राजेशको ‘पाइला आफ्नै आफ्नै’ लोकार्पित

राजेशको ‘पाइला आफ्नै आफ्नै’ लोकार्पित


पत्रकार राजेश खनालद्वारा लिखित व्यक्तिवृत्त संग्रह ‘पाइला आफ्ना आफ्नै’ लोकार्पण गरिएको छ । साहित्यिक संस्था सारांशद्वारा राजधानीमा आयोजित एक कार्यक्रममा नेपाल नाट्य संगीत प्रतिष्ठानका सदस्यसचिव गणेश रसिकले पुस्तक लोकार्पण गरेका हुन् । हिमालय टाइम्स दैनिकमा कार्यरत खनालको उक्त पुस्तकमा विभिन्न क्षेत्रमा योगदान गरेका २१ व्यक्तित्व समेटिएका छन् ।

कार्यक्रममा मुख्य अतिथि गणेश रसिकले कुनै समय चर्चामा रहेका तर समयक्रमसँगै ओझेलमा परेका व्यक्तिलाई पुस्तकमार्फत लेखकले न्याय गरेको भनी प्रशंसा गरे । पुस्तकमा समेटिएका व्यक्तिहरू परिचित नै भए पनि उनीहरूका बाहिर नआएका पक्षमाथि लेखकले पुस्तकमार्फत प्रकाश पारेको बताए । ‘पुस्तक लेख्ने काम आफैंमा जटिल विषय हो,’ उनले भने, ‘पुस्तकमा समेटिएका व्यक्ति परिचित भएपनि उनीहरुका बाहिर नआएका विषयलाई लेखकले पुस्तकमार्फत बाहिर ल्याएका छन् ।’

पुस्तकमाथि टिप्पणी गर्दै हिमालय टाइम्स दैनिनका सम्पादक गोविन्द लुइँटेलले सरल र सबैले बुझ्ने भाषाशैलीमा लेखिएको पुस्तकमा समाजमा योगदान गरेका तर ओझेलमा परेका व्यक्तिहरु समेटिएको बताए । ‘२१ जना व्यक्तिमाथि लेखिएको पुस्तकको भाषाशैली निकै सरल र सटिक छ, बोधगम्य छ,’ उनले भने, ‘समाजमा योगदान गरेका तर ओझेल परेका व्यक्तिलाई पुस्तकमार्फत सम्झना गर्ने काम भएको छ ।’ पुस्तकमा वर्णित व्यक्ति छनौटको आधार भने स्पष्ट नभएको उनको भनाइ थियो । पुस्तकको डिजाइनमा हतार गरेको जस्तो देखिएको उनको टिप्पणी थियो ।

पत्रकार प्रतीक प्रधानले पुस्तक लेखक खनालको लेखकीय शैलीको चर्चा गरेका थिए भने साहित्यकार श्रीओम रोदनले खनालसँगको आफ्नो सम्बन्धको चर्चा गर्दै ढिलो गरे पनि पठनीय संग्रह आएको बताए । यसैगरी जनार्दन आचार्यले खनालको लेखकीय व्यक्तित्वबारे चर्चा गरेका थिए ।

प्रकाशककातर्फबाट नारायण घिमिरेले मन्तव्य प्रकट गरेको सो कार्यक्रम सारांशका अध्यक्ष जय छाङ्छाको सभापतित्वमा सम्पन्न भएको थियो ।