जापानबाट दुई लाख येन सहयोग

जापानबाट दुई लाख येन सहयोग


लगातारको वर्षापछि आएको बाढीका कारण दर्जनौँ व्यक्तिको मृत्यु र दर्जनौँ बेपत्ता तथा घरबार गुमाएका पीडितलाई राहत दिलाउने अभियानमा गैरआवासीय नेपाली सङ्घको क्षेत्रीय समितिसहितका सङ्घसंस्था सक्रिय भएका हुन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) जापानको कान्तो क्षेत्रीय समितिले सदस्यहरुबाट संकलन गरेको दुई लाख ३१ हजार १५३ जापानी येन सोमबार नेपाल पठाएको छ ।

सङ्घका कान्तो संयोजक नवीन निउरेका अनुसार धुर्मुस–सुन्तलीले शुरु गरेको ‘विपत्मा सबै नेपाली जुटौँ, अनिवार्य मानवता र सद्भावका लागि सहकार्य’ भन्ने अभियानमार्फत पीडितलाई संकलित राहत रकम पठाइएको हो । राहत संकलनका लागि गैरआवासीय नेपाली सङ्घ गुम्मा क्षेत्रको आपत्कालीन बैठक बसिरहेको छ । गुम्माको ओइजुमी सहरमा बसेको बैठकमा पीडितलाई तत्काल राहत दिलाउनेबारे छलफल भइरहेको बैठकमा सहभागी नीरज गुरुङले जानकारी दिनुभयो ।

त्यस्तै, संसारभर रकम पठाउने कारोबार गर्दै आएको सिटी मनी एक्सप्रेस ट्रान्सफर र नेपाली विद्यार्थी समाज, जापानले पनि पीडितका लागि राहत संकलन कार्यलाई तीव्रता दिएका छन् । राहत अभियानमा सहयोग गर्ने भन्दै सिटीगु्रपले एक लाख जापानी येन र सिटी मनि एक्सप्रेस ट्राभलका तर्फबाट कार्यरत कर्मचारीले छुट्टाछुट्टैरुपमा ५० हजार जापानी येन छुट्याएका छन् । रासस