घर सम्झी आँशु बरर

घर सम्झी आँशु बरर


– अनिल नेपाली

पीपलमाथि पिलपिल तारा पूर्वी–डाँडामा
मिर्मिरेमा गाउँघर छाडेँ मनै काँडामा
अल्झेसरी मुटु मेरो काँडा कोपेझैँ चरर
आज परदेशमा घर सम्झी आँशु बरर ।

श्रावण झरी रुँदै आयो फेरि मलाई डाकी
घर फर्की जाउँ भने’नि तीनै वर्ष बाँकी
बर्खा त्यो झुप्रो घर बलेसीमा पानी धरर
आज परदेशमा घर सम्झी आँशु बरर ।

घामको झुल्कोसँगै हाँस्ने हिमालय हाम्रो रे
पराईको देशमा छैन आफ्नै छाया राम्रो रे
आफ्नै देशमा पोख्न मन छ पसिना हरर
आज परदेशमा घर सम्झी आँशु बरर ।

नौंजवानले मुलुक छाडे धमीराको राज
देश लुट्ने पाउँछन् अरे जय–जय ताज
गाउँ र सहर छैनन् कोही दुःखीयाको माझ
शान्ति डाक्छिन् बुढीआमा मुटु पारी थरर
आज परदेशमा घर सम्झी आँशु बरर ।

मालिनीले संसार डुली शान्ति, कान्ति बोली
तलतल अन्धकारलाई सुनको पर्दा खोली
सगरमाथा चुचुरोमा चन्द्र–सुर्य फरर
आज परदेशमा घर सम्झी आँशु बरर ।

– गोकुलगंगा गाउँपालिका–५, रामेछाप