भारत भ्रमण सफल : निधि

भारत भ्रमण सफल : निधि


नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले प्रधानमन्त्री शेरबहादुर देउवाको भारतको राजकीय भ्रमण राजनीतिक, आर्थिक र कूटनीतिक रुपमा सफल भएको दाबी गरेका छन् । पार्टीको कार्यवाहक सभापतिसमेत रहेका निधिले पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकारसम्मेलन आयोजना गरी छिमेकी मुलुक भारतको प्रधानमन्त्री देउवाबाट भएको भ्रमण सबै दृष्टिकोणले सफल भएको दाबी गरे ।

प्रधानमन्त्री देउवाको भारत भ्रमणले नेपाल–भारत सम्बन्ध राजनीतिक, आर्थिक र कूटनीतिक दृष्टिबाट सुदृढ भएको, भ्रमणले दुई देशको सम्बन्धलाई अझै बलियो बनाएको र विश्वासको वातावरण बढेको निधिको भनाई उद्धृत गर्दै राससले जनाएको छ ।

प्रधानमन्त्री देउवाले भारत भ्रमणका क्रममा संविधान कार्यान्वयन सम्बन्धमा दिनुभएको अभिव्यक्तिबारे नेता निधिले संविधानलाई सर्वस्वीकार्य बनाउन अन्तर्राष्ट्रिय जगतको समेत सहयोग चाहिने सन्दर्भमा अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्र, राष्ट्र र संविधानको पक्षमा प्रधानमन्त्रीको अभिव्यक्ति परिपक्व र सार्थक भएको स्पष्ट पारे ।

निधिले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा संघीय प्रणाली हामीलाई मन परेको छैन भनेर भनेको कुरा सञ्चारमाध्यममा सार्वजनिक भएको भन्दै देशको आन्तरिक मामलाका बारेमा बोलेको भन्दै आपत्ति प्रकट गरे । उनले अध्यक्ष ओलीले चीनमा गएर बोलेको कुराले नेपालको शिर निहुर्‍याउने काम भएको टिप्पणी गरे । माधवकुमार नेपालको उत्तर कोरिया भ्रमण नेपालको परराष्ट्र नीति विपरीत भएको आरोप पनि उनले लगाए ।