पत्रकार महासंघको महाधिवेशन शुरु हुँदै

पत्रकार महासंघको महाधिवेशन शुरु हुँदै


नेपाल पत्रकार महासंघको २५ औँ महाधिवेशन आज आइतबार १० बजे कमलादी (काठमाडौं)स्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा सुरु हुँदैछ । ‘व्यावसायिक पत्रकारिताको आधारः प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नाराका साथ हुने महाधिवेशनको प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कार्यक्रम छ ।
महासंघका अध्यक्ष महेन्द्र विष्टका अनुसार महाधिवेशनको सबै तयारी पूरा भइसकेको छ ।

भोली सोमबारसम्म चल्ने महाधिवेशनका लागि जिल्ला-जिल्लाबाट प्रतिनिधि राजधानीमा आइसकेका छन् । नयाँ नेतृत्वका लागि प्रत्येक तीन-तीन वर्षमा हुने महाधिवेशनले ४५ सदस्यीय नयाँ कार्यसमितिसमेत चयन गर्ने छ । बताइएअनुसार महाधिवेशनले अध्यक्ष, उपाध्यक्ष–२ महासचिव–१, सचिव–६ र कोषाध्यक्षसहित ४५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । महासंघलाई अब संघीय संरचनामा लैजान लागिएकोले यसपटकदेखि दलित, मधेशी सचिव पनि थपिएको संघले जनाएको छ ।

सात प्रदेशसहित उपत्यका, प्रतिष्ठान र एशोसिएट गरी १० प्रदेशमा नयाँ नेतृत्व चयन गरिने छ । प्रत्येकबाट दुईजना केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ । करिब १० हजार पत्रकार आबद्ध महासंघको यस महाधिवेशनमा एक हजार ५ सय १५ प्रतिनिधिको सहभागिता हुनेछ ।

यसै सिलसिलामा नेपाल पत्रकार महासंघको राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि हिजो शनिबारदेखि नै निर्वाचन प्रक्रिया शुरु भएको छ । शनिवार विहान १० बजेदेखि निर्वाचन कार्यतालिका शुरु भएको हो । निर्वाचन समितिका संयोजक चिरिञ्जीवी खनालले जानकारी गराएअनुसार उम्मेदवारी मनोनयन प्रज्ञा प्रतिष्ठान, कमलादीस्थित महाधिवेशन स्थलमा आइतबार दिउँसो १२ देखि ३ बजेसम्म हुने भएको छ । नयाँ नेतृत्वका लागि भोली सोमबार बिहान ९ बजेदेखि साँझ ३ बजेसम्म मतदानको समय तोकिएको छ । मतगणना भने महासंघको केन्द्रीय कार्यालय सञ्चारग्राममा हुने बताइएको छ ।