
गत साता नुवाकोट दरबार क्षेत्रको तुलजा भवानीको मन्दिर भत्किएको समाचार सार्वजनिक भएपछि एक चिनियाँ टोलीले त्यसप्रति विशेष चासोका साथ सहयोगको कदम चालेको छ । भूकम्पले क्षति पुऱ्याएको ऐतिहासिक साततले दरबार क्षेत्रको पुनःनिर्माणको जिम्मा लिएको चीनको एक विशेष टोलीले नुवाकोट दरबार क्षेत्रको अध्ययन गर्न थालेको हो ।
सम्बद्ध स्रोतका अनुसार चिनियाँ वरिष्ठ इञ्जिनीयरको टोलीले दरबार क्षेत्रमा भत्किएका संरचनाको पुनःनिर्माणका लागि प्राविधिक अध्ययन थालेको छ । स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख अर्जुन फुयाँलका अनुसार चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज नामक संस्थाका तर्फबाट वरिष्ठ इञ्जिनीयरसहितको आठ जनाको टोलीले दरबार क्षेत्रको अवस्था सर्भे गर्न थालेको छ । सो टोली उक्त पुरातात्विक संरचनाको मरम्मत तथा जिर्णोद्धारका लागि खर्चको लागत इस्टिमेटका लागि आएको हो । चिनियाँ टोलीले साततले दरबार, गारद घर, रंगमहल, तुलजा मन्दिर, लामपाटी, सेतापाटी, नारायण मन्दिर र विष्णु मन्दिरको सर्भे गर्न प्रारम्भ गरेको बुझिएको छ ।
स्मरण रहोस्, विसं २०७२ वैशाख १२ गतेको भूकम्पले विसं १८१९मा पृथ्वीनारायण शाहद्वारा निर्मित साततले दरबार क्षेत्रको पुरातात्विक महत्वका संरचनाको क्षति पुऱ्याएको थियो । दरबार क्षेत्रको प्रमुख आकर्षण साततले दरबारमा क्षति पुगेको छ भने तुलजा मन्दिर, गारद घरलगायत भने भत्किएको छ । नुवाकोटको ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल दरबार क्षेत्रका सम्पदाको तत्काल पुनःनिर्माण नगर्ने हो भने सम्पदा नै नष्ट हुने अवस्था छ ।
प्रतिक्रिया