विहारका मुख्यमन्त्रीसँग देउवाको द्विपक्षीय वार्ता

विहारका मुख्यमन्त्रीसँग देउवाको द्विपक्षीय वार्ता


आफ्नो भारत भ्रमणको चौथो दिन शनिबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवा भारतको आन्ध्र प्रदेशबाट विहार राज्य पुगेका छन् । हिजो हैदरावाद बसेका प्रधानमन्त्री देउवा शनिबार बिहान हैदरावादबाट आन्ध्र प्रदेशस्थित प्रसिद्ध हिन्दु देवस्थल तिरुपति बालाजीको दर्शन एवम् पुजाअर्चनाका लागि आन्ध्र प्रदेश गएका राससका विशेष प्रतिनिधि एकराज पाठकले जानकारी दिएका छन् ।

प्रधानमन्त्री देउवालाई आन्ध्र प्रदेशका आवासमन्त्री के श्रीनिवासनले तिरुपति विमानस्थलमा स्वागत गरेका थिए । प्रधानमन्त्रीकी धर्मपत्नी डा. आरजु राणा देउवा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्रनारायण देव, सांसदहरु एवम् भ्रमण दलका सदस्यहरु प्रधानमन्त्रीको साथमै थिए ।

प्रधानमन्त्री देउवाले तिरुपति बालाजी मन्दिरमा विशेष पूजा अर्चना गरे र शनिबार साँझ नै उनी विहार पुगेका हुन् । विहारमा उनलाई विहारस्थित गया विमानस्थलमा विहारका शिक्षामन्त्री कृष्णनन्दन बर्माले स्वागत गरेका थिए । विमानस्थलमा उनको विशेष स्वागतका लागि नवकन्या एवं विभिन्न वैदिक साँस्कृतिक बाद्यवादक समूहको उपस्थिति थियो । प्रधानमन्त्री देउवासँग विहारका मुख्य मन्त्री नितिशकुमारले शनिबार साँझ शिष्टाचार भेट गरेका छन् ।