चिनियाँ लगानी भित्र्याउनेबारे सिंहदरबारमा छलफल

चिनियाँ लगानी भित्र्याउनेबारे सिंहदरबारमा छलफल


विदेशी लगानीमा भइरहेका निर्माण पूर्वाधारको सुपरिवेक्षण र अनुगमनसम्बन्धी कानून बुझ्न नेपाल आएका चीनका भौतिक पूर्वाधारमन्त्री युआन सुहोङले नेपालमा ठूला पूर्वाधार आयोजनामा लगानी गर्न चीन तयार रहेको जानकारी दिएका छन् । चिनियाँ मनत्री सुहोङले भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरसँग भौतिक पूर्वाधारको आवश्यकता र त्यसमा चीनले गर्न सक्ने सहयोगका विषयमा छलफल गर्दै नेपालमा चिनियाँ लगानीसम्बन्धी चासो व्यक्त गरेका हुन् ।

नेपाल भ्रमणमा रहेको सुहोङसहितको चिनियाँ प्रतिनिधिमण्डलले सिंहदरबारमा मन्त्री बलायरसहित सरोकारवाला मन्त्रालयका उच्च अधिकारीसँग चिनियाँ लगानी भित्र्याउनेबारे शुक्रबार छलफल गरेको थियो । बैठकमा मन्त्री बलायरले चीनले नेपाललाई प्राथमिकतामा राखेर लगानी गर्न सक्ने भौतिक पूर्वाधारका परियोजनाबारे जानकारी गराएका थिए । काठमाडौँ–स्याफ्रुबेँसी, सामाखुसी–टोखा–छहरे ३४ किमी सुरुङ मार्गसहितको सडक निर्माण, अरनिको राजमार्ग दुई लेनको बनाउने तथा पोखरा–बागलुङ ७३ किमी सडकको स्तरोन्नति गरी दुई लेन बनाउने प्रक्रिया अघि बढेको उनले जानकारी गराएका थिए ।

यस्तै, अरनिको राजमार्गको स्तरोन्नति गर्ने, स्याफ्रुबेसी–रसुवागढी १६ किमी सडक दुई लेन बनाउने, भूकम्पबाट अवरुद्ध तातोपानी नाका खुलाउने, सिगात्से–रसुवागढी–काठमाडौं, काठमाडौं–पोखरा र मेची महाकाली रेलले सञ्जाल विस्तारबारे लगानी गर्न मन्त्री बलायरले चिनियाँ पक्षसँग आग्रह गर्दा उपयुक्त आयोजनामा चिनियाँ पक्ष लगानी गर्न सकारात्मक देखिएको थियो ।

चिनियाँ मन्त्री युआनले हालसम्म चीनले नेपालमा जे–जति लगानी गरिरहेको छ, त्यो सानो आकारको भएको र आगामी लगानी रेल्वे सञ्जाल, ठूला राजमार्गजस्ता पूर्वाधारयुक्त आयोजनामा ठूलो लगानी गर्ने बताए । चीन नेपाललाई सहयोग गर्न एकदमै तत्पर रहेको र अब ठूला आयोजनामा लगानी गर्न नेपाल सरकारसँग उनले ठोस प्रस्ताव मागेका थिए।

नेपाल सरकारको निमन्त्रणामा पाँच सदस्यीय चिनियाँ प्रमण्डल औपचारिक भ्रमणका लागि शुक्रबार नेपाल आएको हो ।


तस्बिर : रासस