‘रातो डायरी’ सार्वजनिक

‘रातो डायरी’ सार्वजनिक


आख्यान विधाअन्तर्गतको लघुकथा विधाको उन्नयनका लागि गएको लामो समयदेखि सक्रिय रहँदै आएको संस्था लघुकथा समाजले भदौ ४ देखि ६ सम्म त्रिदिवशीय नवौँ लघुकथा दिवस मनाइरहेको छ । नबौँ लघुकथा दिवसको पहिलो दिन आज आइतबार समाजले एक कार्यक्रमको आयोजन गरी लघुकथाकार सीताराम नेपालको पहिलो लघुकथा संग्रह रातो डायरी सार्वजनिक गरेको छ ।

विमोचन कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ समालोचक प्राध्यापक मोहनराज शर्माले विमोचित कृतिमाथि आफ्ना विचार राख्दै लघुकथा लेखनका केही मूलभूत सैद्धान्तिक विषयहरुको चर्चा गरे । प्रा. शर्माले सानो लेख्दैमा त्यो लघुकथा नहुने भन्दै लघुकथाले पाठकलाई पूर्णतः प्रभावित पार्नुपर्नेमा जोड दिए ।

वरिष्ठ नाट्यकर्मी अशेष मल्लले सिर्जनशील व्यक्तिका लागि साहित्यमा अथाह सम्भावना भएको उल्लेख गर्दै लघुकथामा भाव र शिल्प पनि प्रचुर मात्रामा हुनुपर्ने बताए ।

प्राडा कपिल लामिछानेले विमोचित पुस्तकको साङ्गोपाङ्ग चिरफार गर्दै सङ्ग्रहका लघुकथाहरू चुटकिला हुनबाट बचेको उल्लेख गरे ।
लघुकथा समाजका अध्यक्ष एवम् साहित्यकार श्रीओम श्रेष्ठ रोदनको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा विमोचित लघुकथा संग्रहका लेखक सीताराम नेपाल, डा. पुष्करराज भट्ट, सुमन सौरभ र तुलसीहरि कोइरालाले आ–आफ्ना विचार राखेका थिए ।