– प्रथा

भँवराका उन्मत्त जवानीहरूबाट
कुमारित्व बचाउन
रक्षात्मक युद्ध लडिरहेछन् – यौवना फूलहरू !
आफ्नै रहरका मैदानहरूमा
वसन्त ओराल्न
पुर्खेउली युद्ध लडिरहेछन् – शिशीरका रित्ता डालीहरू !
आकाशको सिमाना नाघेर
उचाई भेटाउन
दिगम्बर युद्ध लडिरहेछन् – पहाडका चुचुराहरू !
र बादलका वैंशालु झुण्डहरूसँगै
झरीको गीत गाउन
आद्रताको युद्ध लडिरहेछन् – विद्रोही साउनहरू !
उत्सर्जनका घातक विकिरणहरूबाट
स्नेही धर्ती बचाउन
सुरुङ युद्ध लडिरहेछ – यो निमोनियाग्रस्त वायुमण्डल !
किनाराका मूर्ख चट्टानहरूसँग
गन्तब्य भेटाउन
वर्गयुद्ध लडिरहेछिन् – माईत जाँदै गरेकी इन्द्रावती !
आफ्नै इतिहासको कालीमा विरुध्द
जीवनको रङ खोज्न
पहिचानको युद्ध लडिरहेछ – यो आदिबाशी इन्द्रेणी !
र रक्तपिपासु स्ट्याचुका विरुध्द
मदीनाका पैगम्बरहरू
ट्वीन टावर पड्किरहेछन्, ड्वाङ् ! ड्वाङ् !
निल गगनका किन्नरीहरूसँगै
वायुपंखी चढेर
अनवरत युद्ध लडिरहेछन् – प्रेम योद्धाहरू !
गतिहीन समयको उर्दी विरुध्द
फ्रेमभित्रै उभिएर
शीत युद्ध लडिरहेछन् – घडीका छापामार काँटाहरू !
सपनाको साँघुरो क्षितिज विरुध्द
जडताको बाँध भत्काउँदै
विचारको युद्ध लडिरहेछ – यो मष्तिस्कको चेतना !
र एउटा अँध्यारो आतङ्क विरुध्द
सूचना पार्कमा बसेर
साइवर युद्ध लडिरहेछन् – उज्यालो खोजिरहेका जुनकिरीहरू !
तिमी भन्छौ,
युद्धले मान्छेलाई दानव बनाउँछ !
युद्ध नहुँदो हो त –
कसरी फुल्थे डालीमा फूलहरू ?
र कसरी मुस्कुराउँथ्यो – यो धर्तीमा वसन्त ?
कहाँबाट बर्सन्थ्यो साउनको झरी ?
र कहाँबाट ओरालो झर्थ्यो – नदीको पानी ?
कसरी नापिन्थ्यो समयको गति ?
र कसरी घुम्थ्यो होला – श्रृष्टीको बाटुलो चक्र ?
किन देखिन्थ्यो सप्तरङ्गी इनद्रेणी ?
र किन सल्कन्थे मष्तिस्कमा – चेतनाका दियालाहरू ?
युद्ध – जीवनको गतिशीलता हो !
युद्ध – स्वाभिमान रक्षाको संकल्प हो !
र युद्ध – प्रकृतीको साश्वतः नियम हो !
बस् !
यहि नै हो
तिमी र म बिचको भिन्न दृष्टिकोण !!
प्रतिक्रिया