मदन पुरस्कार घोषणा : घनश्याम कँडेल र बात्सायन विजेता

मदन पुरस्कार घोषणा : घनश्याम कँडेल र बात्सायन विजेता


विसं २०७३ को मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार विजेताको घोषणा गरिएको छ । मदन पुरस्कार गुठीको आइतबार बसेको साधारणसभा बैठकले ०७३ सालमा प्रकाशित पुस्तकमध्ये घनश्याम कँडेलले अनुष्टुप् छन्दमा लेख्नुभएको पद्य काव्य ‘धृतराष्ट्र’लाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

गुठीका सदस्य सचिव दीपक अर्याललाई उद्धृत गर्दै राससले जनाएअनुसार बैठकले समसामयिक विषय र विसंगतिलाई कार्टुनमा छोटो र प्रभावकारी भाषिक अभिव्यक्तिको प्रयोग गरी समाजमा सचेतना जगाउँदै निरन्तर नेपाली भाषाको सेवा गरेवापत दुर्गा बराल (वात्स्यायन)लाई २०७३ सालको जगदम्बा–श्री पुरस्कार अर्पण गर्ने निर्णय गरेको छ ।

दुवै पुरस्कारको राशि रु दुई-दुई लाख रहेको छ ।

“विसं २०७३ मा प्रकाशित भई गुठीलाई प्राप्त ११५ पुस्तकमध्ये ‘गुहा, गुहालेख, गुहाचित्र एवम् अन्य सम्पदा’, ‘छाउघर’, ‘तपन’, ‘दोहाको सीधा उडान’, ‘धृतराष्ट्र’, ‘प्रतिनायक’, ‘म स्त्री अर्थात् आइमाई’, ‘शुक्रराज शास्त्रीको चस्मा’ र ‘सगरमाथाको गहिराइ’लाई उत्कृष्ट नौ पुस्तकका रुपमा छनौट गरिएको थियो”, अर्यालले बताए ।

पुरस्कार आश्विन शुक्ल द्वितीया अर्थात् घटस्थापनाको भोलिपल्ट प्रदान गरिनेछ । विसं २०१२ मा जगदम्बा राणाले मदन पुरस्कारको स्थापना गर्नुभएको थियो । विसं २०१३ मा गद्य विधामा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा’ र विज्ञान विधामा डा बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ पुस्तकलाई प्रदान गरिएको थियो ।

विसं २०४५ मा जगदम्बाको निधन भएपछि उहाँको सम्झनामा पनि जगदम्बा–श्री पुरस्कार स्थापना गरिएको हो ।