अरनिको राजमार्गमा जताततै जोखिम, मुटु छाम्दै पुग्नुपर्छ सीमागाउँ लिपिङ !

अरनिको राजमार्गमा जताततै जोखिम, मुटु छाम्दै पुग्नुपर्छ सीमागाउँ लिपिङ !


– किशोर बुढाथोकी (सिन्धुपाल्चोक)

नेपाल–चीनबीचको स्थलमार्ग तातोपानी नाका पुग्न अरनिको राजमार्गको जुरेपहिरोदेखि नै जोखिम सुरु हुन्छ । तीन वर्षअघि साविक माङ्खा र राम्चेको सीमामा पर्ने इट्नी भिर खसेर तीन गाउँ विलय गराउने गरी आएको विशाल पहिरोले एक सय ४५ जनाको ज्यान माटोमै मिलाएको थियो । त्यतिबेला बर्खायामको सुनकोसी १४ घन्टा थुनेर झन्डै साढे तीन किलोमिटर ताल बनेको बन्यो । त्यहीँनेर अहिले पनि स–साना चट्टान झर्छन् । हल्का वर्षा हुँदा पनि दबदबे माटोमा परेर सवारी त्यहीँ फस्न सक्ने सम्भावना बढेर जान्छ ।

यो सडक हुँदै बाह्रबिसे, दोलखा, रामेछाप जाने सवारी चल्ने गर्छ । यात्रुलाई त्यहाँनेर आफ्नो गन्तव्यमा कतिबेला पुगिने हो भन्ने भय हुन्छ जतिबेला जुरे फेरि सानो आकार लिई खस्न सुरु हुन्छ । अरनिको राजमार्ग भई अन्य गन्तव्यस्थल भएका यात्रुका लागि पहिलो चिन्ताको स्थान बनेको छ अहिले जुरे सडक ।

जिल्लाकै सबैभन्दा धेरै पानी पर्ने स्थान भएकाले पनि बर्खायाममा यो बजारमा वर्षा भइरहन्छ । यसैकारण पनि गाती, मार्मिङ, तातोपानी, लिपिङलगायतका गाउँमा पुग्ने यात्रुका लागि थप जोखिम मोल्नुपर्ने अवस्था छ । भुइँचालोले जमिन हल्लाएपछि सानो वर्षामा पनि पहिरो निरन्तर गइरहन्छ । कतिबेला माथिबाट आएको पहिरोले हो या तल भोटेकोसीले कटान गरेर सडक बन्द हुने हो भन्नेमा कुनै भर हुँदैन । वर्ष दिनअघि आएको भोटेकोसीको बाढीले कटान गरेर कमजोर तुल्याएको जमिन अहिले पनि भास्सिँदै गएकोले चीनसँग जोडिएको लिपिङमा पुग्न निकै चुनौती मोल्नुपर्ने सशस्त्र प्रहरीका डिएसपी विमल डाँगी बताउँछन् । ‘भग्न सडकको अवस्था देखेर जो–कोहीलाई डर लाग्नु स्वाभाविक हो,’ उनले भने ।

पछिल्ला चार वर्षदेखि विपत्ति खेपिरहेका सिन्धुवासीका लागि पछिलो विपत्ति तातोपानी जोड्ने लार्चाको पक्की पुल भाँच्चिनु हो । लार्चा आएपछि तुइन चढेर मात्रै अर्काे सडकमा जोडिन सकिन्छ । तल उर्लिरहेको भोटेकोसीमाथिबाट तुइन चढ्नु कम चुनौती छैन । ‘नगई हुँदैन, यात्रुलाई डर लागेर के गर्नु,’ लार्चामाथि पर्ने साविक तातोपानी गाविसका पूर्वअध्यक्ष अमृत खड्का भन्छन्, ‘ज्यान जोखिममा राखेर यात्रा गर्नुपर्ने अवस्था छ ।’ लार्चासम्म पहिरोको जोखिम मोल्दै तुइनको यात्रा सकेपछि भोटेकोसीपारिबाट लिपिङ पुग्न भने साँच्चै यात्रुहरूले मुटु छाम्नैपर्ने हुन्छ । अविरल वर्षासँगै सीमावर्ती क्षेत्रका सडकमा पाइलैपिच्छेजस्तै पहिरो झरिरन्छ ।

‘यो तुइनको भरमा कतिन्जेल यात्रा गरिरहनुपर्ने हो ?’ भर्खरै तुइनबाट कोसी पार गरेर आएकी कान्छी शेर्पाले दुखेसो सुनाइन्, ‘बेलिब्रिजको साटो फड्के मात्रै बने पनि कति आनन्द हुन्थ्यो ।’

उनले तुइन चढेर पारि पुगेर पनि सुख पाउँदिनन् । पुग्न झन्डै तीन घन्टाको पैदल यात्रा गरेपछि पहिरो पार गर्दै तातोपानी बजारबाट माथिल्लो थामीगाउँ चढ्नुपर्छ । पुल नजोडिँदा सवारीसाधन उपलब्ध हुन सकेका छैनन् । पहिरोको जोखिम मोल्दै घन्टौँको हिडाइँपछि गाउँ पुग्ने उनले बताइन् । तुइनमा भोटेकोसी गाउँपालिकाकै पारिश्रमिक पहलमा दुईपट्टि दुईजना डोरी तान्नका लागि राखिएको गाउँपालिका प्रमुख राजकुमार पौडेलले जानकारी दिए । ‘अबेर आइपुगे वारिपट्टि नै बस्नुबाहेक विकल्प रहन्न,’ स्थानीय साङदोर्जे तामाङले भने, ‘यहाँ चार बजेभन्दा उता तुइनको सेवा पनि पाइँदैन ।’ उनले बिरामी लिएर गएका कतिपय स्थानीय अबेर हँुदा उतै अलपत्र पर्ने गरेको सुनाए ।

लार्चामाथि सुनसान
जब लार्चामा रहेको तुइन चढेर पारिको यात्रा सुरु हुन्छ अर्कै देश, परिवेशमा पुगेको भान हुन्छ । सवारी चल्ने सडकले नजोडिएका कारण पनि यहाँको अवस्था निकै फरक देखिएको हो । लार्चादेखि लिपिङ बजारसम्म बजारलगायतका स्थान खण्डहर बन्दै गएका छन् । बाढीले कटान गरेका भग्न घरहरू आधा झुन्डिएको अवस्थामा छन् ।

लार्चादेखि ४ किलोमिटरको दूरीमा रहेको तातोपानी बजारका अधिकांश त्रासले राजधानी वा अन्यत्र बसाइँ सरिसकेका छन् । तातोपानीदेखि लिपिङसम्मको सडक तहसनहस भएको छ । तलबाट बाढी र माथि पहिरोले बगाएपछि यहाँका सडकखण्ड लार्चामुनिको तुलनामा धेरै बढी कटानमा परेको छ । ‘गाउँमा बसिरहेकालाई सवारी नचल्दा यात्राको कठिनाइ परेको छ,’ तातोपानी बजारमा पसल व्यवसाय गरिरहेकी शान्ति श्रेष्ठले भनिन्, ‘यहाँको दैनिकी निकै असहज बनिरहेको छ, कतिबेला के हुन्छ भन्ने भर छैन ।’

सिन्धुको कर्णाली बन्यो लिपिङ
२२ सयको बसोवास रहेको तातोपानीमा बाढी र पहिरोको जोखिमको त्रासले अधिकांशले घर छोडिसकेका छन् । विपन्न परिवार मात्रै जोखिम मोलेर आफ्नै थलोमा बस्न बाध्य छन् । बाँकी रहेको खाद्यान्नले केही समय पुग्ने भए तापनि स्वास्थ्य, शिक्षा, विद्युत् र टेलिफोनविहीन हुँदा उनीहरू समस्यामा परेका हुन् । दैनिक आधारभूत आवश्यकताका सामानसमेत अभाव हुन थालेपछि यहाँका जनताले सिन्धुको कर्णाली बनेको सहसुस गरेका छन् ।

लार्चाबाट खोकुण्डोल पार गरेलगत्तै पहिरोले बगाएको सडकखण्ड हिँड्दै तीन घन्टापछि मात्रै सीमा जोड्ने बजार पुग्न सकिन्छ । खण्डहर सडकका कारण पैदल हिँड्नसमेत मुस्किल भएकाले सबै सशस्त्र प्रहरी बलको सुरक्षामा मात्रै वारपार गर्ने गरेका छन् ।

‘बाटैबाटोमा काल पर्खिएर बसिरहेकोजस्तो लाग्छ,’ साङडोमा शेर्पाले तातोपानी जोड्ने बाटोको पहिरो देखाउँदै भनिन् । खोकुण्डोल, दशकिलो र तातोपानी सुरु भएसँगै सवारीसाधन गुड्न सडकखण्ड बाँकी छैनन् । भूकम्प र गत असार २१ को भोटेकोसी बाढीले ध्वस्त बनाएको सडक चिनियाँ निर्माण कम्पनी सीआरसीसीले पुनर्निर्माण गरेको थियो । उक्त सडकखण्ड बाढीले कटान गरेकोजस्तै पुरानै अवस्थामा फर्केको छ ।

तातोपानी, लिपिङमा खाद्यान्न र औषधि सकिँदै गएको छ । ‘एक महिनालाई पुग्ने सामग्री मौज्दात भएको देखियो, बेलैमा बेलिब्रिज या फड्के पुल नबने खाद्य समस्या झेल्नुपर्ने जोखिम बढेको छ,’ सीमास्थित सशस्त्र प्रहरी बलका डीएसपी विमल डाँगीले भने, ‘बजारक्षेत्र र गाउँमा पर्याप्त खाद्यान्न मौज्दात भएको पाइएको छैन ।’ डीएसपी डाँगीले दैनिक सडकखण्ड पहिरोले अवरोध बनाइरहेकाले खाद्यान्न र औषधिलगायतका सामग्री मौज्दात गरिनुपर्ने बताए ।

माथिल्लो पहाड खसेर आएको ढुङ्गाले तातोपानी, लिपिङमा बाँकी बसेका घरभित्रै पसेको छ । तातोपानी भन्सार कार्यालयअगाडिबाट नदी नै बग्न थालेको छ । पहिरोले ल्याएको ढुङ्गाले भूभाग नै चर्काएको छ । सडकखण्ड भत्किँदै गएको र माथिबाट ढुङ्गा खसिरहेकाले पूरा जोखिम भएकाले त्यहाँ जानसमेत बन्देज लगाइएको डीएसपी विमल बताउँछन् । मितेरी पुलदेखि तातोपानी बजार छेउसम्मका भूभाग पहिरोले भग्नावशेष भएकाले लिपिङ पुग्न निकै सास्ती खेप्नुपर्ने उनले बताए ।

बेलिब्रिजको सामान आधा आइपुग्यो
जताततै पहिरोको जोखिम मोल्नुपर्ने सीमावर्ती क्षेत्रमा पाङसेर्पु पहाड खसेर आएको पहिरोले लार्चाको मोटरबेल पुल भत्किएको साता दिनपछि फड्के हाल्ने कार्य सुरु गरिएको छ । यस्तै, सशस्त्र प्रहरी, सडक डिभिजन कार्यालय, नेपाल प्रहरीलगायतको प्राविधिक सहयोगमा बेलिब्रिजको काम थालिने प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवाल बताउँछन् । ‘७० मिटर लामो बेलिब्रिज निर्माणका लागि आधाजस्तो सामग्री लार्चा आइपुगेको छ,’ सिलवालले भने, ‘जतिसक्दो चाँडो बेलिब्रिज निर्माण गरेर त्यहाँका जनतालाई सहज आवतजावत गराउनेछौँ ।’