रेखा–निखिलको नखरा !

रेखा–निखिलको नखरा !


फिल्मी दुनियाँ भनेको कृत्रिमतामा बाँच्नेहरूको संसार हो, यहाँ यथार्थको महत्व रहँदैन बरु नखरा र ढोँग गर्नेहरूको बिगबिगी चल्छ भनी एक पुराना वलिउड निर्देशकले बयान दिँदा उनको वक्तव्यबाजीमाथि त्यतिबेला निकै टीकाटिप्पणी र आलोचना भएको थियो । झन्डै तीन दशकअघि ती वलिउडकर्मीले भनेको कुरा वास्तवमा यथार्थ थियो भन्न करै लाग्छ । किनकि, सिनेक्षेत्रका नर–नारीहरू कतिबेला कुन खालको व्यवहार प्रकट गर्छन्, ती स्वयमलाई पनि पत्तो हुँदैन ।

यसैको ताजा उदाहरण बनेका छन् आफूलाई एक नम्बर नायिका दाबी गर्ने रेखा थापा र दर्शक रिझाउने काम गरेरै प्रशंसा कमाएका निखिल उप्रेती । सन्दर्भ गत साताको हो । नायक निखिलले आफ्नै ब्यानरमा निर्माण गरेको फिल्म ‘रुद्र’को गत बुधबार गोंगबुस्थित बिजी मलमा प्रिमियर शो गरिएको थियो । पारिवारिक तनाव बढेर बीचका केही वर्ष पलायनजस्तै बने पनि फेरि नायक निखिलको दबदबा नेपाली फिल्मी उद्योगमा बढ्न थालेको छ । यस्ता ‘सुपरस्टार’ले निर्माण एवम् धार बदलेर ‘खलनायकी’ भूमिकामा अभिनयसमेत गरेका फिल्मको प्रिमियरमा सिनेहस्तीहरूको बाक्लै उपस्थिति त रहने नै भयो । तर, त्यही भीडमा एउटा नसोचेको दृश्य पनि देखियो । बितेको ५–६ वर्षदेखि बोलचाल बन्द गरेर बसेका निखिल र रेखा अङ्कमाल गरी मस्तका साथ तस्बिर खिचाउन व्यस्त थिए । कुनै–कुनै पोजमा त निखिलकी पत्नी सञ्चिताले समेत उनीहरूलाई साथ दिइरहेकी थिइन् । रेखा निकै नखरा पार्दै निखिललाई ‘दाइ… मेरा सुपरस्टार दाइ’ भनी सम्बोधन गर्दै थिइन् । बीचबीचमा उनीहरू दुईबीच अट्टहास पनि चल्दथ्यो ।

को लोकप्रिय, कसको स्टारडम ज्यादा भन्ने सवालमा अस्वस्थ प्रतिस्पर्धा, इगो र घमण्डका कारण बोलचाल नै बन्द गरेर वर्षौं गुजारेका रेखा र निखिललाई एकै अँगालोमा देखेपछि सिने–समाचारकर्मीहरूलाई के चाहियो । सबैको नजर त्यतै पर्ने भइहाल्यो । बोलचालै बन्द गरेका तपाईंहरूबीच फेरि कसरी–कहिलेदेखि यस्तो सत्प्रेम सुरु भयो ? भन्ने सञ्चारकर्मीको जिज्ञासाको जवाफमा रेखा भन्थिन्, ‘हामीबीच कहिले पो झगडा भएको थियो र ? पत्रकारहरूले त्यत्तिकै झगडा परेको, बोलचाल बन्द भएको भनी जथाभावी लेखिदिएका मात्रै हुन् । हामीबीच त्यस्तो केही छँदै छैन ।’ रेखाको नखराबाट मख्ख परेका निखिल पनि ‘हो मा हो’ मिलाउँथे । उनले रेखालाई पनि उछिन्ने गरी थपे, ‘म रुद्र, रेखा रुद्रप्रिया, कुरा बुझ्नुभयो ?’ उनको सङ्केत आफ्नो फिल्म रुद्रलगत्तै प्रदर्शनमा आउन लागेको रेखाले निर्माण गरेको चलचित्र ‘रुद्रप्रिया’तिर थियो । कुरैकुरामा दुवैले आफूहरू कुनै पनि बेला पुनः एकै सिनेमामा देखिन सक्ने उद्घोषसमेत गरे । यस्ता अभिव्यक्तिका साथ पोज–पोजमा तस्बिर खिचाएर उपस्थित सबैलाई भरपुर मनोरञ्जन दिए रेखा र निखिलले ।

अब फेरि एकपटक प्रश्न उठाऔँ– यसलाई फिल्मी संसारको विशेषता ठान्ने कि रेखा–निखिलको नखरा मात्र भनी बुझ्ने ?