जिसस मनाङ कांग्रेसको कब्जामा

जिसस मनाङ कांग्रेसको कब्जामा


जिल्ला समन्वय समिति (जिसस) मनाङमा नेपाली कांग्रेसको पुरै प्यानल निर्वाचित भएको छ । नेपाली कांग्रेसले प्रमुख, उपप्रमुख र सदस्यसहित पुरै प्यानल नै जितेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिससको प्रमुखमा चामे गाउँपालिका वडा नं. २ का यज्ञप्रसाद घले, उपप्रमुखमा नारफु गाउँपालिका वडा नं २ का कृष्णबहादुर लामा निर्बाचित भएका छन् । घले चामे–२ का वडा सदस्य हुन् ।

यस्तै, समन्वय समितिको सदस्यहरुमा पनि कांग्रेसकै बर्चस्व रहेको छ । जसमा चामे गाउँपालिका वडा नं ४ की सुकमाया विक, नेस्याङ– ४ की शुकमाया विक, नेस्याङ– ५ का कर्मछेन्देन गुरुङ, नासोङ–२ की धनकाशी गुरुङ र नासोङ–८ की शेषकुमारी घले निर्बाचित भएका छन् ।

एमालेले जिससको प्रमुृखमा चामे–२ का चिन घले र उपप्रमुखमा चामे–३ का प्रेमकुमार श्रेष्ठलाई चुनावी मैदानमा उतारेको थियो । यस्तै नोसाङ– १ की गोलमाया गुरुङ, चामे–५ की फूलमाया गुरुङ, नेस्याङ– १ का यमबहादुर घले र चामे–४ की चमेली परियारलाई समन्वय समितिको सदस्यका लागि चुनावमा ल्याएको थियो । उनीहरूको भोट संख्या कम रहेकोले कुनै पनि पदमा सदस्यहरु निर्वाचित हुन सकेनन् ।

चार स्थानीय तह रहेको मनाङमा जिल्ला समन्वय समितिका लागि भएको निर्बाचनमा ७ भोट खसेको थियो । जसमा ४ भोट नेपाली कांग्रेसको थियो भने ३ भोट एमालेको । मनाङमा एक भोट स्वतन्त्रको भए पनि निर्वाचनमा उपस्थित नभएकोले ७ भोट मात्रै खसेको हो ।

कांग्रेसको स्पष्ट बहुमत रहेकोले प्यानल नै बिजयी भएको नेपाली कांग्रेस मनाङका सभापति एवं पूर्वश्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले जानकारी दिनुभयो ।

– छविलाल बगाले