माहिरामाथि गड्यो रणवीरको मन

माहिरामाथि गड्यो रणवीरको मन


रणवीर कपुर र कैटरिना कैफबीच ब्रेकअप भएको लामो समय भयो, तर पनि यो जोडीको चर्चा चलिरहन्छ । रणवीरले कुनै नयाँ साथी बनाए पनि र कैटरिनाले अन्य कसैसँग डेट गरे पनि यी दुईको पुरानो सम्बन्धलाई जोडेर तुलना गर्न छोडिएको छैन । यस्तै अवस्था पुनः दोहोरिएको छ, रणवीरले पाकिस्तानी एक्ट्रेस माहिरा खानसँग डेटिङ सुरु गरेपछि । कैटरिनासँग सम्बन्ध तोडिएपछि थुप्रै सुन्दरी हिरोइनसँग रणवीरको नामा जोडिएको छ । र, हरेक सम्बन्धमा कैटरिनाले चासो या जानकारी राख्ने गरेकी छन् भन्ने दाबी गर्छन् वलिउडका मुवी–म्यागजिनहरू । हुन पनि बेस्सरी गडेको प्रेममा फाटो आए पनि त्यो जीवनभर भुल्न सकिँदैन भन्ने धारणा छ । यसैको प्रभाव कैटरिनामा पनि परेको हुन सक्छ । तर, रणवीर भने कैटरिनासँगको सम्बन्ध सम्झिरहेका छैनन् । यदि यस्तो थियो भने पक्कै उनले एक बच्चाकी आमासमेत रहेकी माहिरा खानको सुन्दरतामाथि मन डुलाउने थिएनन् ।

भारतीय मिडियाहरूले दाबी गरेअनुसार माहिराप्रतिको मोहमा रणवीर यतिबेला चुर्लुम्म डुबेका छन् । रणवीरको एक खास साथीलाई उद्धृत गर्दै दाबी गरिएअनुसार आफ्नो सेलफोनमा समेत रणवीरले माहिराको तस्बिर राखेका छन् भने माहिरासँगको सम्बन्धबारे उनी मन मिल्ने साथीसँग निकै कुरा सेयर पनि गर्छन् । मोबाइलमा फोटो देखाउँदै माहिरासँगका सम्बन्ध अब ‘क्याजुअल’बाट ‘स्पेसल’मा विकसित भइरहेको सुनाउँदा निकै मख्ख पनि पर्छन् रणवीर । उता एक अन्तर्वार्ताको क्रममा माहिराले पनि रणवीर योङ जेनरेसनका सबभन्दा प्रतिभाशाली एक्टर हुन् भनी रणवीरको प्रशंसा गरेकी र यस्तै एक अन्तर्वार्तामा सबभन्दा सुन्दरी हिरोइनको नाम लिनुपर्दा कसको नाम लिनुहुन्छ भनी प्रश्न गर्दा रणवीरले पनि एक सेकेन्ड ढिला नगरी माहिराको नाम लिएको प्रसङ्गलाई यसबेला फिल्मी–मिडियाले गसिप बनाइरहेका छन् । एक अवार्ड समारोहमा सहभागी हुन दुबई पुग्दा रणवीरको भेट माहिरा खानसँग भएको थियो भने माहिरा पनि त्यही क्षणबाटै रणवीरतर्फ आकर्षित भएकी थिइन् । माहिरा शाहरुख खानको हिरोइन बनेर काम गरिसकेकी अभिनेत्री हुन् ।