्थामा प्रवृष्टि प्राप्त गर्दछ । त्यसरी छरिएर रहेका नेपालीहरुका सिर्जनशीलतालाई एकमुस्ट बनाई नेपाली साहित्यमा एक प्रकारको टेको दिने प्रयत्नमा लाग्नेहरुको समूह नै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज हो । बितेका अवसरमा वा हालपर्यन्त यही परिस्थितिमा पनि विभिन्न देशमा विभिन्न अवस्थामा विविध नामधारी नेपाली साहित्य समाजको उदय भइरहेका छन् र त्यो बढ्ने क्रममा नै छ । त्यसलाई सर्सर्ती यसरी हेर्न सकिन्छ कि अनेसासको प्रभाव लगभग शून्य अवस्थामा छ, या उक्त प्रभाव अत्यन्तै निरीह छ । कतिपय विदेशमा बस्ने उक्त नेपाली साहित्यकारहरु राम्ररी नेपाली भाषा लेख्न पनि जान्दैनन् भने ती र त्यस्ता साहित्यिक मानसिकताबाट कसरी समुलतः मूल नेपाली साहित्यलाई देन प्राप्त होला ? नेपाली साहित्य यदि एक दह भए अनि रचना यदि माछा भए निश्चय नै एक खराब माछाले सारा दहलाई नै प्रदूषित बनाउँदछ । कुरालाई जसरी पनि बुझ्न सकिन्छ । नहुनुभन्दा कानो मामा निको भनेझैं शून्य साहित्यिक चहलपहलभन्दा त्यस्तै सिर्जनशीलता पनि उत्तम हो ।

यसपालि लण्डनमा दोस्रो अन्तर्राष्ट्रिय नेपाली साहित्यको सम्मेलन यहाँको स्थानीय नेपाली परिवेशमा खासै चासो देखाउन सक्षम भएन । त्यसको लागि वास्तवमा भन्ने स्थानीय नेपाली समाजमा स्थापित भइसकेका अन्य नेपाली साहित्य समाज र नेपाली भाषालाई माया गर्ने तथा आफ्नोतर्फबाट नेपाली साहित्यको सिर्जना गर्ने नेपालीहरुलाई समेट्नेप्रति विशेष ध्यान लान नसकेको भान भएको छ । कार्यक्रमको शुरु हुनुभन्दाअगाडि यही कार्यक्रमको लागि भनी नेपाललगायत विभिन्न मुलुकहरुबाट निमन्त्रित व्यक्तित्वहरुको नामहरुको प्रचारप्रसार फेसबुकमार्फत गरियो । सिक्किमका मुख्यमन्त्री पवन चामलिङलाई विशेष गरेर निमन्त्रणा गरिएको सो कार्यक्रमको औचित्य अनि आसय बुझ्न सम्वद्धहरुलाई अप्ठयारो परेको हालै थाहा लागेको छ । सिक्किमे मुख्य मन्त्री आखिरमा अनुपस्थित रहेको उक्त अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा प्रा. गोविन्दराज भट्टराई, प्रा. सुष्मा आचार्य, प्रदीप नेपाल, शर्मिला खड्का, यज्ञ ढकाल, कर्ण थापा, अस्मिता भण्डारी, डम्बर गिरी, कमला ओली, अनेसासका केन्द्रीय उपाध्यक्ष कृष्ण बजगाई (जो अहिले लण्डनमै बसोबास गर्दछन्), हरिहर अर्याल (फ्रान्स), अनेसासाका संस्थापक अध्यक्ष होमनाथ अधिकारी(अमेरिका)का साथमा अनेसासका स्थानीय च्याप्टरका कार्यसमितिका सदस्यहरु जम्मा भएर अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन यहाँ सम्पन्न भएको छ । नेपालबाट निम्त्याइएका अतिथिहरुले अहिलेसम्म नेपाली साहित्यमा अनि त्यही अनुपातमा अन्तर्राष्ट्रिय नेपाली साहित्यमा प्रा. गोविन्दराज भट्टराईलाई छाडेर कसैको पनि उल्लेखनीय प्रभाव छैन । सो व्यक्तिहरुका निमन्त्रणा साहित्यिक संस्थाको पूर्ण साहित्यिक निमन्त्रणा नभई व्यक्तिविशेषको व्यक्तिगत प्रभावको निमन्त्रण भएको स्पष्ट लाग्दछ । प्रा. गोविन्दराज भट्टराईको प्रभाव खासगरी नेपाली साहित्यमा प्रवासबाट लेख्ने अनि लेख्न खोज्ने जनजाति मूलका व्यक्तिहरुबीच केही ज्यादा चलेको छ । विगतमा गोविन्दराज भट्टराईबाट, प्रवासमा लेखिएका, त्यस्ता व्यक्तिहरुका अत्यन्तै नित्कृष्ठ सिर्जनहरुउपर व्यापक रुपमा नेपाली मिडियाहरुमा अनि भेलाहरुमा लेख्ने र बोल्ने क्रम धेरै नै गरेका थिए, त्यसैको फलस्वरुप उनलाई त्यसरी प्रवासमा बोलाइएका छन् र नुनको सोझो गरेजसरी उनीबाट त्यो भेला अनि समारोह अनि व्यक्तिहरुका बारेमा नेपालमा विस्तृति लगाउने काम अन्त्यमा भएका हुन्छन् । नेपाली मूलधारका बेलायती साहित्यकारहरुको एक लश्करहरुले खासै ध्यान नदिएका लाग्ने यस अनेसास यूकेले आयोजना गरेको अन्तर्राष्ट्रिय नेपाली साहित्यको सम्मेलनमा भएका बेमेलहरुप्रतिको स्पष्टिकरण दिन सम्वन्धितहरुलाई बाहिरबाट सुझाइएका छैनन् ।

अन्तर्राट्रिय नेपाली साहित्यको सो सम्मेलनमा लगभग साठी जनाहरु जम्मा भएका थिए, जसमा बेलायती नेपाली साहित्यकारहरुको उपस्थिति अत्यन्तै न्यून थियो । यो अनेसासको प्रभावहीनताको स्पष्ट उदाहरण हो । बेलायती प्रतिभा प्रतिष्ठानका अध्यक्ष रक्ष राईलाई नेपाली साहित्यसम्वन्धी लेखिएको मन्तव्यहरुलाई सुनाउने मौका पूर्ण रुपमा दिइएको थिएन, त्यो नेपाली साहित्यको सम्मेलनमा अपच्य रहेको लाग्दथ्यो । अध्यक्ष राई स्पष्ट रुपमा नै असन्तुष्ट देखिएका थिए ।

अहिले कार्यक्रमको उपरान्तमा जसरी अनेसास यूकेले घोषणा पत्रको सार्वजनिक जारी गरेको छ, त्यसमा कतिपय बुँदाहरु राजनीति बुँदाजस्ता लाग्ने खालका छन् । ‘डायस्पोरा’ धेरैपहिलेदेखि नै नेपाली साहित्यमा आगन्तुक शब्दको रुपमा विद्यमान भइसकेको छ । विदेशी शब्दहरुलाई नेपाली भाषाको शब्दभण्डारमा आगन्तुक शब्दको क्याटागोरीमा कुनै एक संघ-संस्थाले राखेर प्रवृष्टि दिलाउने होइन, त्यसलाई आम रुपमा नेपाली भाषामा गर्दै गरिएको प्रयोगले दिलाउँदछ । त्यसरी प्रयोग गर्नको लागि साहित्यकारहरुलगायत लेखकहरुले आफ्नो कीर्तिहरुमा, लेखहरुमा अनि कविताहरु आदिमा प्रयोग गर्न थालिनुपर्दछ ।

नेपाली भाषाको अध्ययन वा अध्यापन गर्नको लागि स्थानीय निकायहरुसँग सम्वन्ध बढाउने वा त्यसरी नेपाली भाषालाई पाठ्यक्रममा घुसाउनका लागि यहाँ अर्कै संस्था धेरैपहिलेदेखि नै कार्यरत छ तर अधिकांश नेपाली अभिभावहरुले आफ्नै घरमा आफ्ना बालबालिकाहरुलाई नेपाली भाषा पढ्न, लेख्न अनि बोल्नका लागि गर्नुपर्ने प्रयास धेरै नै अगाडि छोडिसकेको स्पष्ट भान हुन्छ । त्यसको लागि ज्यादा दौडधुप नगरी कुनै पनि क्षेत्रमा बस्ने, मात्र केही घरका नेपाली परिवारहरुलाई भेटे, वास्तविकता स्पष्ट हुन्छ, कतिपयले आफ्ना बालबच्चाहरुसँग पो उल्टै अँग्रेजी सिकिरहेका हुन्छन् यहाँ ।

अनेसासले वास्तवमै गर्न सक्ने अनि मुख्य रुपले गर्नु पर्नेचाहिँ अनुवादकको व्यवस्था नै हो । नेपाली भाषालाई वा नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्नका लागि अन्तर्राष्ट्रिय भाषाको जरुरत पर्दछ । नेपाली भाषामा लेखिएका उत्कृष्ट रचनाहरुलाई अनि स्थानीय समाजमा रहेर नेपाली भाषामा लेख्ने नेपाली साहित्यकारहरुका उत्कृष्ट रचनाहरुलाई अंग्रेजी भाषामा वा स्थानीय भाषमा रुपान्तर गरेर स्थानीय मूलधारका मिडियाहरुबाट तिनलाई सार्वजनिक गर्ने चाँजो अनेसास यूकेले मिलाउन सके यो संस्थालाई वा यस्ता पर्यायका संस्थाहरुलाई आफ्नो क्षेत्रलगायत अन्यत्र प्रसिद्धी पाउन केही गाह्रो पर्दैन । संस्थाका व्यक्तिहरु सो कार्यको लागि निजी नभई साझा मनलाई सो कार्यमा लगाउन जरुरी छ ।

नेपाली साहित्यलगायत संस्कृतिलाई पनि समय र परिस्थितिअनुरुप नेपाली राजनीतिले अत्यन्तै प्रभाव पारेको हुन्छ । कुनै पनि पक्ष चीरस्थायी हुँदैन, त्यसमा समयसापेक्ष प्रभाव परेको हुन्छ । नेपाली साहित्यमा भाषाको जति महत्व हुन्छ, त्यति नै भाषामा व्याकरणहरुको महत्व हुन्छ । बोलेको जसरी लेखिनु नै साहित्य होइन । साहित्यमा विविधखाले प्रयोगहरु गरिएका हुन्छन् र त्यसरी गरिने प्रयोगले साहित्यको कोषमा वृद्धि हुँदै जान्छ । नेपाली भाषाको आधार परिवर्तनकारी हुनुहुँदैन । त्यसको निर्धारण गर्ने सक्षमता विविध नामधारी साहित्यिक संस्थाहरुमा पनि हुनु जरुरी छ । यो बारेमा खासगरी भर्खरै सम्पन्न भएको अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा कुरा उठाइनुपर्दथ्यो, त्यो भएको लाग्दैन । यस सम्मेलनका लागि भनेर झिकाइएका साहित्यकारहरुलाई यूकेलगायत आसपासका देशहरु घुम्ने अत्यन्तै रहर लागेको भन्ने सम्वद्ध व्यक्तिबाट खुल्न आएको छ । सम्वद्धहरुबाट यस विषयमा हाँसो उडाइने गरिएको छ ।

साहित्यप्रति समर्पित व्यक्तिहरु तथा संस्थाहरुबाट निम्नरुपमा साँघुरो मानसकिता राखिनु हुँदैन भन्ने यस लेखको अन्त्यमा हरफ थपिएको छ ।

-वूडग्रीन, लण्डनबाट