दक्षिण कोरियालाई १–० ले पराजित गर्दै दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा

दक्षिण कोरियालाई १–० ले पराजित गर्दै दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा


दक्षिण कोरियालाई पराजित गर्दै दक्षिण अफ्रिका फिफा विश्वकप २०२६ को नकआउट चरणमा पहिलो पटक प्रवेश गरेको छ ।

मेक्सिकोको मोन्टेरे स्टेडियममा आज (११ असार) भएको समूह ‘ए’ अन्तर्गत अन्तिम खेलमा दक्षिण कोरियालाई १–० ले पराजित गर्दै दक्षिण अफ्रिका नकआउट चरणमा पहिलो पटक प्रवेश गरेको हो ।

दक्षिण अफ्रिकाको जितमा थापेलो मासेकोले गोल गरे । उनले खेलको ६३औँ मिनेटमा गरेको एक गोल नै दक्षिण अफ्रिकाको निर्णायक गोल सावित भयो । चौथोपटक विश्वकप खेलेको दक्षिण अफ्रिकाले पहिलोपटक समूह चरण पार गरेको हो । यसअघि सन् १९९८, २००२ र २०१० मा विश्वकप खेलेको थियो तर समूह चरण भने पार गर्न सकेको थिएन ।

जितसँगै दक्षिण अफ्रिका समूह ‘ए’ मा ४ अङ्कसहित उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । यसै समूहमा रहेको मेक्सिको समूह विजेता बन्दै नकाउट चरणमा पुगिको छ ।

आजै भएको अर्को खेलमा मेक्सिकोले चेकियालाई ३–० ले हराएको थियो । दक्षिण कोरिया ३ अङ्कसहित तेस्रो र चेकिया १ अङ्कसहित पुछारमा रह्यो ।