छप्रेको मृत्युले पढाएको पाठ

छप्रेको मृत्युले पढाएको पाठ


-वसन्तराज कुँवर
केटाकेटीमा हामी छाप भन्ने गाउँबाट शाङ्ला भन्ने टोलमा पढ्न जान्थ्यौँ । ढुङ्गाको उकालो चढेर गएपछि गुचमुच्च घरहरू भएको उक्त नेवारबस्ती पुगिन्थ्यो । सुकुलमा बसेर पढ्नुपर्ने त्यहाँको स्कुलमा छानो थिएन, त्यसैले पानी पर्दा छुट्टी हुन्थ्यो ।
जब स्कुल छुट्टी हुन्थ्यो, हामीलाई सधैं कुकुरले टोक्ला भन्ने काल्पनिक डरले सताउने गर्दथ्यो । हामीहरू अर्कै टोलबाट त्यहाँ पढ्न गएकाले र्फकने बेलामा स्थानीय केटाहरूले हामीहरूलाई कुकुर लगाएर तर्साउने गर्दथे । स्कुल छुट्टी हुनेबित्तिकै तिनले कुकुर लगाइदेलान् भन्ने डर हुन्थ्यो, त्यसैले डराई-डराई हामी त्यो टोलबाट चुपचाप बाहिरिन खोज्थ्यौँ । छिटो-छिटो नीलकाँडाघारीको बाटो हुँदै निस्कने खोजे पनि ती बद्मास केटाहरू पहिल्यै दौडिएर आफ्ना कुकुरहरू हामीमाथि लगाउन तयार भइसकेका हुन्थे । डराई-डराई टोल छोड्न खोज्ने हामीमाथि ‘लहै-लहै’ भन्दै कुकुर लगाउन थालेपछि विभिन्न आवाजमा भुक्दै थुप्रै कुकुर हामी हिँडेको बाटोतिर एकसाथ आउन थाल्थे । हामी सास रोकेर ढुङ्गाको ओरालो बाटोबाट दौडँदै तलतिर ओर्लन्थ्यौँ र आफूलाई सुरक्षित पाथ्र्यौं । डिलमा अझै थुप्रै कुकुर हामीहरूतर्फ हेर्दै पुच्छर हल्लाई-हल्लाई भुकिरहेका हुन्थे । हामी पनि सुरक्षित ठाउँमा आएपछि ती केटाहरूलाई सराप्थ्यौँ, तर भोलिको उही डर भने कायमै रहन्थ्यो ।
कुकुरसँगको यो नमीठो सम्बन्धले गर्दा म सानैदेखि त्यस प्राणीप्रति घृणा गर्दथेँ । गुलेली बोकेर चरा मार्न हिँड्दा जुन कुकुर देखे पनि गुलेलीले हानिदिन्थेँ । दुखेर कुकुर कुइँ-कुइँ गर्दा मलाई आनन्द आउँथ्यो । चुपचापसँग सुतिरहेको कुकुर देखे पनि म नजिकै गएर गुलेली हानिदिन्थेँ र चिच्याउँदै भाग्ने बनाइदिन्थेँ । यसरी मेरो जीवनमा एकताका कुकुर ज्यादै मन नपर्ने प्राणी भएको थियो ।
म कलेज पढ्ने भएपछि मेरी मुमाले एउटा कुकुरको छाउरो घरमा ल्याउनुभयो । त्यसको नाम पुन्टे राखियो । पुन्टेका आँखा भर्खरै खुलेको थिए । मुमा त्यसलाई काखमा राखेर दूध पिलाउनुहुन्थ्यो । त्यो कुकुर मलाई त मन परेको थिएन तर ऊ भने मेरो पछिपछि लागिरहन्थ्यो । जबर्जस्ती पछि लागेकोमा कहिलेकाहीँ मेरो लात पनि खान्थ्यो र भित्तामा निक्कै बेर कराउँथ्यो, तर एकैछिनमा मैले कुटेको बिर्सेर फेरि मेरो पछि लाग्थ्यो । दुश्मनलाई पनि क्षमादान दिने उसको यो खुवीले मलाई विस्तारै प्रभाव पार्न थाल्यो । पुन्टे सानो जातको कुकुर थियो र उसका हात-खुट्टाहरू बाङ्गा थिए । हेर्दै जरकट्टो प्रकारको त्यो कुकुरले मुमाको खुवै माया पाउँथ्यो तर मेरो भने लात खान्थ्यो । लात खाएको केही क्षणमै उसले मलाई क्षमा दिन्थ्यो ।
एक दिन घरबाहिर निस्कँदा अचानक एक सवारी साधनले किचेर पुन्टेको मृत्यु भयो । मुमा रुनुभयो । ‘यो कुकुर परिवारकै एक सदस्य थियो, त्यसैले यसको आत्मा यहीँ रहोस्’ भन्दै घरपरिसरको कल्की फूलको बोटमुनि त्यसलाई मुमाले मान्छेको झैं दाहसंस्कार गर्नुभयो । पुन्टे मरेपछि मुमा ज्यादै दुःखी हुनुभयो । मलाई पनि कता-कता पुन्टेका व्यवहारहरू दिमागवरिपरि घुमिरहन थाल्यो । कता-कता मलाई पनि पुन्टेको अभाव महसुस हुन थाल्यो । त्यसमा भएका असल गुणहरू मेरोवरिपरि सम्झना बनेर आउन थाले । केटाकेटीमा मलाई तर्साउने कुकुरका व्यवहारमाथि अर्को पाटोबाट पनि सोच्न मलाई पुन्टेले बाध्य तुल्यायो ।
मुमा निक्कै दिन दुःखी हुँदै पुन्टेको कुरा गरिरहेको अवस्था देखेपछि मेरो भाइले कतैबाट सानो खैरो रङ्गको छाउरो ल्याएर मुमालाई दियो । डाइमण्ड नामको त्यो दोस्रो कुकुरप्रति पहिलाको जस्तो घृणाभाव त मैले राखिनँ तर शाङ्ला टोलका कुकुरहरूले सानोमा दुःख दिएको मैले बिर्सन सकेको थिइनँ ।
डाइमण्ड नामजत्तिकै सुन्दर थियो । सुनौलो रङ्गको सानो त्यो कुकुरको घाँटीमै सिंहको जस्तो बाक्ला रौं थिए । मैले डाइमण्डलाई पुन्टेलाई जस्तो लात हान्न सकिनँ । उसलाई मैले व्यवहारले पनि माया देखाउन थालेँ । डाइमण्ड घरमा आउँदा मेरो विवाह पनि भर्खरै भएको थियो । मेरी श्रीमती पनि पशुपक्षीलाई माया गर्ने भएका कारण डाइमण्डलाई मबाहेक अरूब्ाँट माया पाउने माहोल हासिल भयो । त्यसबखत म प्रहरीमा थिएँ । घरमा र्फकँदा मेरो मोटरसाइकलमा उफ्रेर डाइमण्डले माया देखाउन खोज्थ्यो । कहिलेकाहीँ म उसलाई बोकेर आफ्नो मोटरसाइकलको ट्याङ्कीमा राखी पनि दिन्थेँ । उसलाई त्यति पनि पुग्थेन र मेरो मुख चाट्नुपथ्र्यो । ज्यादै गरेपछि म फेरि उसलाई झारिदिन्थेँ । अहिले डाइमण्ड यो संसारमा छैन, तर पनि त्यो कुकुरले मलाई केही खुसीहरू पनि दिएर गयो, साथसाथै शाङ्लाका डरलाग्दा कुकुरहरू पनि वास्तवमा राम्रै थिए कि भनेर डाइमण्डले मलाई सोच्न बाध्य बनाएर गयो ।
जागिरको सिलसिलामा म गोर्खामा हुँदा एउटा भालुको बच्चाझैं लाग्ने भोटेकुकुरको छाउरो मेरो जीवनमा आयो । त्यसको नाम मैले भुन्टे राखेँ । त्यसलाई म निक्कै माया गर्थें तर त्यो सानैमा मर्‍यो । भेटेनरी डाक्टरको लापरबाहीले यो कुकुर मर्‍यो भन्ने मलाई लाग्यो र मैले डाक्टरमाथि आक्रोश पनि पोखेँ । त्यो कुकुरको बच्चाले पहिलोपटक मलाई कुकुरको जीवनका लागि मान्छेसँग झगडा गर्ने बनायो । जुन प्राणीलाई जहाँ देख्दा पनि म गुलेली हान्ने गर्दथेँ त्यसैलाई रक्षा गर्न नसकेको भन्दै म डाक्टररूपी मान्छेसँग झगडा गर्दै थिएँ । त्यस दिन मलाई थाहा भयो कि कुकुरप्रतिको मेरो दृष्टिकोणमा परिवर्तन आइसकेको रहेछ ।
गोरखाको त्यो भुन्टे कुकुरको सम्झना मलाई पछिसम्म पनि आइरह्यो । एसपी भएर हेटौंडामा बस्दा मेरो परिवारमा दुईवटा सेतो रङ्गका जापानी स्पिच भनिने कुकुरहरू आए । पोथी कोलकाताबाट झिकाइएको थियो र भाले बिहारको पटनानजिक छपरा भन्ने ठाउँबाट ल्याइएको थियो । कोलकाताबाट ल्याइएको पोथीको नाम हामीले ‘क’बाट कान्छी राख्यौँ र छपराबाट आएको भालेलाई ‘छप्रे’ नाम दियौँ । कान्छी र छप्रे हाम्रो परिवारका अभिन्न हिस्सा बने । ती दुईमा बहुतै प्रेम थियो । कहिल्यै एक-अर्कासँग छुट्टँिदैनथे । कान्छीलाई खुबै नखरा पनि देखाउनुपथ्र्यो । उसलाई प्रत्येकले ध्यान पुर्‍याइरहेको हुनुपथ्र्यो भने छप्रेचाहिँ गम्भीर मिजासको थियो । चकचक गर्न उसलाई मन पर्थेन । हामी बाहिरबाट आउँदा उनीहरू कोलाहाल मच्चाउँथे, छोएर वा कन्याइदिएपछि मात्र ती चुप लाग्थे । उनीहरूका लागि हाम्रो ओच्छ्यान, बैठक, कार्यालय कहीँ रोकटोक थिएन । खोरमा जानु भनेपछि खुरुक्क दुवै त्यता जान्थे । यसरी कान्छी र छप्रे हाम्रो परिवारको अहम् हिस्सा बने । तिनीहरू जीवनमा आएपछि मलाई लाग्न थाल्यो- जीवनको सुरक्षामा मात्र होइन मानिसलाई खुसी दिने कुरामा पनि यी कुकुरले महत्त्व राख्दछन् । झन्डै १२ वर्ष ती दुवै हाम्रो परिवारका सदस्य बने, थुप्रै बालबच्चा जन्माए र हालै कुसेऔंसीको दिन छप्रेको दुःखद् मृत्यु भयो । उसको मृत्यु मेरा लागि ज्यादै पीडादायी बन्यो ।
छप्रे केही समयदेखि ज्यादै खोकिरहेको थियो । अस्पताल लगेँ, र्सर्ुइ दिइयो, तर ऊ बचेन । काखमा राखेर पानी पिलाउनेबित्तिकै मेरै काखमा उसले अन्तिम सास लियो । उसको मृत्युले मलाई एकछिन विचलित तुल्यायो । १२ वर्षसम्म हामी सँगै बस्यौँ । छुट्टनिे क्षण गाह्रै हुँदोरहेछ । हरेक पल उसलाई साथ दिने कान्छी पनि उसको मृत शरीरवरिपरि घुमिरही, आफ्नो मृत ‘पति’लाई सुँघिरही । बडो हृदयविदारक थियो त्यो क्षण । छप्रे भुइँमा लडेको थियो, कान्छी त्यहीँ नजिक वरिपरि घुमिरहेकी थिई । छप्रेको मृत्युपछि मैले मुमाको कुरा सम्झेँ र उसको शवलाई आफ्नै घरको एक रूखमुनि गाड्न पठाएँ । त्यस दिनभरि कान्छीले यताउता दौडिएर छप्रेलाई खोजिरही । त्यस दिन कान्छीले केही खाइनँ । सधैँ चकचक गर्ने कान्छी त्यस दिन चुपचाप बसिरहेकी थिई । प्रत्येक क्षण उसको आँखाले छप्रेलाई नै खोज्ने गर्दथ्यो ।
छप्रेको मृत्युसँगै मैले पनि घरमा एक रिक्तता महसुस गरेँ । बच्चादेखि वृद्ध हुन्जेल उसले देखाएका व्यवहारहरूले म पनि ऊप्रति भावनात्मक ढङ्गले निर्भर भइसकेको रहेछु । पूरै दिन र रात पनि म शान्त र एकाग्र हुन सकिनँ । यो सूचना अमेरिकामा गोष्ठीमा भाग लिन गएकी श्रीमतीलाई दिन पनि मलाई कठिन भइरहेको थियो । मलाई थाहा थियो, खबर पाएपछि उनी रुनेछिन् । मैले उनलाई विदेशमा रुवाउन चाहिनँ ।
छप्रेको मृत्यु भएको आज केही दिन बित्यो, तर मेरो मन अझै उसलाई खोजिरहेको छ । छप्रेलाई जीवनभर अब बिर्सन सक्दिनँ पनि होला । कान्छी निक्कै सुस्त भएकी छे । उसमा पनि पहिलेजस्तो जोस छैन । एक-अर्कालाई ज्यादै माया गरेर बसेकाले अब कान्छी पनि नबाँच्ने हो कि भन्ने पीर बढेको छ । छप्रेको मृत्युले मेरो घरमा अहिले एक प्रकारको दुःख निम्त्याएको छ । कुकुर वास्तवमै मानिसको सच्चा साथी हुँदोरहेछ । मैले बचपनमा गुलेली हानेर कुकुरहरूलाई पीडा पुर्‍याएको घटना सम्झँदा अहिले मलाई खुब दुःख लागिरहेछ । छप्रेको मृत्युले मलाई यो पाठ पढायो कि कुकुरलगायत प्रत्येक प्राणी मानव-जीवनको अभिन्न अङ्ग पो रहेछन् ।