रुढिवादको एक रुप : आँखा पड्नु/आँखा लाग्नु/मुख पड्नु

रुढिवादको एक रुप : आँखा पड्नु/आँखा लाग्नु/मुख पड्नु


– कै थि छइ त तु ?
– कन्ने थि छौं त !
– क्यालाई आएई होई त ?
– त्यसै न… !
– छोडि जाने हैनइ क्या ?
– छोड्डैन ।

उपरोक्त वार्ता एक धामी र बिरामीबीचको हो । त्यतिबेला पंक्तिकार कामको सिलसिलामा दुल्लु (दैलेख) बस्दथ्यो । हामी बस्ने घरकी घरपट्टी भाउजू साँझ पानी लिएर आएपछि भान्सामा काम गर्दै हुनुहुँदोरहेछ । सोही क्षणमा चक्कर लाएझैं भएपछि विस्तारामा लगेर सुताइएछ । त्यसपछि आफ्नै शुरमा घरि उठेर रुने, घरि हाँस्ने अन्यथा बोलाउँदा पनि नबोल्ने अवस्था सिर्जना भएछ । यो अवस्थालाई यतातिर आँखा पड्नु/आँखा लाग्नु/मुख पड्नुु भनिँदोरहेछ ।

हामी साझा कोठामा दैनिक शेयरिङ गर्दै थियौं । घरभेटी भाउजूलाई यसो भयो भन्ने सुनेपछि हामी वहाँको शयनकक्षतिर लाग्यौं । वहाँ सुत्नुभएको थियो । मैले ढोकाबाट भित्रिँदै ‘भाउजूू’ भनी जोडले बोलाएँ, तर वहाँ बोल्नु भएन, आँखाको ताल लगाइरहनु भएको थियो । मैले सहकर्मी बैनीलाई गएर झक्झक्याएर बोलाउन भनेँ । सोही अनुसार बैनीले बोलाउनु भयो तर वहाँले आँखासम्म खोल्नुभएन ।

‘यो मुख पड्या हो, मैलाई भया थियो, २-३ धामी बोलायापछि मात्र ठीक भया हो…!’ वहाँकी छोरीले भन्दैथिइन् । त्यसैबेला एकजना अधबैंसे व्यक्ति आउनुभयो र खाटमा बसेर आँखाको ताल लगाईरहेकी भाउजूलाई पाखुरामा समातेर बहुत जोडले उपर्युक्तानुसार प्रश्नोत्तर गर्नु-गराउनु भयो । अरु क्रम यसरी अघि बढ्यो ।
– कईगरी छाड्डैन क्या ?
– छाड्ने हुँ !
– त्यसो भयाले के गन्न पड्ने भयो त ?
– उठाइ-पठाइ राख्नु क्या…

भाउजूसँग कुराकानी गर्ने तिनी व्यक्ति धामी रहेछन् । सालको पातमा चामल राखी नबुझिने गरी मन्त्र (?) पढ्दै धामीजीले भाउजूको शिरमा लगी घुमाउँदै,
– लौ तुइलेइ भनेझन गरीकन उठाइ-पठाइ गड्याछ, यइकन छाड्डे, पछि जे भनलाई त्यही गडौंला, एक छोडेइ, दुई छोडेइ, तीन … भन्दै पुन: बिरामीलाई सोधे–

– यइकन कहाँ राखुँ त ?
बिरामी भाउजूले यताउता हेरी ‘त्यहीं राख’ भनी दलीनतिर इङ्कित गर्नुभयो । फेरि धामीले –
– अब छोडी त ? भनी सोध्दा भए ।
– छोड्डोछु त !
– अझइ के गन्नु पड्यो त ?
– सुनपानी गड ।

धामीले सुनपानीको खोजी गर्दा मैले सुनको औंठी लगाएको हातको औंलो पानीको गिलासमा चोभिदिएँ । त्यही सुनपानी छर्दै ‘लौ अब यइकन दु:ख नदिएइ, भोलि क्या गन्न पड्ने हो – गडौंला, छोडिनइ क्या अझै ?’ भनी सोध्दा भए ।

– छोडें त ! भन्ने उत्तरसँगै पहिलो चरणको वार्ता टुङ्गियो ।

‘…यहाँ कस्तो छ भने हजुर ! जो जस्तो गरी मरेकोछ, उ उस्तै भैकन याँउदो घुम्या हुन्छ गरे ! त्यही बेला हामीसित भेट भएपछि अनि बिरामी पनि त्यसै गर्दोछ । भनौं कोइ अकाल मरेको, भीरबाट खसी मरेको, पानीमा डुबी मरेको त्यस्ता व्यक्तिको आत्मा यतै घुम्याहुँदोरहेछ । एकपटक ठूला बावुसाहेब (गाउँमा सबैले मान्ने ठकुरी बाउसाहेब) साथ सोधनी गरें कि – यो फूफा गर्ने, हेराउने, चराउने क्या होला त मालिक ? र वहाँले पनि यसै भन्नुभएथ्यो ।’

पहिलाका धामीले सिफारिश गरेका अर्का धामी आएपछि बिरामीलाई पहिलेजस्तै सोध्ने/बोलाउने कार्य हुँदैरहेछ, म पनि त्यहाँ पुगें । बोलाउने कार्य सकिएपछि सोधनी गर्दाको अभिव्यक्ति हो – माथि उल्लिखित व्यहोरा । पतुर्ने – बोलाउने कार्य शुरु भैसकेपछि म पुगेको थिएँ । जाडो मौसम थियो । लाम्बाहुले टालेको कमेजमाथि आस्कोट भिरेका तिनीले जाँघे लगाएका थिए । म पुग्दा काम्दै र अलि भक्भके स्वरमा बिरामीलाई खर्‍याउँदै थिए –

– त्यसो भएुले अ… छोड्ने भइ क्या ?
– छोड्डोछौं ।
– एक छोड्ने हइ ? छोड्डोछौं, दुई छोड्ने हइ ? ≈ छोड्डोछौं, तीन छोड्ने हइ ? ≈ छोड्डोछौं, चार …., सात छोड्ने हइ ? ≈ छोड्डो क्या…(दिग्दारी)
– त्यसो भएुले अ… पैताला चाट्ने हई ?
– चाट्दो

साविकका धामीले घरभेटी दाइलाई पैताला देखाइदिन अनुरोध गरे । शायद हाम्रो उपस्थितिले हुनसक्छ, दाइ उठ्न सङ्कोच मान्नुभयो । किनभने म संलग्न रहेको विद्यालयका उत्कृष्ठ शिक्षकमध्येका उहाँ सहपाठी हुनुहुँदोरहेछ । अन्तत: घरभेटी दाइले दायाँ खुट्टा उचालेर पैताला देखाइदिनुभयो र भाउजूले धामीको एक, दुई …को गनाइसँगै सातपटक जिब्रोले चाट्नुभयो । धामीले चामल मन्तरेर वरिपरि फालेर भाउजूलाई ठूलो सासले फू…फू गर्दै कुममा समातेर हातले धाप लगाउँदा भए । भाउजू पनि एउटा परिचित कृतप्रति कर्ताले दर्साउने कर्तव्यनिष्ठता जस्तै धामीका इशारातिरै ढल्कनुभयो । केहीक्षण कामेपछि धामी पूर्वस्थितिमा फर्केछन् क्यारे ! साथमा आएको छोरा ९र(?)लाई दीयो राखिएका दुनाका चामल उठाउन आदेश दिए । त्यो केटाले पनि बावुको धामी पतुराइलाई जसरी कुनै सज्जन सत्कार्यप्रति अनुकरणातुर हुन्छ, त्यसैगरी रहरालु दृष्टि फ्याँकिरहेको थियो । कार्यसमापन पश्चात् घरभेटी दाइले एक खिल्ली हैन चुरोटको पकेटै धामीतिर फालिदिएर भान्सातिर जानुभयो । किनभने दाइले आज भाउजू ‘मुख पड्नाले’ दाइले भान्सेको अभिभारा निर्वाह गरिगहेका थिए । धामीले पनि एकखिल्ली निकालेर सल्काएपछि साविकका धामीले बोक्सी, डाइनीको प्रसङ्ग चलाए । सन्दर्भमा मेरा प्रश्नको उत्तर दिने क्रममा ५३ वर्षीय धामीले आफू २३ वर्षको हुँदादेखि यो धामी पतुर्ने कार्य गरिआएको बताए । आफ्ना ‘पुरुषार्थ’का गाथा सुनाउँदै गए ।

संयोग न हो, यिनैताका, हामी विद्यालयबाट घरपट्टीतिर आउँदै गर्दा स्नातक एवं स्नातकोत्तर पास गरेका शिक्षक मित्रहरुले मेरा अनुहारमा भएको घाउ (Infection) लाई ‘नौनी फुकेर लगाएमा सञ्चो हुन्छ’ भन्नुभयो । सो भनाइलाई सयपटक नौनीलाई पानीले पखाल्ने हो भने त बीष हुन्छ रे ! त्यसैले आँखा लागेको ठाउँरघाउमा लगाउने नौनीलाई सात पटक धुनु भन्नेछ, त्यैपनि आँसीको चुचाले खेलाई-खेलाई फुक्नुपर्ने प्रावधान छ । त्यसबाट केही आवश्यकतानुसारको फलामको मात्रा पनि मिसिने भयो नि ! केही त केही सत्यता त छ नि !… जस्ता तर्कहरुले पुष्टि गर्दै घर आइन्छ । वास्तवमा म विज्ञानको विद्यार्थी, फेरि बोक्सी, डाइनी, आँखा लाग्ने, मुख पड्नेजस्ता व्यहोराप्रतिको अनास्थु ! र पनि उल्लिखित व्यहोरासँग साख्खाल्यता जनाउन पाएँ ।

अर्को संयोग ! एकजना सर मैले खानाखाँदै गर्दा आफू खानाखाई अर्को सरलाई खोज्ने हिसाबले मकहाँ टुपुल्किनु भयो । बाटोमा गरिएका चर्चाबाट मैले वहाँहरुको चित्त बुझाउन नसक्ने ठानेपछि यहाँका सन्देशरचेतनाका संवाहकहरुलाई बरु एकाधदिन पीडाबोध खपेरै भएपनि मेरै गालालाई प्रयोग मैदान बनाएर ‘घाउ खटिरा भनेको कसैको आँखा लागेर हुने हैन, यो त आन्तरिक कैफत (Internal Infection) बाट हुने हो भन्ने व्यहोरा प्रमाणित गर्ने मन लाग्यो । वहाँकै रोहवरमा सो कुरा लागु गर्न घरपट्टिदाइलाई नौनी छ होला भनी प्रश्न गरेँ ।

‘अस्ति शनिबार दाह्री काट्दाका दिन तपाइँका गोरा, चिल्ला गाला आकर्षक थिए, यहाँ त कहिले आँखा लागी जान पनि सक्छ र आँखा लागेकै भएपछि भित्र-भित्र चिलाउँछ हैन ?’ मैले पनि पीपमा बदलिन तरखरिएको रगत – हड्याइँदो पानी, सकसकाउने नै हुँदा, हो/अँ मा टाउको हल्लाएँ ।

‘मैले नौनी फुकेर ३ दिन लगाएपछि अवश्य ठीक होइजान्छ’ भनेर सरले संक्षेपीकरण गर्दागर्दै नभन्दै सालको पातमा घरपट्टी दाइले एकचम्चा नौनी ल्याइदिंदै ‘पक्का हुन्छ हजुर ! आँखा लाग्ने भनेको, अस्ति देख्नु भएन, मेरै श्रीमती मुख पडेर खाना पनि समयमा र ठीक रुपमा खान मिलेन, आँखै लागेको भएपछि नौनी फुकेर लगाएपछि ठी भैजान्छ हजुर !’ भनी व्यहोरामा सही थाप्नु भो । म पनि उपरोक्तानुसारको दृढाशामा ढुक्किंदैरहाँस्दै ‘पक्का सञ्च हुनु पर्‍यो नि है सर !’ भन्दोभएँ । सरले आँसी मागी पानीले सफा गरी कुर्चीमा बसेर फुक्न शुरु गर्नुभो । मैले खाना खाई दाँत माझेर सक्दा वहाँले नौनी फुकेर पनि सक्नुभो र ‘लौ लगाउनुहोस्भ’ नी मलाई सालको पातको नौनी – जुन पात पुरानो – फोहोर थियो, थम्याइदिनुभयो । पातको समेत पूर्ण सफाइको अभावमा मलाई नौनी लगाउन बडो सङ्कोच थप गर्न सफल हुँदा औंलाका टुप्पाले घाउमा लाएझैं मात्र गर्ने र कोठामा गई पुछेर एन्टिसेप्टिक टूथपेष्ट नै किन नहोस् लगाउने मनको मुना पल्हाएको थिएँ तर सरले ‘निर्धक्कसँग सम्पूर्ण अनुहारमा घस्नोस्’ भन्नुभयो ।

– धुलो उडेर टाँसिंदा झन् फोहोरले इन्फेक्सन बढाउला कि ?

– हैन-हैन, तपाइँको यो आँखै लागेको हो, ३ दिनसम्म मजाले यसैगरी (मैले पनि सरको सोचलाई परिवर्तन गर्न बरु पीडै थपेर भएपनि राम्रोसँग चिल्लोमुख हुने गरी फुकेको नौनी घसेको थिएँ) लगाउनुहोस्, ठिक भैहाल्छ । भन्नुभयो । यो दिनको पूर्वार्ध्दको परिवेश थियो ।

खप्तड बाबाले विचार प्रबल हुन्छ, तिमी जस्तो विचार गर्छौ, त्यस्तै काम लगनशील भएर गर्‍यौ भने त्यस्तै हुन्छौ भन्नुभएको व्यहोरा मेरो मस्तिष्कमा आलियो । बिहानै पातसमेत फोहोर ठान्नु, इन्फेक्सनमा चिल्लो लगाए झन् बढ्छ भन्ने मेरो दृढ सोचाइ हुनु, आँखालाग्ने भन्नेप्रति आफ्नो पूर्णानास्था हुनु जस्ता व्यहोराले मेरो घाउ बढ्नु स्वभाविक थियो र त्यस्तै भयो पनि । त्यसोभए यहाँका व्यक्तिहरुलाई फूफा गर्दा किन सञ्चो हुन्छ त ? भन्ने प्रसङ्गमा पनि खप्तड स्वामीकै उक्त अभिव्यक्ति अनुरुप यिनीहरुले सञ्चो हुन्छ भन्ने दृढ विचार बनाएवापत प्रतिविष बनाउने ग्रन्थीहरुले एन्टिटोक्सिन बनाई वाह्य विषलाई हराउँछन् र सञ्चो हुँदो हो ।

जेहोस्, साँझको सबै सहकर्मीहरुबीचको दैनिक कार्य समीक्षाका बेला मेरो घाउ सुनिएर मुखै बाङ्गो भएको र बोली पनि बदलिएका प्राप्त सबैको ध्यानाकर्षंण भयो । कतिपय नौनी लगाएको थाहा पाएका साथीहरुले अरुहरुलाई पनि व्यहोरा जनाई मलाई उल्लु प्रमाणित गर्ने जनमत तयार पारे । मैले पनि हात ठड्याएर ‘हजुरहरुको व्यहोरा शतप्रतिशत ठीक छ, तर मैले यहाँका आधुनिक विचारकहरुमा भएको भ्रमजालो हटाउन आफ्नो पीडा थप गर्ने अन्तर स्वीकृति बमोजिम यसो गरेकोहु’ भन्दोभएँ । पुन: कसैले ‘आफूलाई पीडा थप गरी-गरी त्यस्तो आदर्श देखाउन सक्छ, हजुरलाई पनि नौनी लगाएपछि सञ्चो हुन्छ भन्ने अन्तरभ्रम रहेछ’ भन्दाभए । कतिपयलाई मेरो अनुहारप्रति करुणाभाव जागेर आएको थियो । नूनपानी बनाएर सेक्ने काम भयो । मेथी पिनेर लागाउने, घाउको मुखमा नून राखेमा भोलिसम्म पाकेर पीपसँग खिल गएपछि निको हुनेछ, … यी त्यस माहौलमा चर्चा भएका तर्कहरु र मूर्तरुप दिइएका व्यहोराहरु थिए ।

यसरी अन्तत: गलेबन्दीले अनुहारलाई छोपेर विद्यालय गएँ र सरहरुसामु ‘इन्फेक्सनलाई आँखालाग्नु भनेर परिभाषा गर्नु वैज्ञानिक अवचेतनाको ज्वलन्त उदाहरण हो र तपाईं-हामी जत्तिको पढालेखा व्यक्तिहरु पनि यही भ्रममा रहने हो भने भोलिको पुस्ताले अरु राष्ट्रहरुको विकसित अवधारणा आत्मसात गर्न अरु गाह्रो हुनेछ । हो ! वास्तवमा हामिकहाँ पनि यस्ता धारणाहरु विद्यमान छन्/प्रशस्तै थिए, तर हामीहरु यस्ता धारणाहरुलाई सही व्याख्या गर्ने पुस्ताको रुपमा सङ्क्रमणकालीन अवस्थामा छौं । यो व्यहोराका संवाहक, यहाँको सन्दर्भमा तपाईंहरु नै हो र हुनुपर्छ । यी देख्नुभयो, हिजो तपाईंले फुकेर दिएको नौनीले इन्फेक्सन अरु बढाएर मलाई पीडित तुल्यायो…’ भन्दोभएँ । यो सुनेर सरले ‘हजुरले अघिल्लो सप्ताहान्तमा हेयर डाइ (कपाल रङ्ग्याउने) गर्नु भाुथ्यो कि ? भनी प्रतिप्रश्न गर्नुभयो । ‘हो’ उत्तर मेरो यथार्थता थियो । तब वहाँले ‘त्यसैको एलर्जी हुनुपर्छ’ भनेर मलाई थुम्थुम्याउँदै ‘हेर्नुहोस्, यतातिर आँखालाग्ने भन्ने हुन्छ नै र नौनीले सञ्चो पनि भएकोछ’ भन्नुभयो । त्यसपछि मैले खप्तडस्वमीको विचारशक्ति विश्लेषणको ज्ञात भएसम्मको व्यहोराको संक्षेपीकरण गरें ।

सारांशमा उपरोक्तानुसारको मुखपड्नु, आँखालाग्नु, डाइनी, बोक्सी जस्ता रुढिवादी भ्रमजालो हामीकहाँ पठित-अपठित, धनी-गरिब, महिला-पुरुष सबैमा विद्यमान छ । यसलाई हटाउनु भनेको त्यति सहज कार्य अवश्य होइन । यसो भन्दैमा आफू छर्लङ्ग भएका विचारहरुलाई वादविवादका रुपमा हैन, सामान्य हिसाबले यस्तो समुदायमा राख्दै गयो भने अन्तत: वैज्ञानिक चेतनाले समाजको मस्तिष्कमा अवश्य बास माग्नेछ, जसका लागि हामीभन्दा जेठा, अनुभवका प्रतिमूर्ति, धेरै पढेकालेखेका, चिन्तक, विश्लेषकहरु – जसले आफ्नो सारा जिवन हामीमा यस्तै चेतना पुगोस् भन्नेमा बिताएर हामीबाट बिदा भए, तिनीहरुले भनेका, पत्तालगाएका व्यहोराहरु लागू गर्दा उपयुक्त ठानेका हामीहरुबीच उल्लिखित मान्यताउपर पुनर्विचार हुन जरुरी देखिन्छ । आशा गर्नैपर्छ – एकदिन रुढिवादी संस्कारबाट टाढा रहेको आधुनिक संसार कुनै पुस्ताले हस्तगत गर्ने नै छ ।