बाढीप्रभावितलाई ‘हेल्प नेपाल’को सहयोग

बाढीप्रभावितलाई ‘हेल्प नेपाल’को सहयोग


हालै तराई क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको राहतका लागि हेल्प नेपाल नेटवर्कलाई प्रोजेक्ट ए प्रालि नामक संस्थाबाट ५० हजार सहयोग प्रदान गरिएको छ । राजधानीमा आयोजित रकम हस्तान्तरण कार्यक्रममा प्रोजेक्ट एले हेल्प नेपालका सल्लाहकार तथा पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइरालालाई सो रकम हस्तान्तरण गरेको हो ।

उक्त संस्थाको तर्फबाट कार्यकारी निर्देशक रोशेन्द्रध्वज खड्का र मुख्य प्रायोजक नेपाल टेलिकमका कर्पोरेट अफिसर प्रदीपराज उपाध्यायले ५० हजार रुपैयाँको चेक हेल्प नेपाल नेटवर्कका सल्लाहकार कोइरालालाई हस्तान्तरण गरेका थिए । सो अवसरमा हेल्प नेपालका तर्फबाट सल्लाहकार विजय राजभण्डारी, अध्यक्ष अरुणसिंह बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

सहयोग रकम प्राप्त गरेपछि कार्यक्रमलाई सम्बोधन गर्दै हेल्प नेपालका सल्लाहकार तथा पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइरालाले सो रकम पूर्ण रुपमा सदूपयोग हुने प्रतिबद्धता व्यक्त गरे । हेल्प नेपालले यसअघि गरेका कार्यहरुको आधारमा धेरै दाताहरुले विश्वास गरेर सहयोग रकम प्राप्त भइरहेको पनि उनले बताए ।

कोइरालाले सामाजिक उत्तरदायित्व बहन गर्दै पीडितहरुको सहयोगार्थ रकम प्रदान गरेकोमा प्रोजेक्ट एलाई धन्यवाद दिँदै अन्य संघसंस्थालाई पनि यस किसिमको उत्तरदायित्व बहन गर्न आग्रह गरे ।

कार्यक्रममा बोल्दै प्रोजेक्ट एका कार्यकारी निर्देशक रोशेन्द्र खड्काले कर्पोरेट फुटसल लिग २०१७ को पुरस्कार वितरणको कार्यक्रम पारेर हेल्प नेपाललाई सहयोग रकम हस्तान्तरण गरिएको बताए । उनले तराईमा बाढीबाट पीडितहरुको राहतमा सहयोग पुगोस् भनेर यो रकम प्रदान गरिएको उल्लेख गरे । हेल्प नेपाल जस्तो विश्वसनीय संस्थामार्फत सहयोग रकम पीडितहरुसमक्ष पु¥याउन पाउँदा आफूलाई खुसी लागेको पनि उनले बताए । उनले आगामी दिनमा पनि संस्थालाई सहयोग निरन्तर रहने उल्लेख गर्दै यो पीडाको घडीमा अन्य कर्पोरेट अफिसहरुले पनि उत्तरदायित्व लिनु पर्ने सुझाव दिए ।

हेल्प नेपालले बाढीलगत्तै प्रभावित जिल्लाहरुमा राहत वितरणको कार्य गरिरहेको छ । यसअघि २४ लाख ११ हजार बराबरको राहत सामग्री वितरण भइसकेको संस्थाका अध्यक्ष अरुणसिंह बस्नेतले जानकारी दिए । उनकाअनुसार बाढीबाट अति प्रभावित ८ जिल्लाहरु झापा, मोरङ, सुनसरी, सप्तरी, सर्लाही, बारा, नवलपरासी र बर्दियामा राहत वितरणको कार्य भइरहेको छ । हेल्प नेपालले स्थानीय संघ संस्थाहरुमार्फत सो राहत वितरणको कार्यलाई तिब्रता दिइरहेको छ । स्थानीय प्रशासन समक्ष स्वीकृति लिएर पारदर्शी ढंगले वितरण गर्ने स्थानीय संघ, संस्था मार्फत पीडित समक्ष राहत छिटो गरी पुगिरहेको अध्यक्ष बस्नेतले बताए ।

बाढी रोकिएपछि उत्पन्न हुनसक्ने महामारी र रोगव्याधीबाट बचाउन पछिल्लो समय हेल्थ क्याम्पहरु संचालन भइरहेको पनि अध्यक्ष बस्नेतले बताए । उनले भने, ‘प्रभावित क्षेत्रबाट हेल्थक्याम्प संचालन गर्नका लागि सहयोगको आग्रह भइरहेको छ जसकालागि हामी दाताहरुसँग सहयोग रकम संकलन गरिरहेका छौँ’ । बस्नेतले भने, ‘महामारी फैलिन नपाओस् भन्ने हाम्रो प्रमुख लक्ष्य हो, त्यसका लागि लक्षित रकमको नै अभाव छ त्यसैले सबै दाताहरुसँग अझ धेरै सहयोगको अपेक्षा गर्दछु ।’