चुनाव वहिष्कार गरेको राजपामा टिकटको लागि भीडन्त

चुनाव वहिष्कार गरेको राजपामा टिकटको लागि भीडन्त


केही दिनअघिसम्म चुनाव वहिष्कारको नारा दिएको राजपा नेपाल यतिबेला स्थानीय तहको चुनावी तयारीमा जुटेको छ। संविधान संशोधनको प्रस्ताव व्यवस्थापिका संसदमा परास्त भएपछि चुनावतर्फ मोडिएको राजपाका केन्द्रिय पर्यवेक्षक उम्मेदवारको नाम चयन गर्न शुक्रबार वीरगञ्ज आइपुग्दा उम्मेदवारका आकांक्षी र तिनका समर्थकहरुले नाराबाजी गरेर खैलाबैला मच्चाएका थिए ।

स्थानीय तहको चुनावमा सहभागी हुने निर्णयसँगै उम्मेदवारको नाम संकलन गर्न राजपाले पर्सामा विजय गुप्तालाई पर्यवेक्षक तोकेको थियोे । पर्यवेक्षक बसेको होटल कुमु प्यालेसमा शुक्रबार दिनभर कार्यकर्ताको घुइँचो रहयो। विशेषगरि प्रदेश न २ को एक मात्र वीरगन्ज महानगरपालिकाको मेयर दाबी गर्ने विमलप्रसाद श्रीवास्तव र राजेशमान सिंहका समर्थकहरु ठुलो संख्यामा होटलअघि नाराबाजीमा उत्रिएका थिए ।

सबै स्थानीय तहमा गर्इ इच्छुक उम्मेदवारको नाम संकलन गर्ने र एक भन्दा बढी भए सहमतिको प्रयास गर्ने निर्णय भएअनुसार शनिबारदेखि स्थानीय तहमा पर्यवेक्षक जाने राजपाका महासचिव शिव पटेलले जानकारी दिए । सबै स्थानीय तहको भेला हुने स्थान र समय शुक्रबार नै टुंगो लागेको पटेलले बताए ।

वीरगन्ज महानगरपलिकाको मेयरमा विगतमा चारपटक मेयर भइसकेका विमलप्रसाद श्रीवास्तव र मधेस आन्दोलनमा चर्चामा आएका राजेशमान सिह मुख्य दाबेदार छन् । राजपाको पर्साका अध्यक्ष मण्डल पनि यी दुइ नाममा विभाजित भएका छन् । दुवै सशक्त आकांक्षीमध्ये आधिकारिक टिकट नपाउनेले स्वतन्त्र वा अन्य दलबाट उम्मेदवारी दिने चर्चा ब्यापक छ। दुबैले आफु टिकट पाउनेमा विश्वस्त रहेको बताइरहेका छन् ।

वीरगन्ज महानगरपालिकाको मेयरमा नेकपा एमालेले बसुरुदिन अन्सारी, नेपाली काङ्ग्रेसले पुर्वसभासद अजय द्विवेदी, माओवादी केन्द्रले रहबर अन्सारी र संघीय फोरमले उद्योगपती विजय सराबगीलार्इ उम्मेदवार बनाउने तय छ। राजपाबाहेक सबै दल मतदाताबीच पुगी भोट माग्न थालिसकेका छन्।

– महेश दास