एघार दलित महिलाको बेग्लै सामुहिक प्रयास

एघार दलित महिलाको बेग्लै सामुहिक प्रयास


नगदे र खाद्यबाली खेती गरेर उल्लेख्य आम्दानी गरिरहेका किसान पशुका लागि आवश्यक घाँसखेती गरेर पनि व्यावसायिक बन्न थालेका छन् । उन्नत जातको घाँसखेती गरेर किसानले अन्य बालीको तुलनामा बढी आम्दानी लिन थालेपछि समाजमा उनीहरूको निकै प्रशंसा पनि हुन थालेको छ ।

लमजुङको राइनस नगरपालिका वडा नं. ६ धमिलीकुवाका ११ जना दलित महिलाले जीविकोपार्जनका लागि जग्गा भाडामा लिएर घाँसखेती गरेका छन् । नगदे र खाद्यबालीमा मात्रै आम्दानी लिन सकिन्छ भन्ने गलत मान्यतालाई प्रमाणित गराउन उनीहरूले जग्गा भाडामा लिएर घाँसखेती थालेका हुन् ।

हामी दलित समुदायका महिलाले धमिलीकुवा बजारनजिकै झन्डै ४० रोपनी क्षेत्रफलमा घाँसखेती गरेर वार्षिक रूपमा दुई लाखभन्दा बढी कमाउँदै आएको मिलिजुली घाँस विकास स्रोत केन्द्रकी कोषाध्यक्ष ज्ञानुमाया नेपालीले बताइन् । उनका अनुसार उत्पादित घाँस लमजुङको गाउँमा मात्रै होइन छिमेकी जिल्ला तनहुँ, गोरखा, कास्कीसम्म पुग्ने गर्दछ ।

घाँस बिक्री केन्द्रसमेत स्थापना गरेका महिलाले आगामी वर्षमा थप अन्य केही जिल्लामा पनि घाँस बिक्रीका लागि पठाउने तयारी थालेको कोषाध्यक्ष नेपाली बताउँछिन् । ‘आफूजस्तै दलित महिलाको आर्थिक हैसियत उकास्न घाँस विकास केन्द्र खोलेका हौँ,’ उनले भनिन्, ‘संस्थामा जम्मा भएको रकमबाट दुःखमा परेका महिलाका लागि सहयोग गरिरहेका छौँ ।’

महिलाले स्टाइलो, मोलाटो, पासपलम, सिओफोर, मोलासेस, जईलगायतका एघार प्रजातिका घाँस उत्पादन गर्दै आइरहेका छन् । महिलाले घाँस बिक्रीबाट वार्षिक दुई लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । ‘विगत ७ वर्षदेखि घाँसखेती सुरु गरे पनि पछिल्लो समययता जिल्ला पशु सेवा कार्यालयको अनुदान सहयोग, बिउ–विजन, तालिमलगायतका सहयोग दिएको छ,’ संस्थाकी उपाध्यक्ष सुकमाया नेपाली भन्छिन्, ‘पशु कार्यालयको पनि सहयोग मिलेपछि समूहका महिला निकै उत्साहित भएर घाँसखेतीमा तल्लीन हुन थालेका छन् ।’

घाँसखेतीमा लागेका महिलाले घाँस बिक्रीबाट जम्मा भएको रकम छुट्टै कोषमा जम्मासमेत गरेका छन् । उनीहरूको कोषमा हाल पाँच लाखभन्दा बढी रकम सङ्कलन भएको मिलिजुली घाँस विकास स्रोत केन्द्रकी अध्यक्ष कमला नेपालीले बताइन् । घाँसखेतीबाट पशुपालनमा टेवा मिलेको र किसानको आम्दानीमा सहयोग पुगेकाले पशुसेवा कार्यालयले महिलालाई घाँसखेती विस्तारका लागि अनुदानसमेत दिँदै आएको छ । कार्यालयका वरिष्ठ पशु चिकित्सक डा. लक्ष्मण ढकालका अनुसार दलित महिलाको आर्थिक स्तर उठाउन कार्यालयले अनुदान दिन थालेको हो । उनले जिल्लाका अन्य किसानका लागि ४० देखि ५० हजारबराबरका घाँसको बिउ यही घाँस विकास केन्द्रबाट खरिद गर्ने गरेको बताए ।

समूहले विशेषगरी जई घाँसतर्फ बढी जोड दिएको महिला बताउँछन् । ‘घाँस वस्तुभाउलाई खुवाउन भइहाल्छ, यसको बिउबाट पनि थप आम्दानी हुन्छ,’ महिलाहरू भन्छन्, ‘जङ्गली जनावरले पनि दुःख नदिने, वस्तुभाउलाई पनि घाँस अभाव नहुने भएकाले राम्रो आम्दानी हुँदोरहेछ ।’ जई घाँसखेती गर्न पनि सजिलो छ । यसलाई एकपटक बारी जोतेर छरिदिए खासै हेरचाहसमेत गर्नु नपर्ने महिला बताउँछन् । ‘मल पनि खासै चाहिँदैन, मिहिनेत पनि बढी गर्नुपर्दैन,’ अध्यक्ष नेपालीले भनिन्, ‘अन्य बालीजस्तो बारम्बार हेरचाह र गोडमेल गर्नु नपर्ने भएकाले अरू काम भ्याउन सजिलो हुन्छ ।’

समूहले बेच्ने घाँसको बिउ लिन जिल्ला र जिल्लाबाहिरका किसान र कृषक समूह बारम्बार आउने गरेका छन् । वर्षेनी घाँसको बिउको माग र खेती क्षेत्रफल पनि बढेको समूहले जनाएको छ ।

– छविलाल बगाले