कृषिमा मन्त्री किन चाहियो ?-वसन्तराज कुँवर

कृषिमा मन्त्री किन चाहियो ?-वसन्तराज कुँवर


इजरायलमा जोर्डन भन्ने एउटा नदीमा ठूलो ताल बनेको रहेछ । विभिन्न मुलुकका साथीहरूसहित पङ्क्तिकारलाई त्यो तालमा सानो पानीजहाजद्वारा सयर गराइयो । मरुभूमिको त्यो मुलुकमा त्यो तालले ‘जीवन’को काम गर्दोरहेछ । तालनजिक रहेको बस्तीमा पनि हामी घुम्यौँ । सुक्खा मरुभूमिको त्यो देशले फलफूल र तरकारी युरोपमा बेच्न पठाउँछ र संसारभर आधुनिक कृषि प्रणालीबारे प्रशिक्षण दिन्छ भन्ने सुन्दा पहिला त मलाई विश्वासै लागेन । जता हेर्‍यो केवल बालुवाका जस्ता सुक्खा ढिस्का । ठूला रूख छैनन्, जति छन् मान्छेले रोपेका मात्र छन् । त्यस्तो देशमा के कृषि होला – यही सोच थियो मेरो दिमागमा ।
जोर्डन नदीकिनारमा एउटा सानो बस्ती र एउटा सहर रहेछ । हामी फोटो खिच्न थाल्यौँ । मेरो दृष्टि नजिकै रहेको एक गाईगोठमा पर्‍यो । त्यहाँ काला-सेता रंगका -माले) गाई थिए । त्यहाँ करिब ६० गाई थिए र जम्मै गाई दूध दिने रहेछन् । ती गाईलाई मैले नजिकैबाट हेरेँ । मलाई ती गाई हेरेर अचम्म लाग्यो । हरेक गाई आफ्ना कल्चौँडा बोक्न पनि नसक्ने स्थितिमा थिए । गाईको शरीरको पछिल्लो भाग ठूला-ठूला कल्चौँडाका कारण झोल्लिएझैं देखिन्थे । यस्तो लाग्थ्यो कि गाईका थुनहरू भुइँमा छुनेवाला छन् । त्यहाँ रहेका करिब ६० गाई सबै एकैनासका थिए । एउटै गाईले दैनिक अन्दाजी ४८ देखि ५० लिटरसम्म दूध दिन्छन् भन्ने सुन्दा म दङ्ग परेँ । निकैबेर मैले ती हरेक गाईलाई नियालेँ । ती गाई हेर्दाहेर्दै मलाई मेरो बाल्यकाल याद आयो ।
मेरो जन्म गोंगबु -बसपार्कभन्दा करिब दुई किलोमिटर उत्तरमा रहेको गाउँ) मा भएको थियो । घरमा प्रसस्त गाई हुने गर्थे । ती गाईलाई चराउन, घाँस खुवाउन पूरै परिवारका सदस्य कुनै न कुनै रूपमा संलग्न हुन्थे । मलाई पनि स्कुल बिदाको दिन गाई चराउन जान मन लाग्थ्यो र बोरा ओच्छ्याएर त्यसमाथि बसी साथीभाइसँग कुरा गर्न रमाइलो लाग्थ्यो । पालैपालो एउटा साथीलाई गाई हेर्न लगाई नजिकैको खोलामा पौडी खेल्न पनि भ्याउने गथ्र्यौं हामी । ती गाईलाई कहिलेकाहीँ पानी खुवाउने जिम्मा मलाई पथ्र्यो । दुहुने, पकाएको खोले बोकेर गाईलाई दिने, भकारो सोर्ने, घाँस काट्ने कामचाहिँ हामी साना भएकाले गर्नुपर्दैनथ्यो । त्यसबेला गाउँभरिका गाईमध्ये हाम्रो घरमा पनि राम्रै गाई हुन्थे तर तिनले एक छाकमा बढीमा तीन मानाभन्दा बढी दूध दिँदैनथे । धेरैजस्तो गाईले दैनिक दुईदेखि तीन माना -करिब दुई लिटर) सम्म मात्र दूध दिन्थे तर तिनलाई पाल्न भने पूरै परिवारले समय र श्रम खर्चनुपथ्र्यो । मलाई त्यसबेला दिनमा तीन माना दूध दिने आफ्ना गाईले प्रसस्त सन्तुष्टि दिएको थियो तर आज जब इजरायलमा जोर्डन नदीको किनारमा रहेको ती गाईलाई देखेँ त्यसपछि मलाई आफ्नो पूरै परिवारप्रति दया लाग्यो । बिचरा मेरा बाजे बिहानदेखि त्यस गाईको सेवामा लाग्नुहुन्थ्यो, बिचरी मेरी मूमा ती गाईलाई घाँस जुटाउन सधैं व्यस्त रहिरहनुहुन्थ्यो, बिचरा ठूलेलाई भ्याइनभ्याई गर्दै भकारो सोर्नुपथ्र्यो, बिचरा म र काका ती गाईलाई चराउन दिनभर व्यस्त रहनुपथ्र्यो र बदलामा ती गाईले वर्षमा केही महिना दिनको दुई-तीन माना मात्र दूध दिन्थे । आज पनि दूधको मूल्य ३० रुपैयाँ माना छ भने दैनिक केवल ६० रुपैयाँबराबरको उत्पादनका लागि हाम्रो परिवार पूरै लागेका थियौँ । तर, इजरायलको त्यो गोठमा दैनिक ६० मानासम्म दूध दिने एउटै गाई थियो । पूरै ६० गाई हेर्ने त्यहाँ केवल दुईजना मात्र व्यक्ति देखिन्थे । त्यसबखत मैले महसुस गरेँ कि हाम्रो मुलुकको श्रमशक्ति कृषिमा कति अनुत्पादक ढङ्गले खर्च भइरहेको छ ।
गाईगोठको अलि छेउमा प्लास्टिकका घर -ग्रिनहाउस) भित्र खेती गरिएको रहेछ । त्यो मरुभूमिमा प्लास्टिकका घरभित्र पहाड तथा हिमालमा फल्ने फलफूल र तरकारी फलाउन चिसो बनाउने व्यवस्था पनि गरिएको रहेछ । तरकारीबारीमा डिल-डिलमा पङ्खा र कुलर जडान गरी चिसो बनाउने व्यवस्था मिलाइएको रहेछ । त्यो मरुभूमिमा पनि खेती लगाइएको ठाउँमा पानीको कतै कमी देखिँदैनथ्यो ।
काठमाडौं फर्केपछि मैले आफ्नो देशको समथर भूमि, बडाबडा खोलानाला, कृषियोग्य जमिनहरूलाई खुबै अर्थपूर्ण ढङ्गले हेरेँ । मैले सुनेको थिएँ कुनै समय नेपालका सैनिकलाई प्यारासुटबाट झर्न सिकाउन इजरायलबाट आएका प्रशिक्षकले नेपाललाई आकाशबाट हेरेपछि भनेका थिए रे- यो देश हाम्रो भएको भए संसारकै विकसित मुलुक बनाउँथ्यौँ । सायद उनले यहाँका खोलानाला, समथर भूमि, हिमाल र अपार साधन स्रोत देखेर त्यसो भनेका थिए होला । अहिले इजरायल हेरेर फर्केपछि मलाई विश्वास भयो उनले त्यो कुरा ठीकै भनेका रहेछन् । हामीलाई प्रकृतिले त सम्पन्न हुन सबै कुरा दिएकै रहेछ तर नेता र शासकहरूले हामीबाट ती कुराहरू छिनेका रहेछन् ।
हालै म मेची अञ्चलदेखि कोसी, सगरमाथा, जनकपुर र नारायणी अञ्चलसम्म लागूऔषधविरुद्ध प्रशिक्षण दिन गएको थिएँ । त्यसबखत मैले नेपालको कृषिलाई खुब नियालेर हेरेँ । सप्तरी-सिराहाका पूरैजसो खेत अझै पानी नपरेको भन्दै बाँझै थिए । ती जिल्लाको नजिकै कोसी बग्छ तर पनि त्यहाँको खेत बाँझै देखिए । झुन्ड-झुन्ड गाई लिएर सयौँ-हजारौँ नेपाली गोठाला भएर पछि लागेका देखिन्थे तर ती हुलमा दूध दिने गाईहरू विरलै देखिन्थे । दिनेहरू पनि ज्यादै थोरै मात्र दूध दिने खालका थिए । समग्र कृषि प्रणाली देखेपछि मलाई लाग्यो- यो मुलुकमा किन कृषि मन्त्रालय राख्ने – सबैले आ-आफ्ना ढङ्गले गरेका उत्पादन जोडेर तथ्याङ्क दिन मात्र त किन मन्त्री र मन्त्रालय चाहियो र –
यो कुरामा विश्वास गरे हुन्छ कि नेपालमा कृषिको कुनै योजना नै भएको रहेनछ । नत्र तर्राईमा अझै हजारौँ सङ्ख्याका थारो गाई चराएर हिँडेको देखेपछि कृषिमन्त्री र सचिवहरूलाई टाउको दुख्नुपर्थेन त – बाँझा खेत देखेपछि तिनको चित्त दुख्नुपर्थेन त – अझै पनि ६० प्रतिशत खाद्य सामग्री भारतबाट आयात गर्नुपर्ने अवस्था भएपछि तिनले राजीनामा दिनुपर्थेन त – यदि कृषि मन्त्रालय चाहिने नै भए त्यस मन्त्रालयले कृषि उत्पादन अकल्पनीय रूपमा बर्ढाई आफ्नो औचित्य प्रमाणित गरोस् । इजरायलका गाई देखेपछि मलाई लाग्यो- त्यस्तै गाई तर्राईमा बाँड्न पाए त्यहाँको जीवनमा कति परिवर्तन आउँथ्यो होला । कता-कता मलाई लागिरहेछ नेपालको कृषि मन्त्रालयले नेपालीलाई ढुङ्गेयुगबाट आधुनिक युगमा ल्याउनै खोजेको छैन । व्यक्तिको प्रयासले कुनै ठाउँमा कृषिमा केही आधुनिकीकरण देखिएको छ तर कृषि मन्त्रालयको सोच र प्रयासको कारण नाङ्गा आँखाले देखिनेगरी कृषिमा परिवर्तन भएको कहीँ देखिएको छैन । केवल मल, बिउ र सामग्रीहरूमा कमिशन खुवाउन मात्र कृषिमन्त्री राख्ने गरिएको भए त्यस्ता मन्त्री नराखे पनि हुन्छ, होइन भने यो अपार कृषिको सम्भावना भएको देशले उन्नत कृषिका माध्यमबाट अकल्पनीय उत्पादन गरेर नेपाल र विदेशलाई देखाउन सक्नुपथ्र्यो । नेपालको कृषि योजना पहिले नक्सामा प्लटिङ हुनुपर्‍यो । कहाँ धान रोप्ने, कहाँ कपास – कहाँ केरा र कहाँ नासपाती – माटोको अध्ययन गरी निर्णय गर्नुपर्‍यो र सरकारका ती विषयका विशेषज्ञलाई लक्ष्यसहित त्यस काममा खटाउनुपर्‍यो । बजारको ग्यारेन्टी सरकारले लिनुपर्‍यो । अझै मेरो परिवार जस्तै कति परिवारका लाखौँ नेपाली थारा गाईको बयानलाई स्याहार्दै गरिबीको जीवन बिताइरहेका छन् । तिनलाई आधुनिक गाईहरू देखाउने र दिने काम कसको हो – अझै एउटा बोरिङ नभएको कारणले हजारौँ बिघा जमिन बाँझै छन् तिनलाई हरियो बनाउने जिम्मा कसको हो – यदि सबै जिम्मा केवल नेपाली जनताकै हो भने प्राडो-पजेरो चढाउँदै मलदेखि बिउसम्म कमिशन खुवाउनकै लागि कृषिमा मन्त्री किन चाहियो –