आफ्ना अङ्गहरुको विश्वास गरौँ

आफ्ना अङ्गहरुको विश्वास गरौँ



प्रसङ्ग एउटा भौतिक घरको उदाहरणबाट गरौँ । पति-पत्नीले मालिक–मालिक्नीको भूमिका निर्वाह गर्नुपरेको कुनै घरमा रामबहादुरले घरायसी कामदारको जिम्मेवारी वहन गरेको छ । मालिक कतै जागिर गर्दछन्, मालिक्नी घरायसी कामको नाममा रामेलाई अह्राइपह्राई गरेर दिन बिताउँछिन् । छोरा–बुहारी अष्ट्रेलिया पढ्न गएका उतै जागिर गर्दछन् । छोरी–ज्वाइँ बेलायतकै ग्रीनकार्ड लिई वहीँ घरजम गरेर बसेका छन् । परारसाल दुवैजना गएर ५–६ महिना बिताएर आएथे, आफ्नै घरमा कार–सार राखेर बसेको पाउँदा खुसीमै रमाएको महसुस गरेथेँ । बुहारी दुई जीउकी भएकीले हलुङगी हुने बेलामा ‘जसैगरी आउनु पर्छ है आमा !’ भनेर निम्ता पठाएको भए पनि अष्ट्रेलिया भने जाने चाँजो मिलिसकेको छैन ।

मालिक बिहान उठी सूचीनिची गरी योगा, ध्यान, प्राणायाम गर्दछन् र प्रातःकालीन हिँडाइमा निस्कन्छन् । करिब एक घण्टाको यात्रा तय गरेपछि घरमा फर्कन्छन् । सिरानको तलामा भान्सा र शयन कक्षको र तल्तिर छोरा–बुहारी र छोरी–ज्वाइँका लागि अनि पर–पाहुनाका लागि कोठाहरू र एउटा बैठक कक्षको व्यवस्था भएको घर थियो । सिरानको तलामा बरण्डा थियो, जहाँ कपडा, भाँडाकुँडा धुने धाराको व्यवस्था थियो । पुष–माघको समय, हिज्जसो मालिकका साथीहरू जम्मा भएर सुखद शुक्रबार मनाउँदा समयले आजको रेखा खिचीसकेको हुँदा मालिक्नीले ‘अहिले सुत् भो ! भोलि बिहान उठेर माझ्लास् भाँडाकुँडा …’ भन्नुभएकोले रामुले पनि थकित शरीरलाई आराम गराएको थियो ।

बिहानै उठेर रामुले सारा घर बढार्यो, डाइनिङको सरसफाइ गरी रुमफ्रेसनर छरेर सुगन्धित बनायो । दोकानमा गएर दूध ल्यायो । तरकारी टिपेर धोइपखाली गरी बाटाभरिका भाँडाहरु लिएर बरण्डाको धारोमा माझ्न निस्क्यो । बाक्ला हात्तिछाप चप्पल अलि पुराना भएकाले तलुवारङ निस्किएका थिए, जुन चिप्लिने खालका बनिसकेका थिए । यसै त काठ्माडौंको पुष–माघको ठिहिरो, त्यसमाथि हिजोको ढिलो सुताइको अनिदोले झन् जाडो बढेको महसुस गर्दै रामेले सदाभन्दा दुई–तीन गुना धेरै भाँडा माझ्न कस्सियो । मालिक्नी उठेर मुख पखालेर चिया पकाइन् । रामेले भाँडा माझिसकेर बाटामा राख्यो । मिलाएर राख्दा पनि दुईवटा चरेसका थालहरु अटेनन्, र पनि सिरानमा घोप्ट्याएर काट्ठिएका हातले उचालेर भित्रिन थाल्दा चप्पल चिप्लिएर बरण्डामा पछारियो । चरेसका थाल सिमेण्टमा बजारिंदा चर्किए । दाहिने घूँडामा नराम्रोसँग चोट लाग्यो । उठ्नसमेत धौ भैरहेको अवस्थामा मालिक्नी बाहिर आएर गालामा एक चड्कन लगाइन् । मालिकले खाना खाने थाल फुटेको देखेपछि उनको रिसको पारो झन् बढ्यो, तर रामेका आँसु भरिएका आँखामा आँखा जुधेपछि ‘अब मालिकको कति चुटाइ खाने होस् होश गर…’ भन्दै दुइटा थाल लिएर भान्सामा भित्रिइन् । रामु सकिनसकी उठेर बाटामा भाँडा मिलाई घूँडाको पीडालाई वास्ता नगरी भित्र गयो । विचराले त्यसरी भाँडा फुटालुँ भन्ने कल्पनासम्म गरेको थिएन । १०–१२ वर्षदेखि त्यही घरलाई आफ्नो घर ठानेर जतन गरिरहेको उसले त्यो घरको कुभलो कहिल्यै चिताएको छैन र थिएन । रपनि यस्ता पीडाहरुलाई पचाउँदै घरको हिफाजत गरिरहेको छ ।

मालिक्नीले ट्रेमा टिपट, कप–प्लेट र शिशाको गिलासमा पानी राखेर रामेलाई दिँदै भनिन्, ‘लौ मालिकलाई लगेर दे ! अघि मर्निङवाकबाट फर्कनु भा’छ …’ । रामेले दुखेको घूँडा बारेमा मालिक्नीलाई भन्न पनि सकेन र उनले पनि कतै चोट लाग्यो कि ? भनेर सोधिनन् । रामेले खोच्याउँदै ट्रे समाएर तल्लो तलातिर लाग्यो । सिंहमरमरका खुट्किलामा चिप्लिन्छु कि ? को सन्त्रासमा तल पुगेर एक हातले ट्रे समाई अर्को हातले पुसरसहितको जालीखापा उघार्यो, मालिक पत्रिका पढ्दै थिए । नेपाली गलैंचाको बाक्लोपनमा लर्बराएकोे खुट्टा ठोक्कियो । ‘जहाँ घाउ, त्यहीँ घच्च’ भनेझैँ विचराको त्यही गोडाको बुढीऔंलोको नङ मासुबाट च्यातियो, ट्रे हातबाट उछिट्टिंदा टिपट, कप–प्लेट एकातिर हुर्रिए भने गिलासको पानी पत्रिकामा पर्यो । पत्रिका एकातिर मिल्क्याएर मालिकले ’साले’ भन्दै लात्ताले भकुरे । विचरा रामेले मौनरुपमै बलिन्धारा आँसु खसाल्यो । नङमासु विछोडको पीडा त आफ्नै ठाउँमा खपिनसक्नुको थियो । सबै सामानहरु एकट्ठा गरी बाहिरियो । यतिखेर पनि रामेले यस्तै गरुँ भन्ने कल्पनासम्म गरेको थिएन । कल्पनाबाहिरको आक्षेप सनातनीभन्दा बढी पीडादायक हुन्छ भन्छन् । मालिक–मालिक्नीको यस्तो रवैया भएपनि रामेले सधैं–सधैं त्यो घरको भलो नै चिताइरह्यो, एउटा कर्मठ पहरेदारका रुपमा ।

एकदिन हिउँदे बाली सिहार्न मालिक–मालिक्नी तराईतिर जाने भए । मालिक्नीको आदेश अनुसार रामेले सुटकेश मिलायो । काट्ठिएका हातले कार पुछपाछ गरेर टलक्क पार्यो । मलेखुमा माछा र भात खाने हिसाबले संक्षिप्त नास्ता गरी यात्रारम्भ गर्ने भए । छुट्ने बेलामा मालिक्नीले मालिकतिर मुखारित हुँदै ‘उ अस्ति हजुरले ज्यूनार गर्ने चरेसको थाल फुटायो, गिलास, कप–प्लेट त कति हराए, कति फुटे, अब पनि यसैलाई नछाडे कसलाई छाड्नु ? फर्केर आउँदा कति भाँडा हराउने हुन्, कति फुट्ने हुन् ? हजुर केही बोलिबक्सने पनि हैन, मैले भनेको यसले टेर्ने पनि हैन, यसो केही निर्देश गरिसियो न…’ भनिन् । मालिकले पनि ‘राम्रोसँग देखभाल गर्नु नि ! …’ भन्दाभए र गाडीमा चढेर स्टार्ट गरी गेटबाट बाहिरिए । विचरा रामेले ‘राम्रोसँग सवारी होला है हजुर, यताको केही पीर नगरिसेला …’ भन्दै बाई–बाईका हात हल्लएर गेट बन्द गर्यो ।

कसैको नाम ‘जुठे’ राखिएको हुन्छ । त्यस्तो नाम भएकाहरुले खाना खाएपछि सावुनले मुख धोए पनि कसैले बोलाए भने उही ‘जुठे’ नै भनेर बोलाउने गर्दछन् । यदि खाना खाएर चुठ्दै नचुठे पनि उसलाई बोलाउँदा उही ‘जुठे’ नै भनेर बोलाएका हुन्छन् । रामे पनि फर्केर भर्याङ चढ्दै गर्दा यस्तै सोच्न पुग्छ । मैले यतिका वर्षसम्म यतिका जतन गर्दा पनि मालिक–मालिक्नीका दृष्टिमा सामानहरु फुटाउने, फाल्ने, हराउनेमा दरिन्छु भने किन पो हिफाजत गर्नु पर्यो र ! ‘यसै जुठे, उसै जुठे, चुठ्दै नचुठे’ भन्ने उखान झैँ रामेलाई पनि त्यो घरको जतन गरिरहन मन मरेर आउँछ रे ! घरका मालिकले कर्मठ पहरेदारप्रति गरेको अविश्वासको परिणाम !

हो ! यही व्यहोरा हाम्रो शरीररुपी घरमा पनि हुबहु लागू हुने र भएको पाइन्छ । उल्लिखित भौतिक घरभन्दा हाम्रो शरीररुपी घरको कालिगढी उत्कृष्ट छ । अनि त्यो रामभन्दा तगडा पहरेदारहरु प्रकृतितः तैनाथ गरिएको छ । उदाहरण हेरौं न ! ३०–३२ मिलिमिटरको जिब्रोले करिब ३०० किसिमको स्वादको पारख गर्न सक्दछ रे ! स्वादको छिनोफानो गर्न जिब्राका मसिना डल्लारुपी रामेहरु कसैले कसैको अधिकारमा हस्तक्षेप पनि गर्दैनन् अनि कोही कर्तव्यच्यूत पनि रहन सक्दैनन्, यदि ति रामेहरु बिरामी परेका छैनन् भने । किनभने कहीँकसैले खुर्सानी खाएमा गुलियोको स्वाद कहिल्यै परिभाषित हुँदैन, चाहे राजा वा रङ्कले खाएको हवोस् वा बाल–बृद्ध वा स्त्री–पुरुषले, अनि अमेरिकाको वासिङटनमा हवोस् वा नेपालको हुम्लामा ! त्यस्तै मुखमा लालमोहन हाल्दा कस्तो पाचनरस आवश्यक हुन्छ भनेर कसैले चिन्ता गरिरहनु पर्दैन, पचाउने जिम्मा लिएका रामेहरूले मात्रासमेत मिलाएर पाचनरस हाली भोज्य पदार्थलाई यथोचित हिसाबले पचाएर मासु, हड्डी, रगत मात्र कहाँ हो र ! शक्तिसमेत उत्पादन गर्दछन् । यस्तो बहुमूल्य पहरेदारहरुबाट सुसज्जित हाम्रो शरीररुपी घरमा माथिका मालिक–मालिक्नीरुपी मस्तिष्कलाई कुनै हिसाबले प्राप्त ज्ञानको आडेस लगाएर अविश्वास गरिरहेको परिणाम हामी रोगग्रास भैरहेका छौँ ।

कुनै ठण्डी मौसममा चिसो पानीले नुहाइयो भने जाडोले लुगलुग कामिन्छ । यसको मतलव जब जाडो महसुस गर्ने रामबहादुरहरुले ठण्डी अनुभव गरे भने शरीर तताउनका लागि कोष–कोषका बीचमा घर्षण गराउँछन्, परिणाम समग्र शरीर कामेको हुन्छ । जवकि कोही सामु केही कुरा गर्नुपर्ने अवस्था आएमा ‘एकछिन पर्खौं है, मलाई जाडो भएकोले काम्छु र कुरा गरौंला …’ भनी कुरामा अवरोध गरिरहनु पर्दैन, इमान्दार पहरेदारहरुले आ–आफ्नो काम गरिरहेका हुन्छन् । त्यस्तै कतै गर्मी ठाउँमा यात्रा गर्दा ज्यादै घाम भयो भने पसिना कता होला ? भनेर चिन्ता गरिरहनु पर्दैन । यदि यो शरीररुपी घरलाई अरु सुख्खा हुन दिने हो भने त्वाचा सुकेर फुट्नेछ भन्ने रामेहरुलाई अड्कल भयो भने रौं–रौंबाट पसिना बगाइदिएर छालालाई चिसो पारिदिन्छन् । त्यतिबेला पनि ‘मलाई गर्मी भयो, एकछिन म पसिना निकाल्छु र अरु काम गरौंला …’ भनिरहनु पर्दैन । यी केही उदाहरण हुन्, जसले हाम्रो शरीररुपी घरको जतन रामेरुपी कर्मठ पहरेदारहरुले गरिरहेका हुन्छन् । यदि यिनको विश्वास गरिएन भने माथिको उदाहरणमा रामेले भाँडा वर्तनको हिफाजत नगरी घरको सम्भार नगरे जस्तै हाम्रा शरीरका रामेहरुले पनि शरीरको जतन गर्ने छैनन् । तसर्थ आफू स्वस्थ, तन्दुरुस्त रहने हो भने मस्तिष्कलाई प्रधान हुन नदिई आफ्ना अङ्गहरुको विश्वास गर्नु जरुरी देखिन्छ । विवेकीहरूले व्यहोरा मनन गर्दा स्वहित पक्का छ, अनुभव गरिहेरे हुन्छ । शेष कुशल !