एमाले सभामा कसले गर्‍यो आक्रमण ?

एमाले सभामा कसले गर्‍यो आक्रमण ?


नेकपा (एमाले)सँग सम्बद्ध जनसंगठनहरूको चुनावकेन्द्रित सभामाथि आक्रमण भएको छ । धनुषा जिल्लाको जनकपुरमा चलिरहेको प्रदेश नं. २ स्तरीय भेलामा मंगलबार दिउँसो केही उच्छृंखल व्यक्तिले ढुंगामुढा गरेको थियो । यस्तो अभद्र व्यवहार प्रदर्शन गर्ने घटनाप्रति एमालेले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

जनकपुरमा आयोजित एमालेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित पार्टीसचिव गोकर्ण विष्टलगायत पार्टीका केन्द्रीय सदस्य, सांसदहरू र प्रदेश नं. २ का जनसंगठनहरुका अगुवाहरुको व्यापक उपस्थिति रहेको थियो । एमालेका अनुसार संयमित र शान्तिपूर्ण कार्यक्रममाथि अराजक जत्थाले हुलहुज्जत गर्ने, प्रदेश नं. २ मा अशान्ति मच्चाउने र निर्वाचन सम्पन्न हुन नदिने षड्यन्त्रको रुपमा रहेको बुझ्न सकिन्छ भन्दै एमालेले प्रेस विज्ञप्ति जारी गरेको छ ।

एमाले विज्ञप्तिमा भनिएको छ– ‘पार्टीका वरिष्ठ नेताहरू संलग्न कार्यक्रममा यथोचित शान्ति सुरक्षाको व्यवस्थापन गर्नुपर्ने संवेदनशीलताप्रति स्थानीय प्रशासन गम्भीर नहुनु आफैंमा दुःखद् कुरा हो भन्दै हाम्रो पार्टी यस्ता कुत्सित षड्यन्त्रप्रति सजग रहन प्रदेश नं. २ का आम जनसमुदायलाई आह्वान गर्दछ । साथै, आज नेकपा (एमाले)को कार्यक्रममाथि हुलहुज्जत गर्ने अराजक जत्थालाई नियन्त्रण गरी कारवाही गर्न माग गर्दछ ।’

एमाले केन्द्रिय प्रचार विभाग प्रमुख योगेश भट्टराईले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ– ‘निर्वाचनको संवेदनशीलतालाई ध्यान दिँदै जनतालाई भयरहित वातावरणमा आफ्नो मताधिकार प्रयोग गर्ने अधिकार सुनिश्चित गर्न नेपाल सरकार र स्थानीय प्रशासनसँग जोडदार माग गर्दछ । प्रतिकूलताका बाबजूद नेकपा (एमाले)को कार्यक्रममा उपस्थित अपार जनसमुदायको उत्साहप्रति हाम्रो पार्टी गर्व गर्दछ । साथै, सबैखाले अवरोधलाई चिर्दै उत्साह एकताका साथ प्रदेश नं. २ को स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)लाई पहिलो पार्टीको रुपमा स्थापित गर्न पार्टीका सम्पूर्ण कार्यकर्ता र आम जनसमुदायलाई अपिल गर्दछ । निर्वाचन घोषणा भएर आचारसंहितासमेत लागू भई निर्वाचन सम्मुखमा आइसकेको बेलामा भएको यस्तो घटनाप्रति संवेदनशील हुन हाम्रो पार्टी निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गर्दछ ।’