दुई प्रधानमन्त्रीको गोप्य भेटवार्ता हुँदा एसडी मुनी सशङ्कित

दुई प्रधानमन्त्रीको गोप्य भेटवार्ता हुँदा एसडी मुनी सशङ्कित


भारतमा नेपाल मामिलाका जानकारका रूपमा समेत लिइने प्राध्यापक एसडी मुनी नेपाल र भारतका प्रधानमन्त्रीबीच एकल–वार्ता भएपछि सशङ्कित भएका छन् ।

गत बुधबार (भदौ ७ गते) प्रधानमन्त्री शेरबहादुर देउवा नयाँ दिल्ली पुगेकै दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपाली समकक्षी देउवाबीच अप्रत्याशित रूपमा एकल वार्तालाप भएको थियो । सो वार्तालापमा भएका कुराकानीबारे अहिलेसम्म दुबै पक्षले जानकरी गराएका छैनन् ।

यस घटनाबाट नेपालभित्र कतिपयलाई सशङ्कित एवम् चिन्तित तुल्याएको छ । तर नेपाल भित्रभन्दा भारतमा बसेर नेपाललाई धर्मनिरपेक्षतासहित सङ्घीय गणतन्त्रात्मक मुलुकमा रुपान्तरण गर्न सक्रिय र निर्णायक भूमिका निर्वाह गर्नेहरूमा यस घटनाले ज्यादा छटपटी पैदा भएको पाइएको छ ।

भारतमा काङ्ग्रेसको सरकार हुँदा प्रणव मुखर्जी, श्याम शरण, एसडी मुनी, टी हर्मिज र वामपन्थी नेता सीताराम येंचुरीलगायत नेपाललाई धर्मनिरपेक्षतासहितको सङ्घीय गणतन्त्रात्मक मुलुक बनाउन विशेष रुपले सक्रिय भएका थिए । यसरी सक्रिय हुनेहरू मोदी र देउवाबीचको एकल वार्तालापबाट सशङ्कित र त्रसित भएका हुन् ।

एसडी मुनीले गरेको ट्वीटले पनि यसैको कुराको सङ्केत गर्दछ । नेपाल कतै हिन्दुराष्ट्र बन्छ कि भन्ने चिन्ताग्रस्त मानसिकता प्रस्तुत गर्दै मुनीले गत बुधबार लेखेका थिए– ‘आशा गरौँ, देउवा र मोदीबीचको एकल वार्तालाप राजतन्त्रअन्तर्गत हिन्दुराष्ट्र बनाउनका लागि थिएन ।’ सुखदेव (एसडी) मुनीले ट्वीट मार्फत यसरी आफ्नो चिन्ता जाहेर गरेपछि नेपाललाई धर्मनिरपेक्ष बनाउने भारतीयमा पैदा भएको छटपटि उजागर भएको छ ।