फरक स्वाद बोकेर आयो ‘सौराई लागी राइसुवाकी’

फरक स्वाद बोकेर आयो ‘सौराई लागी राइसुवाकी’


कवि, लोकगीतकार तथा न्याउला गायक लालबहादुर खत्री दाहालद्वारा रचित ‘सौराई लागी राइसुवाकी’ नामक न्याउला काव्य–कृति प्रकाशनमा आएको छ । कर्णाली प्रदेशको लोकभाकामा आधारित ‘सौराई लागी राइसुवाकी’ कर्णाली क्षेत्रको भाषामा लेखिएका अत्यन्त सरसपूर्ण कविता (गीत) समेटिएको कृति हो । विपना खण्ड, भावना खण्ड, सपना खण्ड र विवेक खण्ड भनेर चारवटा खण्डमा कवि लालबहादुरका १ सय ७० वटा उत्कृष्ट सिर्जना यस कृतिमा समेटिएका छन् ।

खुट्टो टेक्न्या जग्गा छैन, घडेरी काँ खारु
गोठौन हल गोरु छैन कैका बल्ल नारु ।
क्याकीलाई छाउपडी बस्नु क्याकीलाई छुइ बारु
स्वर्गका बँगैचाभित्र आत्माका फूल झारु ।

०००

मार्सी धान फलाउने ठाउँनो कोदो बोयाका छन्
फापर कोदो खान नपाई गरिब रोयाका छन्

०००

ब्याँसाझैं कन्याउनै पस्न्याँ नेपाली मनभित्र
फिरङ्गी संस्कृति छाड्न्याँ भत्काई जीवन चित्र ।

०००

कर्कलाको पानीजस्तो जिन्दगीलाई पाउँछन्
जीवनको अर्थ खोज्न ठौर ठौर धाउँछन् ।
विश्वास मान्दा संसारको सधैं धोका खान्छन्
पदपैसा, मानसम्मान पाउन सेवा अर्न जान्छन् ।

०००

भिखारीको भीख हाल्न्याँ झोला जस्तो जीवन
हिमचुलीको सेतो हिउँ होला जस्तो जीवन ।

०००

माया अर्या पापी भन्न्याँ नअर्या घमण्डी
नभयै हजारी फूल देवी उग्रचण्डी ।

उपरोक्त काव्य–पङ्क्तिहरू ‘सौराई लागी राइसुवाकी’भित्रका प्रतिनिधिमूलक सिर्जना हुन्, जसले साहित्यप्रेमी पाठकलाई मन्त्रमुग्ध तुल्याउँछ । ३ सय १२ पृष्ठमा फैलिएको यस महत्वपूर्ण कृतिलाई मध्यपश्चिमाञ्चल साहित्य परिषद् (काठमाडौं)ले प्रकाशित गरेको हो । लोक भाका, लोक विश्वास, लोक व्यवहारका आधारमा आफ्ना अनुभूतिलाई प्रतिष्ठित तुल्याउने र तिनलाई मुद्रित रूपमा सुरक्षित राख्ने अभीष्टका साथ प्रकाशनमा आएको लालबहादुर खत्री दाहालको यस कृतिले नेपाली साहित्याकाशमा अहम् स्थान राख्ने विश्वास गर्न सकिन्छ । जम्मा तीन सय रूपैयाँ मूल्य रहेको ‘सौराई लागी राइसुवाकी’ एउटा सङ्ग्रहणीय कृति हो भन्नेमा कुनै सन्देह राखिरहन पर्दैन ।