राजदूत चालिसेद्वारा लण्डनमा राष्ट्रको बखान

राजदूत चालिसेद्वारा लण्डनमा राष्ट्रको बखान


लण्डन । गत १२ गते शनिबार सरिको रिचमण्डस्थित एथलेट ग्राउण्डमा ‘नेपाली मेला-२०१०’ भव्य रूपमा सम्पन्न भएको छ । मेलामा बेलायतका लागि नेपाली राजदूत सुरेशचन्द्र चालिसे प्रमुख अतिथि हुनुहुन्थ्यो भने लण्डनका डेपुटी मेयर रिचार्ड बार्न, रिचमण्डका मेयर डेभिड मार्लोलगायत अन्य नेपाली सङ्घसंस्थाका अध्यक्षहरू अतिथि रहेका थिए । आयोजक संस्था तमु धिं युकेका अध्यक्ष सुवाससिंह गुरुङको सभापतित्व र चित्रबहादुर गुरुङको संयोजकत्वमा आयोजित मेलामा विशेष आकर्षणको रूपमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गरिएका संसारको सबैभन्दा होचा व्यक्ति खगेन्द्र थापामगरको उपस्थिति पनि एक थियो ।
संस्थाका महासचिवबाट स्वागत मन्तव्यपछि दियो प्रज्वलन गरी सुरु गरिएको मेलामा विभिन्न सङ्घसंस्थाहरूले आ-आफ्नो सांस्कृतिकतालाई झल्काउने प्रकारका विविध रूपमा झाँकीहरूको प्रदर्शन गरेका थिए । तमू धिं प्लम्स्टेड इकाइ, पुन समाज यूके, तमू धिं रिडिङ इकाइ, सुनुवार समाज यूके, मगर समाज यूके, एन.जे. तेक्वान्दो, तमू प्ये ल्हू सङ्घ यूके, लामा एसोसिएसन यूके, नेपाली नर्सिङ एसोसिएसन यूके, गेइसो, कोडेक यूके, राष्ट्र राई तेक्वान्दो, बीजीडब्ल्यूएस, ठाँटी नेपाली कम्युनिटी यूके, रुम्जाटार गुरुङ समाज यूके, ग्रीन ह्याकेल ब्यान्ड यूके, कोसेली ग्रुप यूके, तमू धिं लण्डन ब्रान्च, तामाङ समाज यूके र किरात याक्थुम चुम्लुङ यूकेले आफ्ना संस्थाको ब्यानरका साथ पारम्परिक तथा संस्थाको कोडअनुसारको भेषभूषाहरूका साथ झाँकीहरूको प्रदर्शनीपछि नेपाल, यूके अनि तमू धिं यूकेको फ्ल्याग राइज क्रमशः नेपाली राजदूत, लण्डन डेपुटी मेयर र तमू धिं यूके अध्यक्षबाट गरिएको थियो ।
बनेको छ पहराले यो छाती मेरो… बोलको गीतका केही हरफहरू गाएर कार्यक्रमका सभापति गुरुङले आफ्नो मन्तव्य सुरु गरेका थिए । गत वर्षबाट सुरु गरिएको यस नेपाली मेलाले विस्तारै प्रसिद्धि लिँदै गएकोमा उनले सन्तुष्टि व्यक्त गरे । लण्डनका डेपुडी मेयर रिचार्ड बार्नले नेपालबारे यति विस्तृत र गहन अनि आत्मीय रूपमा सोही कार्यक्रमबाट आफूले जानकारी पाएको भन्दै नेपाली विविध प्रकारका संस्कृतिहरू गहनाको रूपमा यूकेले पाएकोमा आफूलाई खुसी लागेको बताए । रिचमण्डका मेयर डेभिड मार्लोले नेपालीका सांस्कृतिकताको प्रदर्शनी गरिने थलोको रूपमा रिचण्ड परेकोमा आफू गरि्वत भएको बताएका थिए ।
बेलायतका लागि नेपाली राजदूत सुरेशचन्द्र चालिसेद्वारा तमू धिं यूकेलाई बेलायतमा नेपाली संस्कृतिको सफल तथा भावपूर्ण प्रदर्शनी र प्रवर्द्धन गर्न सफल भएकोमा तारिफ गर्दै एम्बेसेडर कप सो संस्थाका अध्यक्ष सुवाससिंह गुरुङलाई प्रदान गरिएको थियो । बेलायत र नेपाली आप्रवासी समाजबीच विशेष प्रकारको सम्बन्ध रहेको धारणा मन्तव्यको क्रममा राजदूत चालिसेले राखेका थिए । राजदूत चालिसेले नेपालको ऐतिहासिकता, परम्परा तथा विविध महत्त्वपूर्ण पक्षहरूका बारेमा विस्तृतमा प्रकाश पारेका थिए । गौतम बुद्धको जन्म भएको देश, विश्वका दर्जनौं अग्ला हिमशिखरहरूसहित सबैभन्दा उच्च शिखर सगरमाथा भएको देश, पारम्परिक संस्कृतिहरूले धनी रहेको देश, बेलायतसँग अत्यन्तै सुमधुर तथा ऐतिहासिक सम्बन्ध दिलाउने प्रथा गुर्खा पक्षअन्तर्गत १२ वटा भीसीविजेता गुर्खाहरू भएको देश नेपाल रहेको भन्दै मन्तव्यलाई राष्ट्रियस्वरूपको बनाएका थिए राजदूत चालिसेले ।
त्यसपश्चात्, कार्यक्रमको मुख्य स्टेजमा माथि उल्लिखित विभिन्न संस्थाहरूले आ-आफ्नो संस्थाले प्रतिनिधित्व गर्ने नृत्य तथा संस्कृतिहरूको प्रदर्शनी गरेका थिए भने लगत्तै नेपाली पारम्परिक भेषभूषाहरूको प्रदर्शनी गरिएको थियो । कार्यक्रमस्थलको अर्कोतर्फ युवाहरूबाट कन्सर्ट सुरु गरिएको थियो । विभिन्न ट्रयाकमा विविध गीतहरू गाइएको सो कन्सर्टमा हिन्दी तथा नेपाली गीतहरूमा गरिएको नृत्यको प्रस्तुति पनि रहेको थियो । नेपाली मेलाको नाममा हिन्दी गीतमा केही उच्छृङ्खलपूर्ण हाउभाउका साथ गरिएका नृत्यदेखि दिक्क हुने दर्शकहरूले चाहिँ यस्तो प्रकारका प्रदर्शनीलाई रोक लगाइनुपर्ने धारणा व्यक्त गरेका थिए ।
नेपाली विविध जातीय संस्थाहरूको उपस्थिति कार्यक्रममा लगभग शून्य थियो । विभिन्न स्टलहरूमा नेपाली जातीय परिकारहरूको प्रदर्शनी यथेष्ठ प्रकारले नराखिएको भए पनि नेपाली चिया, ओशो दर्शन, गुर्खा स्टललगायत अन्य व्यापारिक संस्थाहरूका स्टलहरूको बाक्लो उपस्थिति रहेको थियो । मेलाको औपचारिक कार्यक्रमको सञ्चालन पुष्पा गुरुङ, खगेन्द्र नेपाली र योगेश गुरुङले संयुक्त रूपमा गरेका थिए ।
– प्रकाश के.सी. लण्डनबाट