राजसंस्था फालेर पारसको चिन्ता गर्ने ?

राजसंस्था फालेर पारसको चिन्ता गर्ने ?


पूर्वयुवराज पारस शाह कति असल या खराब हुन्, यस विषयमा बहस–छलफल गर्नु नपर्ला र अब बहस गर्नुको औचित्य पनि नरहला । जतिबेला उनी युवराजाधिराज बनेका थिए, त्यसबेला पारस महाराजाधिराज बन्ने सम्भावना थियो र आफ्नो भावी राजाप्रति जनतामाझ ज्यादा चासो रहनु तथा उनका उचित–अनुचित काम, चरित्र र व्यवहारबारे टीका–टिप्पणी हुनुलाई स्वाभाविक मान्न सकिन्थ्यो । तर, अब पारस युवराजको हैसियतमा छैनन्, गणतन्त्र घोषणापछि आफू ठीक भएको प्रमाणित गर्ने अवसर प्राप्त भएको थियो, अवसरले लिएको परीक्षामा पनि उनी अनुत्तीर्ण भइसकेका छन् । पहिले जनताले मात्र पारसलाई त्यागेका थिए, अहिले परिवार तथा नातेदारभित्रै पनि उनी त्याज्य बनिसकेका छन् ।

गणतन्त्र घोषणा हुनुमा पारसको प्रत्यक्ष र निर्णायक भूमिका थिएन । देशको स्थिति, जनताको मानसिकता र अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरूको चालबाजी नबुझीकन विभिन्न समयमा विभिन्न लहडी कदम चाल्दै हिँड्ने स्वयम् तात्कालिक श्री ५ महाराजाधिराजका कारण गणतन्त्र घोषणा हुने पृष्ठभूमि तयार भएको थियो । राजा मौन बसेका भए अन्तर्राष्ट्रिय षड्यन्त्र या दलका नेताहरूको चाहनाबाट मात्र ‘गणतन्त्र’ सम्भव थिएन । जो–जसका कारणबाट गणतन्त्र घोषणा गरिएको भए पनि त्यसले सबैभन्दा ठूलो धक्का त टंक ढकालदेखि पारससम्म सबैलाई परेको होला, तर राजा ज्ञानेन्द्रलाई लागेको धक्काको मूल्यसँग अरूलाई तुलना गर्नु उपयुक्त र उचित हुन सक्दैन । त्यस्तो समयमा उमेरले पैंतीस नाघेका ‘राजकुमार’ पारसले पीडाले रनाहामा परेका आफ्ना पितालाई सान्त्वना र साथ दिनुपर्नेमा पीडामाथि पीडा थपेको तथ्य सबैका सामु जाहेर छ । पिता (राजा)लाई साथ, सहयोग र सान्त्वना दिन नसके पनि पारसले पीडामाथि पीडा मात्र नथपिदिएका भए उनी आलोचना या नकारात्मक टिप्पणीको पात्र बन्ने थिएनन् । पारसका कारण कसले कति दुःख पाए या राजसंस्थाको कति बदनामी हुन पुग्यो भन्ने विषयमा चासो हुनेले व्याख्या–विश्लेषण गर्दै गर्लान्, तर पारसको आफ्नै प्रवृत्ति र चरित्रले उनलाई परिवारभित्रै पनि एक्ल्याएको कुरामा शङ्का गरिरहनुपर्दैन ।

पारसको ‘इमेज’ नकारात्मक हुँदै जाँदा स्थिति यहाँसम्म पुगेको छ कि पिता र पुत्रबीच दूरी बढेको खबर सार्वजनिक हुँदा पनि पिताप्रति सहानुभूति बढ्ने अवस्था छ । पूर्व श्री ५ ज्ञानेन्द्र आफ्नै पुत्र पारससँग कति टाढिएका हुन्, त्यसबारे तथ्यबोध हुन बाँकी नै छ । तर, पिता–पुत्र टाढिएको सन्देशले ‘राजा’लाई चाहिँ राजनीतिक रूपमा लाभ नै पुगेको देखिन्छ । कहिलेकाहीँ नकारात्मक कार्य या घटनाको परिणाम सकारात्मक हुन सक्छ भनिएको कारण पनि यस्तै हुनुपर्छ । तर, ती मानिस जो तात्कालिक राजा ज्ञानेन्द्र र तात्कालिक युवराज पारसलाई बराबरीमा बुझ्ने, व्यवहार गर्ने र राजसंस्था पुनस्र्थापनाको चाहना राख्ने गरेका छन्, के तिनीहरू साँच्चै राजसंस्थाका हितैषी होलान् त ? प्रश्न उठेको छ । पारसले आफ्नो जीवनको झन्डै आघा शताब्दी पार गरिसक्दा आफू योग्य राजकुमार या राजा हुनका लागि योग्य व्यक्ति नभएको त आफैँले प्रमाणित गरिसकेकै हुन्, योग्य पिता, योग्य पति र देशका लागि योग्य साधारण नागरिकसमेत नरहेको पुष्टि उनले गरिसकेका छन् । यस्तो स्थितिमा पारसलाई उनका पितासँग जोडेर बराबरीको हैसियतमा दाँज्नु भनेको ‘राजा’ ज्ञानेन्द्रको अपमान गर्नु हो र राजसंस्था पुनर्वहालीको कुनै सम्भावना छ भने पनि त्यस्तो सम्भावनालाई निरुत्साहित गर्नु हो ।

पूर्व श्री ५ ज्ञानेन्द्रले आफ्ना पुत्रलाई ‘ट्र्याकमा राख्न सकेनन्’ भन्दैमा उनले नातिनातिनालाई पनि अनुशासनहीन र बेकम्मा बन्न दिनुपर्छ भन्ने होइन । पारसले आफ्ना ‘टिनएजर’ छोराछोरीलाई मदिरा सेवन केन्द्र र डिस्कोमा लिएर जान थालेपछि ती सन्तानको भविष्यप्रति चिन्तित कसको मन रुँदैनथ्यो ? रोयो, पूर्व श्री ५ महाराजाधिराज, बडामहारानी र पूर्वयुवराज्ञी हिमानीले पिता नै भए पनि पारसको सङ्गतबाट तिनका सन्तानलाई जोगाउन आवश्यक ठानेका हुन् भने त्यो नाजायज र अनुपयुक्त होइन । घटना र विचारले पूर्वराजारानीबाट चालिएको पारिवारिक, तर प्रशंसनीय कदमबारे समाचार सार्वजनिक गरेर आफ्नो अपरिहार्य जिम्मेवारी पूरा गरेको हो । उक्त समाचारको विषयलाई लिएर पारस स्वयम्ले सकारात्मक–नकारात्मक प्रतिक्रिया दिन सक्थे या समाचारको खण्डन गर्न सक्थे । उनले कुनै प्रतिक्रिया जनाएका छैनन् । तर, केही दरबारियाहरूको जुठोपुरोमा जीवन गुजारा गर्ने व्यक्तिहरू सामाजिक सञ्जालमा अत्यन्तै अमर्यादित ढङ्गमा प्रस्तुत भए, तिनका विरुद्ध कानुनी कारबाहीको प्रक्रिया सुरु गर्न यो सञ्चार प्रतिष्ठान बाध्य भएको छ ।

राजसंस्थाको पुनर्वहाली आफैँमा एउटा दुरुह कार्य हो । ‘राजा’ ज्ञानेन्द्रले पुत्र पारससँग दूरी बढाएमा त्यसको लाभ राजसंस्थाका पक्षधरहरूलाई नै पुग्ने हो । राजसंस्थाको पुनस्र्थापना जति कठिन कार्य हो, पारससमेत जोडिएर राजसंस्था बहाली हुने कुरा त्यसभन्दा हजार गुणा कठिन छ । त्यसैले पारसको वरिपरि घुमेर दैनिक जीवन चलाउनेहरूले राजसंस्था पुनर्वहालीको पनि सपना देखेका छन् भने यति कुराचाहिँ तिनले स्पष्ट बुझ्नुप¥यो– ‘माइनस पारस राजसंस्थाको बहाली केही सम्भव, प्लस पारस–राजसंस्थाको पुनर्वहाली शतप्रतिशत असम्भव छ ।’