विकासले गति नलिँदा माझी समुदायमा निराशा

विकासले गति नलिँदा माझी समुदायमा निराशा


उमेरले सय टेकेकी सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका भीमटारकी वीरमाया माझी आफ्नो गाउँको मुहार अझै नफेरिएकोमा निकै चिन्तित छिन् । लौरोको सहारामा हिँडडुल गरिरहेकी वृद्धा वीरमायामा जवानीदेखिको वृद्धकालसम्मको अनुभव छ । ‘मर्ने बेला आइसक्यो, गाउँमा विकास भएको देख्न पाइएन’, उनी भन्छिन्– ‘अब त कसैमाथि पनि विश्वास लाग्दैन ।’

चौरासी काटेको समयमा सडकमा मोटर आएर धुलो उडेको देख्दा उनलाई लाग्थ्यो अब सुखका दिन आए । गाउँ विकासले भरिने भयो तर सडकपछि फेरि माझीगाउँ बिस्देउटारमा कुनै चामत्कारिक विकास पसेन ।

भूकम्पले माझीगाउँमा एक घर पनि सद्दे राखेन, गाउँ नै तहसनहस बनाएर धुलोमा परिणत गरायो । छानो र परिवारका सदस्य गुमाएका माझीगाउँलाई त्यो विपत्तिको घटनाले शारीरिक र मानसिक रोगी बनाएको छ । सिटामोलबाट समेत बञ्चित माझीगाउँले आफू मनरोगी बनेको पत्तो पाएका छैनन् । ‘दुःख जति बिर्सन खोज्यो उत्ति बल्झदो रहेछ,’ स्थानीय रिझन माझीले भने ।’ उनलाई समयमा नै उपचार अभावमा हजुरआमा गुमाएको पीडा छ । ‘समयमा नै उपचार नपाउँदा मैले हजुरआमा गुमाउनुपर्यो,’ माझीले पीडा हुँदै सुनाए, ‘स्वास्थ्य चौकी भइदिएको भए मेरो आमाले संसार देखिरहेको हुनुहुन्थ्यो ।’

गाउँको बिकासको लागि चाल्नुपर्ने कदममा सरकारले एकछेउ समेत नहेरेको गुनासो पोख्छन् गाउँबासी । माझीगाउँमा स्वास्थ्य चौकी मात्र होइन । शिक्षा, चेतनास्तर सबै कुराको कमी भएको स्थानीय शिक्षक प्रकाश पराजुलीले जानकारी दिए । ‘यहाँ त एम्बुलेन्स या सवारी साधन आएर बिरामी लानु नौलो हुन्छ,’ पराजुलीले भने, ‘गाउँभर झण्डै ६० परिवार बसेको छ तर जम्मा दुई शौचालय मात्रै बनेका छन् ।’ उनले अधिकांश माझी परिवार नदी किनारामा शौच बसेकाले नदी नै दुषित भएकोले खानेपानीको समेत समस्या निम्तिएको बताए ।

सीमान्तकृत जनजाति र दनुवारको यो बाक्लो बस्तीका बासिन्दालाई स्वास्थ्य सेवाका लागि घण्टौं हिँड्नुपर्छ । उपचारको लागि कि चौतारा बजार या पारीको जिल्ला काभ्रे नै पुग्नुपर्छ । ‘बिरामी हुँदा त्यत्रो बाटो कसरी हिड्न सक्नु, थला परेर बाटोमा नै ढलिन्छ जस्तो लाग्छ,’ स्थानीय सितु माझीले सुनाइन्, ‘तीन घण्टा हिडेर गयो कहिले त डाक्टर भेटिदैनन्, त्यत्तिकै फर्किनुपर्छ ।’

भूकम्पपछि माझीगाउँमा पानीका मुहान सबै सुके । गाउँभर हाहाकार नै मच्चियो । ‘एउटै धारामा पानी आउँछ, ५५ परिवारले थाप्न भ्याइन्न,’ उनले भनिन्, ‘इन्द्रावतीको पानी ल्याएर खाना पकाउने गरेका छौँ ।’

खोलाको पानी पिउनुको बाध्यताका कारण गाउँका अधिकांश महिला तथा बालबालिकालाई झाडापखालाले सताइरहने गरेको छ । ‘झाडापखाला लाग्दा समेत जीवनजल किनेर खान पाइदैनन्,’ विमल माझीले भने,‘ आफै निको हुने विश्वासमा त्यत्तिकै रोग समस्या दबाएर बस्छन्,’ भौगोलिक रुपले दुर्गम माझी गाउँमा बाटो पुगेको छ । सार्वजनिक यातायात भने सञ्चालनमा आउन सकेको छैन ।

विकट भएका कारण स्वास्थ्य चौकी निर्माण गर्न नसकिएकाले स्वास्थ्यकर्मी खटाउन नसकिएको वडा सचिव भक्तराम श्रेष्ठ बताउँछन् । ‘माझीबस्तीको चेतनास्तरको कमीले गर्दा पनि समस्या झेल्नुपुरेको छ,’ उनले ‘भूकम्पपछि बिरामी बढेकाले गाउ“भर सबै त्रासजसो गरी बाँचिरहेका छन् ।’

भूकम्प गएको २२ महिनापछि केही गैसस माझीगाउँमा छिरेको स्थानीय बताउँछन् । केही पुनर्निर्माणको कार्य सुरु गरिरहेका भएपनि हालसम्म माझीगाउँको पीडा फेरिएको छैन । सदरमुकाम चौताराबाट तीन घण्टामा नै पुगिने भएपनि माझी गाउँमा आजसम्म कुनै सरकारी सुविधासमेत पुग्न सकेको छैन ।

निरन्तर बिरामी बढिरहेपछि स्थानीयवासीले माझीगाउँमा स्वास्थ्य चौकी स्थापना गरिदिन माग गरेका छन् । बिरामीलाई काभ्रेसम्म यात्रा गरेर उपचारका लागि धाउन पर्ने भएपछि स्वास्थ्य केन्द्रको लागि उनीहरुले निकायलाई अनुरोध गरेका हुन् ।

‘सबै समस्या सहने भयौं, तर यो सहन सकिएन,’ मनिका माझीले गुनासो सुनाइन्, ‘माझीगाउँलाई किन बेवास्तामा राखिएको छ ।’ उनले जनजातिको उत्थानका लागि सरकारले कुनै पहल नगरेकोमा दुख पोखिन् । ‘रोग थाहा नपाइ बिरामी मर्न थालेपछि समस्या परेको छ,’ माझीले भनिन्,‘ दुःख परेको बेला मद्धत भएन भने हामीलाई पछिको किन चाहियो र ?’

खानेपानीको स्रोत नभएपछि इन्द्रावती खोलाबाट पानी ल्याएर खाइरहेका माझी परिवारमा विभिन्न रोगले आक्रमण गरेको हुनसक्ने स्थानीय सुरेन्द्र माझीको अनुमान छ । ‘बिरामी भएपछि स्वास्थ्य चौकी जान तीन घण्टाको यात्रा तय गर्नुपर्छ,’ उनले भने, ‘वृद्धवृद्धा र बालबालिकाको लागि झन यात्रा गर्न मूस्किल हुन्छ ।’

माझीगाउँ बिस्देउटारका स्थानीय चाडै स्वास्थ्य चौकी बनाउनुपर्ने र जनता ठानेर समस्या बुझिदिनुुपर्ने बताउँछन् । ‘यो समस्या सबैलाई सुनाइदिन प¥यो,’ वृद्ध कुमारी माझीले भनिन्, ‘स्वास्थ्य चौकी स्थापना गरिदिनेलाई सकेसम्मको हामी मद्धत गथ्र्यौ ’

भूकम्पपछि बिचल्लीमा परेका माझीहरुको प्रमुख स्रोत कृषि मात्रै हो । आलु, गहँु जस्ता उत्पादन गरिरहेका उनीहरुलाई ढुवानीको समस्याले बाली घरमै थन्किने गरेका छन् । बरु कसैले स्वास्थ्य चौकी बनाउनमा मद्धत गरे सबै गाउँ मिलेर निर्माणमा जुट्ने योजना रहेको स्थानीयको भनाई छ ।

स्थानीय निकायको निर्वाचनमा यहाँका विभिन्न समस्यालाई समाधान गर्ने नेताहरुको प्रतिबद्धता थियो । यही गाउँलाई प्रमुख बनाएर विभिन्न राजनीतिक दलले चुनावी नारा तग ग¥यो । विस्देउटारवासीले मतदानमा भाग लिए अनि जिताए । तर, जितेपछि गाउँको समस्यालाई वास्ता नगरेको उनीहरुको आरोप छ । ‘चुनाव अघिका नारा नेताले बिर्सन्छन् भन्ने सुनेको थिएँ,’ मनिका भन्छिन्, ‘अहिले साँच्ची हो रहेछ भन्ने भएको छ ।’

संविधानसभाको निर्वाचनमा जिताएर पठाएका सांसदसमेत अहिलेसम्म गाउँको सुखदुख बुझ्न नआएको वृद्ध दिलमायाले गुनासो पोखिन् । ‘विकासको नाममा गाउँमा मोटरबाटो बाहेक केही पुगेको छैन, अहिले ९४ वर्ष लागे गाउँको मुहार फेरिएको छैन’, माझीले भनिन्, ‘जितेर गएका नेता कहिले पो गाउँ आएका छन् र ?’

– किशोर बुढाथोकी