माओवादी जालमा फेरि पर्‍यो एमाले

माओवादी जालमा फेरि पर्‍यो एमाले


प्रधानमन्त्रीका लागि भएको निर्वाचनमा सातौंपटक पराजित भएर गल्नुभएका प्रचण्डले आफ्ना निम्ति परिस्थिति अनुकूल बनाउन रच्नुभएको जालमा नेकपा एमाले फेरि एकपटक परेको छ । एक्लै हिँड्न र आफूले तय गरेका एजेण्डामा अरूलाई घिसार्न माहिर मानिनुहुने प्रचण्डले अप्ठ्यारो परेपछि कहिले काङ्ग्रेसको त कहिले एमाले र कोही नपाए मधेसी तथा अन्य साना दलको वैशाखी टेकेर भए पनि आफ्नो भूमिका जोगाउने गर्दै आउनुभएको छ । यसपटक उहाँले एमालेलाई गोटी बनाएर आफ्नो साधना पूरा गर्ने इरादा राख्नुभएको छ । लामो प्रजातान्त्रिक अभ्यासमा खारिएको मानिने एमाले अचानक प्रचण्डको चालबाजीको सिकार भएको छ र प्रजातान्त्रिक गठबन्धन तोड्न सक्ने अवस्थामा पुगेको छ ।
गत शुक्रबार -असोज १) नेपाली काङ्ग्रेसको बाह्रौँ महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य प्रकट गर्ने क्रममा प्रचण्डले प्रधानमन्त्री पदका लागि भइरहेको निर्वाचन-प्रक्रियाबाट आफू बाहिरिने घोषणा गर्नुभएपछि नेपाली राजनीतिमा तरङ्ग पैदा भएको छ । कतिपयले प्रचण्डको यस्तो घोषणालाई उदार तथा आवश्यक कदम ठानेका छन् भने केहीले नयाँ चालबाजी भनी टिप्पणी पनि गरेका छन् । वास्तवमा प्रचण्डको घोषणा काङ्ग्रेसलाई राजनीतिक रूपले अप्ठ्यारोमा पार्ने, एमाले अध्यक्ष झलनाथ खनालको ‘अडान’लाई प्रोत्साहित गरी काङ्ग्रेससँगको गठबन्धनमा सामेल हुन जानबाट रोक्ने र आफू अत्यन्त उदार तथा समझदार भएको सन्देश दिने उद्देश्यले भएको हो । असोज दश गते हुने निर्वाचनमा एमाले तटस्थ रहने सम्भावना कम हुँदै गएको थियो र प्रधानमन्त्री माधव नेपालको अभिव्यक्ति तथा क्रियाकलापले पनि एमालेले काङ्ग्रेस नेतृत्वको सरकार गठनमा सघाउने सङ्केत दिइरहेको थियो । माधव नेपाल प्रजातान्त्रिक गठबन्धनका पक्षमा उभिनेबित्तिकै एमालेभित्र झलनाथ खनाल अल्पमतमा पर्ने र बहुमतले काङ्ग्रेस नेतृत्वको सरकारमा सामेल हुने निर्णय गर्न सक्ने आधार बलियो हुँदै गएको थियो । खनाल एमालेभित्र पछिल्लो चरणमा उत्पन्न दबाब थेग्नै नसक्ने अवस्थामा पुग्नुभएको थियो । यसअघि महासचिवर् इश्वर पोखरेललाई रुघा लागेका कारण पार्टीको बैठक नै स्थगित गर्नुहुने अध्यक्ष खनालका निम्ति दश गतेअघि गर्ने बैठकको सामना कसरी गर्ने भन्ने मुख्य चिन्ताको विषय बनेको थियो । यसरी चिन्तित बन्नुभएपछि प्रचण्डसँग एउटै विकल्प थियो- उम्मेदवारी फिर्ता लिने घोषणा गरेर खनालको ‘अडान’ लाई अक्सिजन दिनु । स्मरणीय छ, प्रचण्डले उम्मेदवारी फिर्ता लिने घोषणा गर्नुअघि झलनाथ खनालसँग प्रचण्डनिवास नयाँबजारमा रात्रिभोजसहित विशेष बैठक भएको थियो । खनालसँगको विशेष बैठकपश्चात् माओवादी र एमालेबीच रहस्यमयी ढङ्गले तीनबुँदे सम्झौता भएको छ । दुई वामपन्थी कम्युनिस्टहरूबीच सम्पन्न उक्त सम्झौतालाई नै राष्ट्रिय सहमतिको सम्झौता बनाउने कसरत दुवै दलहरूबाट भइरहेको छ । गत सोमबार सुरु भएको एमाले पोलिटब्युरो बैठकले पनि दुई पार्टीबीचको सम्झौतामा अन्य दलहरूलाई पनि सामेल गर्ने आसयसहितको निर्णय गर्दै काङ्ग्रेसलाई पनि हट्न आग्रह गरेको छ । काङ्ग्रेसले उम्मेदवारी फिर्ता लिएमा ‘स्थिति जिरो’मा आउँछ र त्यसपछि राष्ट्रिय सहमतिको या बहुमतकै भए पनि आफ्नै नेतृत्वमा सरकार गठनको नयाँ अवस्था सिर्जना हुनसक्छ भन्ने माओवादी विश्वास रहेको छ । उता झलनाथ खनाललाई भने प्रधानमन्त्री चयनको वर्तमान प्रक्रिया अन्त्य गर्न सकिएमा प्रधानमन्त्री बन्ने मौका आफूलाई प्राप्त हुनेमा पूर्ण विश्वास रहेको बताइन्छ । तर, माओवादी र एमालेबीच भएको सम्झौताले काङ्ग्रेस झनै सचेत भएको छ र उनीहरूबीच सम्झौता भएकै कारण प्रधानमन्त्री चयनको वर्तमान प्रक्रियाबाट काङ्ग्रेस पछि हट्न या भाग्ने सम्भावना अत्यन्त क्षीण छ । माओवादीसँग विगतमा पनि अनेक आकार-प्रकारका सम्झौता भएका, तर ती सम्झौताहरूको कार्यान्वयन हुन नसकेको पृष्ठभूमिमा काङ्ग्रेस माओवादीप्रति किञ्चित विश्वस्त हुन सकेको छैन । माओवादी नागरिक पार्टीमा रूपान्तरित नभएसम्म विश्वास गर्न नसकिने र फोस्रा सम्झौताहरूले मात्र शान्ति स्थापना प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन नसकिने ठहर काङ्ग्रेसको छ । त्यसैले काङ्ग्रेसले प्रधानमन्त्रीमा प्रस्तुत गरेको उम्मेदवार रामचन्द्र पौडेललाई फिर्ता गराउन सम्भव देखिएको छैन । प्रचण्डले पनि उम्मेदवारी फिर्ता लिने निर्णय लिएको घोषणा मात्र गर्नुभएको हो, उहाँले फिर्ता नै लिइसक्नुभएको स्थिति छैन । कदाचित प्रचण्डले उम्मेदवारी फिर्ता लिनुभएमा रामचन्द्र पौडेल निरि्वरोध प्रधानमन्त्रीमा चयन हुनुहुनेछ । संसदीय प्रचलनअनुसार उहाँले आफू प्रधानमन्त्री बनेपछि विश्वासको मत भने लिनुपर्नेछ । त्यस्तो अवस्थामा तीन महिनाभित्र विश्वासको मत लिएर अघि बढ्ने सुविधा प्रधानमन्त्रीलाई हुनेछ । जसरी भए पनि सत्ता प्राप्त गर्न र सत्तामा सम्पूर्ण नियन्त्रण कायम गर्न उद्यत् झलनाथ खनाल र प्रचण्डले रामचन्द्र पौडेललाई यति सजिलै प्रधानमन्त्री बन्न दिनुहोला भन्ने कुरामा विश्वास गर्न सकिँदैन । त्यसैले अन्ततः कुनै बहानाबाजी गरेर प्रचण्डको उम्मेदवारी फिर्ता लिने घोषित निर्णयबाट नै पछि हट्नुभयो भने कुनै आर्श्चर्य हुनेछैन ।
प्रचण्डको निर्णयले केही हदसम्म भए पनि काङ्ग्रेसलाई अप्ठ्यारोमा चाहिँ पारेको छ । उम्मेदवारी फिर्ता लिँदा लोकतान्त्रिक विधि र प्रक्रिया निरुत्साहित हुने र नलिँदा पदप्रति आशक्ति भएकोझैं देखिने हुँदा काङ्ग्रेसलाई अप्ठ्यारो परेको हो । जे भए पनि काङ्ग्रेस प्रधानमन्त्री चयन प्रक्रियाबाट र्फकने, भाग्ने या पछि हट्ने स्थिति छैन । प्रचण्डको पछिल्लो निर्णयले एमालेलाई आफ्नो जालमा पार्ने काम मात्र गरेको छ ।