स्वास्थ्यसचिवले किन गरिन् आनाकानी ?

स्वास्थ्यसचिवले किन गरिन् आनाकानी ?


-बलराम चौलागाईं
पङ्क्तिकारद्वारा लिखित हालसालै प्रकाशित ‘स्वास्थ्यसम्बन्धी लेखहरूको सङ्ग्रह’ नामक किताब स्वास्थ्य सेवाको क्षेत्रमा एउटा ऐतिहासिक कोसेढुङ्गा सावित हुने प्रतिक्रिया सुरुदेखि नै पाएको थिएँ । चिकित्साशास्त्रमा प्रमाणपत्रस्तरको कोर्स पास गरेर आधुनिक चिकित्साको फाँटमा हेल्थ असिस्टेन्डको सरकारी बिल्ला भिरेर झन्डै ३७ वर्षको अवधिमा देशका झन्डै ६० जिल्लाका स्वास्थ्यचौकी, केन्द्र, अस्पताल र जनस्वास्थ्य कार्यालयहरूमा पुगेर स्थलगत अनुभवमा आधारमा तयार पारिएका मेरा लेखहरू तत्कालीन परिवेशमा आधिकारिक, अद्यावधिक र जनपक्षीय छन् । तराई, पहाड, हिमालका अतिरिक्त मुलुकका सुगम-दुर्गम स्थानहरूको अनुभव संगालेर तयार पारिएको लेखहरूको सङ्ग्रह आजसम्मको स्वास्थ्य क्षेत्रको ऐतिहासिक दस्तावेज हो भन्दा फरक पर्दैन । छैटौँ योजनाको पूर्वार्द्धदेखि हालसम्मका स्वास्थ्यका गतिविधिहरू जस्ताको तस्तै उतारेर तत्कालीन परिवेशमा विभिन्न छापामाध्यमहरूमा प्रकाशित गराई जनता जनार्दनहरूलाई सुसूचित गराइएका लेखहरूको पुष्पहार स्वास्थ्य क्षेत्रको मात्र नभएर सिङ्गो समाजको दर्पण हो । त्यही दर्पण अगाडि बसेर तत्कालीन मन्त्री, सचिवलगायत अन्य निर्णायक तहका ‘टाउके’हरूले आफ्नो मैलिएको अनुहार सजिलै हेर्न सक्दछन् । यो कुरा म आफैंले भन्नुभन्दा पनि प्रिय पाठकवृन्दले पढेर भन्ने विषय हो । मूलतः स्वास्थ्यचौकीहरूमा बसेर काम गर्दा र जागिरको पछिल्लो अवधिमा राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना र सञ्चार केन्द्रमा काम गर्दाको तीतोमीठो अनुभव पाठकसामु पस्केको छु ।
३० वर्षको समयावधि लगाएर तयार पारेको स्वास्थ्य व्यवस्थापनसम्बन्धी किताबमा स्वास्थ्य तथा जनसङ्ख्या सचिवको मन्तव्य राख्दा उपयुक्त हुने ठहर गरी मैले आफ्नो दुई शब्द लेखिदिन किताबको अन्तिम पाण्डुलिपि तयार गरेर ३/४ दिनको प्रयासपछि स्वास्थ्य तथा जनसङ्ख्या सचिव डा. सुधा शर्मालाई अनुरोध गरेँ । केही दिनपछि ठूलो प्रयत्नपश्चात् डा. सुधा शर्माको दर्शन पाएँ । मलाई देख्नासाथ ‘तपाईंले राष्ट्रपतिलाई अपहेलना गरेर किताब लेख्नुभएको रहेछ, हाम्रो मन्त्रालयलाई पनि दोषी ठहर्‍याउनुभएको रहेछ, त्यस्तो किताबमा मन्तव्य देखिदिन अरूलाई नै देखाउनुहोस्, मबाट त्यो काम हुन्न’ भन्ने उहाँका कर्कसवाणी अझै मेरा कानमा गुञ्जिरहेका छन् । त्यसपछि विनम्र भावमा पुनः अनुरोध गर्दै भनेँ, ‘डाक्टर साहेव, किताबमा निहित भावहरू मेरा निजी हुन्, यसमा व्यक्त भावनाहरूसँग हजुरको जिम्मेवारी रहन्न, हजुरलाई जे मन लाग्दछ त्यही लेख्ने छुट हजुरमै छ ।’ यति भन्दा पनि उहाँको विचार नबदलिनुमा धेरै कुराको आभास मिल्दछ । प्रथमतः उहाँ गिरिजा कोइरालाको नजिककी नातेदार भएर र कुनै सम्भ्रान्त परिवारकी सदस्य पनि भएकोले उहाँमा अहम्को भावना रहेको मैले पाएँ । उहाँ मेरो कुरा सुन्ने विचारमा त हुनुहुन्नथ्यो तै पनि जे-जस्तो भए पनि स्वास्थ्य जनसङ्ख्या मन्त्रालयको प्रशासनिक लगाम समातेर बसेको मानिस भएकोले उहाँको मुख्य प्रशासक माझ पुर्‍याउँदा लथालिङ्ग स्वास्थ्य व्यवस्थापनमा सुधारका केही रेखाहरू कोरिन्छन् कि भन्ने मेरो आस रहेको थियो । यसबीचमा कोइराला खानदानकी, पढेलेखेकी, उच्चओहोदामा पुगेकी सुधामा मैले सामन्तवादको अवशेष रहेको पाएँ । त्यतिखेरै मलाई ‘उपकारी गुणी व्यक्ति निहुरन्छ निरन्तर, फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र’ भन्ने कवि लेखनाथ पौड्यालको कविताको अंश र कवि भूपि शेरचनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ भन्ने वाक्यांशको पनि याद आयो । म सेवाबाट निवृत्त हुनुपूर्व राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना र सञ्चार केन्द्रमा काम गर्दा मेरो व्यक्तिगत प्रयासमा गोरखापत्र दैनिकसँग आधा पेज निःशुल्क स्वास्थ्यसम्बन्धी चेतनामूलक र लोककल्याणकारी सामग्री करिब ६/७ महिनासम्म अविछिन्न चलाएको पनि थिएँ । त्यसक्रममा प्रसूतिगृहको नालीबेली लेखेर उहाँका विचारहरूसमेत समेटेको नाताले पनि उहाँले मलाई चिन्नुहुन्थ्यो । त्यस नाताले पनि मेरो किताबमा मन्तव्य लेखिदिनुहुन्छ कि भन्ने आशा रहेकोले मैले अनुरोध गरेको हुँ । तत्कालीन स्वास्थ्यमन्त्री डा. रमवरण यादव बहुदल आएपछि धेरैपटक स्वास्थ्य मन्त्रालयको वागडोर समाउने व्यक्ति बन्नुभयो । उहाँ स्वास्थ्यमन्त्री, म स्वास्थ्यको एउटा सामान्य कर्मचारी, उहाँको र मेरो भेटघाट चिनजान केही थिएन । म आफू स्वास्थ्यकर्मी र स्वास्थ्यको स्तम्भकार भएकोले कसको कारणले स्वास्थ्यको कुन क्षेत्रमा प्रभाव पर्‍यो, यसले राष्ट्रका लागि कति हानि पुर्‍याउँछ, यस्तो राष्ट्रघाती काम गर्नुहुन्न भनेर लेख्ने, पत्रपत्रिकाहरूमा छपाउने काम मबाट हुन्थ्यो । डा. रामवरण यादव, जो अहिले राष्ट्रपति पदमा हुनुहुन्छ, उहाँको कार्यकालमा हेल्थ असिस्टेन्टबाट एमबीबीएस गर्ने व्यावहारिक मेडिकल विद्या पढ्ने अति राम्रो व्यवस्था राज्यबाट सदाका लागि हट्यो । त्यति मात्र नभएर रामवरणजीको बिहारीशैलीको सिकार भएर स्वास्थ्यका धेरै संरचना भत्किएका हुन् । सार्वजनिक पद धारणा गरेको कुनै पनि व्यक्तिले बिँडीसम्म भए पनि घुस नखाई काम नगर्ने बिहारी वातावरणको सेरोफेरोमा हर्ुर्के-बढेका तत्कालीन स्वास्थ्यमन्त्री रामवरण यादवजीले गरेका कृत्यहरूलाई सरर्सर्ती व्याख्या गर्दा, त्यो पनि अहिले नभएर तत्कालीन परिवेशमा, त्यसमा प्रजातान्त्रिक माहोलकी सुधालाई टाउको दुख्नुपर्ने कुरो त पक्कै थिएन । स्वास्थ्यमन्त्रीद्वय डा. रामवरण यादव र डा. उपेन्द्र देवकोटा चिकित्सक भएर पनि आमजनताको स्वास्थ्यको सरोकारप्रति त्यति चासो राखेनन् भन्ने आसययुक्त लेखहरूको सङ्ग्रहप्रति डा. सुधाको मन कुँडिएको हुन सक्छ, तथापि र्सर्ूयलाई हत्केलाले छेकेर छेकिन्न भन्ने कुरा सुधालगायत सबैले बुझनुपर्ने हो । जे होस्, चिकित्सा विज्ञान पढेर स्वास्थ्य तथा जनसङ्ख्या सचिवसमेत हुन पुगेकी डा. सुधा शर्मालाई मैले बुझेसम्म भ्रष्ट र अनैतिक त होइनन् तथापि उहाँबाट यसअघिको जीर्ण स्वास्थ्य प्रशासनलाई सुधार गर्ने काम होला जस्तो लाग्दैन ।
सचिवजस्तो गरिमामय पदमा पुगेको व्यक्तिमा सर्वप्रथम मुलुकको भौगोलिक विविधता, यहाँको सामाजिक-आर्थिक संरचनाको राम्रो ख्याल हुनुपर्छ । घेरो फाटेको टोपी लगाएर अहोरात्र पसिना बगाउँदै पनि छाक टार्न नपुग्ने, छाप्रोमा मुन्टो लुकाउनसमेत धौ-धौ पर्ने जनताले तिरेको करबाट तलबभत्ता खाने उपल्लो प्रशासकले तिनै जनताको पक्षमा लेखिएको किताबमा दुई शब्द व्यक्त गर्न नसक्नु कहाँसम्मको लज्जास्पद विषय हो त † उनले मन्तव्य लेखिनन्, किताब प्रकाशित भयो, यसअघि आधुनिक चिकित्सा सेवासँग सम्बद्ध लगभग डेढ सयजति मुद्दाहरू समावेश छन् । किताबभित्र रहेका विचारहरू कहीँकतैबाट नक्कल गरिएका छैनन् । गाउँको नजिकको स्वास्थ्यकर्मीको नाताले जे देखियो त्यो जस्ताको त्यस्तै किताबमा उतारिएको मौलिक किताब जान्नेका लागि ‘श्रीखण्ड’ हो भने मूर्खका लागि ‘खुर्पाको बिँड’ हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय हाँक्न भनेर यतिखेर एकजना मन्त्री, एकजना राज्यमन्त्री र दुईजना सचिवलाई भोका, नाङ्गा र निर्धन नेपालीले कर तिरेर पालिरहेका छन् । कुरो फेरि पनि बिहारीशैलीकै आउँछ । अहिलेका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उमाकान्त चौधरी पनि तत्कालीन स्वास्थ्यमन्त्री रामवरणभन्दा बढी भ्रष्ट र अनैतिक भएको चर्चा सर्वत्र छ । बरु भन्नैपर्दा वर्तमान स्वास्थ्य राज्यमन्त्री खड्गबहादुर बस्याल भने शालीन, सौम्य र नीतिवान रहेको कुरा देख्न, सुन्न र बुझन पाइएको छ । तर, के गर्नु, सुधाजस्तो घमण्डी सचिव र उमाकान्त चौधरीजस्ता भ्रष्ट मन्त्रीका अगाडि बस्यालजीको के लाग्दछ र † अर्का एकजना डेन्टिस्ट डाक्टर पनि सचिव भएका छन् क्यारे, उनको विषयमा त्यति ख्याल छैन । शिक्षापछिको दोस्रो लगानी स्वास्थ्यमा खनिएको छ, तर शासनको वागडोर समातेर कहिले रामवरण, कहिले उपेन्द्र देवकोटाजस्ता सङ्कीर्ण व्यक्तिहरूका हातमा पुगेकोले आमनागरिकले राज्यका तर्फबाट स्वास्थ्य सेवा पाउन सकेका छैनन् । स्वास्थ्य तथा जनसङ्ख्या व्यवस्थापनका लागि दातृ निकायहरूले साधन र स्रोतको खोलो बगाएका छन् भने यस क्षेत्रका लागि राष्ट्रिय ढुकुटीबाट पनि अपार लगानी हुने गरेको छ । यो सब हुनुको पछाडि हाम्रो स्वास्थ्य सेवाको स्तर माथि उठ्नुपर्ने हो । एकातिर निःशुल्क स्वास्थ्य सेवाको एकोहोरो राग सरकार अलाप्दै छ भने अर्कोतिर निर्धन, निमुखा र आवाजविहीन नागरिकले सामान्य स्वास्थ्य सेवाका लागि बारीको पाटो बेच्नु परिरहेको छ । त्यस्तै जनसङ्ख्या, विकास र वातावरणीय सन्तुलनलाई एकाकार गरेर राष्ट्र विकासको सोपान तय गर्नुपर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका टाउकेहरू अझै नातावाद, कृपावाद र भ्रष्टाचारको दलदलमा फसेका छन् । स्वास्थ्यमा लगानीको छेलोखेलो छ तापनि व्यवस्थापन नमिलेर यस क्षेत्रको लगानी बालुवामा पानी हालेसरह बन्न पुगेको छ । यस्ता विषयहरूप्रति कटाक्ष गरिएको मेरो किताबभित्र विगत ३० वर्षदेखिका मुद्दाहरू समावेश छन् । यसभित्र समस्या र समाधानका दुवै पाटाहरू समावेश गरिएका छन् । यसलाई पढेर स्वास्थ्य सेवाको भूत, भविष्य र वर्तमान अध्ययन सहजै गर्न सकिने कुरामा द्विविधा छैन ।