नेपाल र भारत दुवैतर्फ तटबन्ध बनाउन सुझाव

नेपाल र भारत दुवैतर्फ तटबन्ध बनाउन सुझाव


बाँध सरोकार राष्ट्रिय मञ्चद्वारा राजधानीमा ‘भारतद्वारा निर्मित सीमावर्ती बाँध तथा तटबन्ध संरचनाले पारेको असर र प्रभावु विषयक अन्तरक्रियात्मक गोष्ठी आयोजना गरिएको छ । आज बबरमहलमा आयोजित कार्यक्रमका सहभागीहरुले नेपाल र भारत दुवै पक्षका जनतालाई डुबानबाट मुक्ति पाउनका लागि दुवै ठाउँमा तटबन्ध बनाउनु पर्ने तर्क अघिसारे । बाँधका कारण वर्षेनी दुवै पक्षका जनता डुबानमा पर्ने गरेको बताउँदै दुवै देशको समन्वयमा डुबान प्रभावित क्षेत्रमा तटबन्ध बनाउनु पर्नेमा वक्ताहरुले जोड दिएका हुन् ।

अन्तरक्रिया कार्यक्रममा व्यवस्थापिका–संसद् विकास समितिका सभापति रवीन्द्र अधिकारीले दुवै पक्षका जनता डुबानबाट सुरक्षित हुने गरी तटबन्ध बनाउनु पर्ने सुझाव दिँदै भारत पक्षले बनाएको बाँधका कारण वर्षेनी दुवै देशका जनता डुबानमा पर्ने गरेको आरोप लगाए । उनले दुई देशबीच संयन्त्र बनाई डुबान प्रभावित क्षेत्रका जनतालाई बचाउन तटबन्ध निर्माण गर्नुपर्नेमा जोड दिए ।

वर्षेनी राहत सामग्री बाँड्नुको सट्टा दीर्घकालीन समाधानको बाटो अपनाउनु पर्छ भन्दै उनले डुबानप्रभावित क्षेत्रमा तटबन्ध बनाउन सके दुवैतर्फका सीमा क्षेत्रका जनताको सुरक्षा हुने तर्क गरे ।

यस्तै, सांसद वैजनाथ चौधरीले भारत पक्षले बनाएको बाँधका कारण नेपाली वर्षेनी डुबानमा पर्ने गरेको उल्लेख गर्दै दीर्घकालीन समाधानको उपाय अपनाउनु पर्ने बताए । उनले गण्डक बाँधका कारण तीन पुस्ता डुबानमा परेको भन्दै भारत सरकारले डुबानमा परेका नेपालीलाई क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने धारणा राखे ।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका सदस्य गोविन्द शर्मा पौडेलले भारतीय पक्षले एकतर्फी बनाएको बाँधका कारण तराई क्षेत्रमा स्वास्थ्य, शिक्षा र कृषिमा असर परेको बताए भने सीमाविद् बुद्धिनारायण श्रेष्ठले नेपाल र भारत पक्ष मिलेर संयन्त्र बनाएर डुबानप्रभावित क्षेत्रमा तटबन्ध बनाउनु पर्ने धारणा अघि सारे ।

प्राध्यापक रतन भण्डारीले ‘सीमावर्ती बाँधले स्थानीय जनताको जीविकोपार्जनमा पारेको असर’ बारे कार्यपत्र प्रस्तुत गर्दै भारतले अन्तर्राष्ट्रिय नियम विपरीत बनाएका बाँधका कारण हजारौँ नेपाली डुबानमा पर्ने गरेको भन्दै डुबानबाट रोक्नका लागि तटबन्ध बनाउनुपर्नेमा जोड दिए ।