बाढीग्रस्त क्षेत्रमा रोगको प्रकोप बढ्न थाल्यो

बाढीग्रस्त क्षेत्रमा रोगको प्रकोप बढ्न थाल्यो


विगत केही दिन यता परेको अविरल वर्षाको कारण विभिन्न खोला तथा नदीमा आएको बाढीले पर्सा जिल्लाको दुर्गम गाउँका बाढीपीडित बासिन्दा बिरामी पर्न थालेका छन भने विभिन्न किसिमको रोगको जोखिम बढ्दै गएको छ ।

पर्सा जिल्लाका पश्चिम क्षेत्रमा रहेको दुर्गम गाउँ मिर्जापुर, सम्झौता, जयमंगलपुर, भिश्वा, जानकिटोला, भिखमपुर, बन्जारेलगायतका गाउँका बाढीपीडित झाडापखाला, विषमज्वरो, रुघाखोकी, श्वासप्रश्वास, जिउचिलाउने रोगबाट प्रभावित भएको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।

जनस्वास्थ्य कार्यालयमा पर्याप्त मात्रामा औषधि भएको बताउँदै प्रमुख जनस्वास्थ्य अधिकृत राजकिशोर पण्डितले तर बाढीको कारण बाटोघाटो कटानमा परेकाले यातायातको असुविधाको कारण दुर्गम गाउँमा भने औषधि पठाउन नसकिएको बताउनुभयो ।

औषधि लिन जिल्ला जनस्वास्थ्य कार्यालय आएका जयमंगलपुर स्वास्थ्य चौकीका इन्चार्ज रामईश्वर रामले भिष्वा, सम्झौता, मिर्जापुर, पकहामैनुरजस्ता दुर्गम गाउँमा औषधिको अभाव रहेको र उक्त ठाउँमा समयमै औषधि नपाए महामारी फैलिन सकिने राससलाई बताउनुभयो ।

पर्सा जिल्लाको पश्चिमी भेगमा रहेको कतिपय गाउँ विकट क्षेत्रमा रहेको र सो ठाउँमा औषधि पुग्न नसकिने भए पनि हामीले रोगबारे खबर प्राप्त हुन साथ पायक पर्ने ठाउँमा औषधिसहितको टोली पठाउने गरेको जनस्वास्थ्य अधिकृत अमलेश्वर मिश्रले बताउनुभयो ।

विभिन्न रोग फैलिएका कतिपय गाउँका स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी र चिकित्सक देखा नपरेको र औषधिसमेत अभाव रहेकाले बाढीपीडित बिरामीले उपचार पाउन नसकेको गुनासो बढ्दै गएको छ । कतिपय ठाउँमा स्वास्थ्य शिविरसमेत सञ्चालन गरिएको छ ।