
– डिल्ली अम्माई
हिजो एक साथी भेटिए
केजात्ति चुनावको कुरो निकाल्दै
मुखबाट फिँज र बाछिटाको वर्षा गर्दै
रमाउँदै आफ्नो फैसला सुनाउन कस्सिए
झोले अभियान्ताले मुख खोले-
‘… के भन्नु र खै मित्र ?
ठुलो पदमा जाने इच्छा जाग्दै आयो,
मनभित्रै पाकिरहेको चाहनाको उचेरा गयो,
अब म के गरुँ साथी’, फ्यास्स मुख फाले ।
आशय बुझेँ र भनेँ-
‘धुलो टक्टक्याउन भए पनि
जाउ साथी जाउ
मिले जति नखाउ
अलिक अड्कलेर खाउ
सकिन्छ गरेर देखाउ
तर नाटक देखाएर पैसा न उठाउ ।’
सोचेँ- ‘कस्तो जमाना आयो
पहिले त कामले पदलाई खान्थ्यो,
अहिले पदले कामलाई खाँदै छ,
उहिले काम गर्नु पर्छ भन्थे,
यता दौड उता दौड भागदौडको बीच,
रित्तो हात र पसिना लिएर,
सुइय गर्दै घर आउँथे स्वजनहरु,
घरको कचकचको बीच,
निजी काम लथालिंग,
काममा बिकेको थियो नाम ।’
यता सोच्दासोच्दै
मन रित्तिदै थियो मेरो
बीचमै बड्बडाउन थाले उनी,
‘अचेल त मजा छ अरे पदमा,
घाम लागेको दिनझैँ छ अरे साथी !
सँगैका साथीले दुईवटा अध्यक्ष खायो !
सबैबाट स्याबासीको त कुरै छोडौँ,
मिडियाको ब्यानर न्युजमा उसको नाम आयो !
खादाको त कुरै छोडौँ
दोकान छ रे घरमा !!’
मैले भनेँ-
‘के काम त्यो खादाको,
अनि बिनाकाम सम्मानको ?’
उनीे थप्दैथे कुरो
‘त्यही खादा अर्कोलाई काम लाग्छ रे !
उनीभन्दा पछिकी बहिनीको त के कुरा गर्ने,
चारवटा त उपाध्यक्ष पारिसकिन् रे खल्तिमा !’
उनले आक्रोश पोखे,
‘एउटा अध्यक्ष पदमा साथीहरुले नसोचे,
बिद्रोह हुन्छ रे बिद्रोह !
आन्दोलनको आँधी चल्छ रे !
काम मुखले गर्ने जमानामा,
किन पछि हट्ने ?’
मलाइ पो जोशाउन थाले
मुड्की टेबलमा पछारे र कुर्ले,
‘कति अरुलाई मात्र गर्ने !
रहर जागेर आयो साथी !
झोली थापेकोछु पदको,
अब अध्यक्ष पाइयो भने खाइन्छ,
खादा लगाइन्छ, सभा सम्मेलन धाइन्छ,
टल्कने ब्याचसँगै
कोट र टाइको बीचमा खिप टल्काउँदै
टुरिष्ट नेताहरुलाई घरमै बोलाइन्छ,
आफुलाई लगाइदिएको खादा गोदामबाट
एउटा खादा झिकिन्छ र नेतालाई पुनः लगाइन्छ !
अध्यक्ष झ्याप्प दिएनछन् भने
सचिवमा पनि सजिलै छ रे काम गर्न,
त्यसमा ‘महा’ शब्द थपेर
हुन्न भनिदैन महासचिव भइन्छ !
अध्यक्षले भन्दा बोल्न धेरै पाइने,
साठी सत्तरीवटा संघ-संस्थालाई ,
बोलायो, उठायो, थचार्यो,
फेरि मुस्कुरायो ‘कुरो मिलायो,
डकार्नलाई ठाउँ भुसुक्कै पाइने !
जिब्रो पड्काएर काम कति हुने हुने !!
सुसेलेर थकाइ मार्न पाइने
अनि भवितब्यमा रम्भा नाच
र
राहतको पोको सिरानीले च्याप्दा
निद्रा पनि भुसुक्कै लाग्ने
पदमा रहिन्ज्याल
चौअन्नीको दुःख नपर्ने
हिसाबको कुरो
ह्वीस्कीको नशासँगै
रमझममा गरे पनि हुने
बुद्धि बिग्रेर दशकसम्म
पदको होश नै आएन
सकेजति त गर्ने हो भनियो,
अहिले मान्छे घेरै छन् लोलुप,
हरी ॐ तत्सत ! के गर्ने होला ?’
उनले हाले गजबको सुस्केरा
म त उनको गफैमा टोलिएँ
उनले चाहनाको बिलौना पोख्दै गए
‘ठुलो पदमा परिने हो कि नपरिने हो !
अनुरोध छ साथीहरुलाई,
महासचिवमा पछि बिचार गरौँला
सदस्यमा हुँदै हुन्न भन्द्याछु,
अध्यक्षमा नहुने कुरै छैन,
सल्लाह गरौँ, अझै दिन बाँकी छ
मनमनै लागिराछ साथी हो…
उनले थर्काउन थाले-
‘अध्यक्ष पाइयो भने
दाँयाबाँया हेरिन्न, चरिप्प पारिन्छ
त्यही पदमा दाबी गर्नेको
आवस्यक परे बंगारा झारिन्छ
मत नपुगे पुरानो लिस्टबाट
बरु आँफै शुल्क तिरेर
नयाँ नाम लिस्टहरु सरक्क सारिन्छ
सहमतिको जुवा हलहरुमा नारिन्छ
स्वतन्त्र स्वन्त्र भन्दै नारा लगाएर
परतन्त्रीको लिङ्गबाट
एकमुठी गहुँत मागेर
पौवालीहरुलाई सुनपानी हालिन्छ
यो पटक अध्यक्ष पाइयो भने चिरिप्प पारिन्छ
खादा लाइन्छ संस्थाहरुमा अतिथि हुन,
एकजोर सुट पक्कै सिलाइन्छ !!!
निहुँ खोजे जोरीपारीले
मुखबाट प्वाक्क बंगारा झारिन्छ ।
प्रतिक्रिया