उहाँलाई नभए पनि हामीलाई काङ्ग्रेसको चिन्ता छ

उहाँलाई नभए पनि हामीलाई काङ्ग्रेसको चिन्ता छ


० डाक्टरसा’ब, नेपाली काङ्ग्रेस भनेको जो सभापति भयो उसैले आफ्नो बिर्तासरह प्रयोग गर्न पाउने पार्टी हो ?
– बिर्तासरह चलाउने पार्टी त होइन, बीपीले प्रतिपादन गर्नुभएको यसको आफ्नै सिद्धान्त छ– राष्ट्रियता, समाजवाद र प्रजातन्त्रप्रति प्रतिबद्ध भएर अघि बढ्ने । तर, वर्तमान परिवेशमा काङ्ग्रेसका पार्टी सभापति आफ्नै ढङ्गले चलिरहेका देखिन्छन् ।

० सभापति देउवाले त गिरिजाबाबु र सुशील कोइरालाले जसरी चलाउनुभएको थियो त्यसरी नै मैले चलाइरहेको छु भन्ने दाबी गर्नुभएको छ नि त ? त्यसैको निरन्तरता ठान्नुहुन्न तपाईं ?
– गिरिजाबाबु र सुशीलदा’ले जसरी चलाउनुभयो त्यसरी नै चलाउनुभएको हो देउवाजीले पनि । तर, जतिसुकै भए पनि गिरिजाबाबुचाहिँ कुरा सुनिदिनुहुन्थ्यो । आफू धेरै कम बोल्ने, अरूको कुरा सुन्ने बानी गिरिजाबाबुको थियो (हुन त देउवाजी पनि कमै बोल्नुहुन्छ) । अहिलेचाहिँ ‘सभापतिजीले कुरा सुनिदिनुप¥यो’ भन्ने तमाम नेता–कार्यकर्ताको अनुरोध छ, तर उहाँले यो आग्रह मानिरहनुभएको देखिँदैन ।

० ए, उहाँ कुरै सुन्नुहुन्न ?
– खै ! सुनेजस्तो लाग्दैन ।

० हामीले त बोल्न मात्र नसकेको हो, सुन्न त सुन्नुहुन्छ जस्तो लाग्छ त ?
– त्यस्तो किसिमले सुनेर भएन, मिटिङ र छलफल हुनुपर्‍यो ।

० कुरा सुन्नुहुन्छ भनेको कान सुन्नुहुन्छ भन्न खोज्नुभएको हो ?
– होइन, गएर भेट्दा कुरा सुनेझैँ गर्नुहुन्छ । आफ्नो कुरा पनि बताउनुहुन्छ । तर, जसरी जाँदै छ पार्टी, यसरी त कमजोर हुन्छ भन्ने देख्छु म । कुनै पनि डेमोक्र्याटिक पार्टीको मापदण्ड निर्वाचन हो, हालै मात्र स्थानीय तहको निर्वाचन भयो, हाम्रो उपस्थिति कस्तो रह्यो ?! पार्टीको स्थान के रह्यो ? बीपीले स्थापना गरेको पार्टी, त्यसबेलादेखि सुशील’दासम्म नेपाली काङ्ग्रेसकै इर्दगिर्द घुमिरहेको थियो देश या देशको राजनीति ! बीपीको होस्, गणेशमानजी या किसुनजीको होस्, गिरिजाबाबुको होस् या संविधान बनाउँदासम्म सुशील कोइरालाको होस्, काङ्ग्रेस नै राजनीतिको केन्द्रमा देखिन्थ्यो । तर, त्यसपछि नेपाली काङ्ग्रेस कता छ, के गर्दै छ भनी हेर्दा अलिक अप्ठ्यारै परिस्थितिमा परेको छ भन्ने अनुभूति हुन्छ ।

० बीपीको विचार त गिरिजाप्रसादकै पालादेखि छोड्ने क्रम सुरु भएको होइन र ? यसका लागि शेरबहादुर देउवालाई जिम्मेवार ठान्न कति मिल्ला ?
– गिरिजाबाबुले बीपीको विचार छोडेको भनी म भन्न सक्दिनँ । बीपीको मेलमिलापका कुरा, राष्ट्रियता, प्रजातन्त्र र देशलाई बचाउने काम उहाँले गर्नुभयो । त्यसमा उहाँलाई केही अप्ठ्यारो पनि पर्‍यो । नेपाली काङ्ग्रेसका साथीहरूले उहाँलाई गर्नुहुँदैन पनि भने, जतिबेला उहाँले माओवादीलाई साथमा लिएजस्तो अवस्थामा थियो । यस कोणबाट हेर्दा उहाँले बीपीको आदर्श छोड्नुभएको भन्न मिल्दैन । अर्को पाटो यो पनि छ कि राजालाई गिरिजाबाबुले सधैँ साथ लिएर हिँड्न खोज्नुभयो, हात मिलाउन खोज्नुभयो राजासँग, तर राजाले मिलाउँदै नमिलाउने ! यस्तो अवस्थामा नेपाली मरिरहने, काङ्ग्रेसका कार्यकर्ता–नेता गाउँ–गाउँमा मरिरहने भएपछि उहाँले माओवादीलाई साथ लिएर हिँड्नुभएको हो ।

० ०४६ सालको परिवर्तन काङ्ग्रेसको नेतृत्व र एजेण्डाकै अगुवाइमा कम्युनिस्टहरू पछि लागे भन्ने भयो, ०६३ को परिवर्तनचाहिँ कम्युनिस्टको एजेण्डामा काङ्ग्रेस गएर भयो भन्ने कुरा मान्नुहुन्छ कि मान्नुहुन्न तपाईं ?
– म त्यसरी भन्दिनँ, तर बाहबुँदे सम्झौता बन्दाखेरिको परिवेश र त्यसपछिको परिवेशमा अन्तरिम संविधान बनाउँदासम्म चुक्दै पनि गयौँ हामी । कता–कता हामीहरू चुक्यौँ जस्तो नै लाग्छ । मधेसी, जनजाति-आदिवासीको मुद्दामा जो परिकल्पना गरेका थिएनौँ हामीले बाह्रबुँदे गर्दा, त्यसमा हामी चुक्यौँ । अर्को कुरा, बाह्रबुँदे सम्झौतापछि आन्दोलन भयो, मलाई राम्रो हेक्का छ– किनकि त्यतिबेला प्रचण्डहरूसँग भेटघाटको काममा म गिरिजाबाबुसँगै हिँड्थेँ, त्यतिबेला २०४७ सालको संविधानको प्रस्तावना जस्ताको तस्तै राख्ने, राजालाई पनि राख्ने, र त्यसभित्र संसद्को मातहतमा सेनालाई ल्याउने अनि भित्र अरू के–के परिवर्तन गर्नुपर्ने हो मिलाएर गर्ने भन्ने कुराकानी प्रचण्ड र गिरिजाबाबुबीच भएको थियो । त्यसपछि गोविन्दराज जोशी र मलाई पठाउनुभयो गिरिजाबाबुले । यो कुरा स्वीकार्य भयो माओवादीलाई । तर, जुनबेला हामीहरू कुरा गर्दै थियौँ दिल्लीमा, त्यसबेला शेरबहादुरजी प्रधानमन्त्री हुनुहुन्थ्यो, उहाँले पार्लियामेन्ट डिजल्भ गरिदिनुभयो । हामी दिल्लीमै थियौँ, यो कुरा गोविन्दराजजीलाई पनि सोध्दा हुन्छ ।

० पार्लियामेन्ट भङ्ग गरेपछि त्यसको असर के पर्‍यो तपाईंहरूलाई ?
– संसद् विघटन भइसकेपछि कसरी अघि बढ्ने भन्ने सवाल उठ्यो, प्रचण्डहरूले ‘अब तपाईंहरूसँग छलफल गरेर के फाइदा’ भन्ने प्रश्न झिके । यसपछि यहीँ आइयो र पनि माओवादीसँग वार्ता चलिरह्यो भने राजासँग पनि गिरिजाबाबुको कुराकानी जारी नै थियो । यसक्रममा के प्रस्टिँदै गयो भने राजाले हात झिक्दै गए, जसकारण प्रचण्डसँग हात बढाएर अघि बढ्न एकप्रकारले गिरिजाबाबु बाध्य नै हुनुभयो । संसद् विघटन हुनुअघि गिरिजाबाबु प्रधानमन्त्री हुनुहुन्थ्यो, माओवादीलाई समाप्त पार्नुपर्छ भन्ने मान्यता उहाँको थियो । होलेरी काण्डमा राजाले नदिएकै हो (माओवादीमाथि आक्रमण गर्न), नत्र गिरिजाबाबुसँग त सबै सूचना थियो । त्यतिबेला आर्मीले पनि नगरेको र राजाले पनि नदिएको त जगजाहेर कुरा हो । यसपछि गिरिजाबाबु राजासँग अलिक टाढा–टाढा हुन थाल्नुभएको मैले पाएँ ।

० यसको मतलब राजा माओवादीप्रति नरम रहेको महसुस भएपछि गिरिजाबाबु राजासँग टाढिनुभएको थियो हो ?
– हो । एउटा कुरा यो, अर्को, गिरिजाबाबुको बानी के थियो भने आफू प्रधानमन्त्री भए पनि नभए पनि राजासँग भेटेर मात्र जानुहुन्थ्यो । एकपटक मेरो भतिज (दाजुको छोरा)को बिहेमा दिल्ली जाने क्रममा राजासँग भेट्नुभयो गिरिजाबाबुले । त्यो भेटका क्रममा राजाले प्रचण्डसँग दिल्लीमा भेट हुने–नहुनेबारे सोध्नुभएछ । उहाँले ‘हुन पनि सक्छ’ भन्ने लवजमा जवाफ दिनुभएछ । यसको एक–दुई दिनमै राजदूत श्यामशरणलाई राजाले बोलाएर भनेछन् कि गिरिजाप्रसादले दिल्लीमा प्रचण्ड भेट्दै छन्, कुरा के हो ? यस प्रकरणबारे जानकारी पाएपछि गिरिजाबाबुमा अर्को धक्का लाग्यो, अर्को देशको राजदूतसँग आफ्नो कुरा किन सेयर गरेको भनेर । यस्तै–यस्तै कारणले राजासँग दूरी बढ्ने र माओवादीसँग नजिक हुनुपर्ने अवस्था निम्तिएको हो ।

० काङ्ग्रेस सभापतिको रवैयाको सन्दर्भमा फर्कौं, सभापति देउवाको कार्यशैलीसँग तपाईं असहमतचाहिँ हुनुहुन्छ, होइन त ?
– यसमा मेरो दुइटा कुरा छ, कार्यशैलीसँग असहमत हुँदाहुँदै पनि सभापतिको हात–खुट्टा अनावश्यक रूपले बाँध्न खोज्नुहुँदैन भन्ने पक्षको मान्छे म । अर्को कुरा तेह्रौँ महाधिवेशनमा हामीले विधान संशोधन ग¥यौँ, त्यसबेला पनि मैले काङ्ग्रेस केन्द्रीय समितिमा भनेको थिएँ कि सभापतिलाई धेरै बाँध्ने प्रयास नगरौँ साथीहरू । गिरिजाप्रसादलाई नै टार्गेट गरेर यसो गर्नु आवश्यक छैन, उहाँ त ‘डेथ बेड’मा भएको मान्छे हो भनेको थिएँ । अहिले पनि भनेकै छु । तर, यसरी बाँध्न हुँदैन भन्दाभन्दै, पार्टीका साथीहरूले उदारता देखाउँदादेखाउँदै पनि सभापति देउवा जसरी अघि बढ्ने प्रयत्न गर्दै हुनुहुन्छ, यसले पार्टीलाई कमजोर तुल्याउने, काङ्ग्रेस खस्किने अवस्था आएको छ भन्ने मेरो ठहर छ ।

० सभापति भएयता देउवाको खास कमजोरी के देख्नुभएको छ ?
– एउटा सानो समूह लिएर उहाँ हिँड्नुभएको छ । देशको प्रधानमन्त्री, पार्टीको सभापति भएको मान्छे, तर उहाँ सानो समूहबाट माथि उठ्नै सक्नुभएन । उहाँ उठ्नुपथ्र्यो ।

० पहिले पार्टी प्रतिपक्षमा रहँदा देउवाजी पनि गिरिजाबाबु र सुशील कोइरालामाथि यस्तो आरोप लगाउनुहुन्थ्यो कि उहाँहरू सानो घेराको बन्दी बन्नुभयो ! तपाईंलाई सम्झना छ कि ?
– मलाई याद छ, सुशील दाइले आफ्नो कार्यकालमा जति पनि निर्णयहरू गर्नुभयो, प्रधानमन्त्री हुँदा पनि, हरेकजसो मिटिङमा उहाँसँग म शेरबहादुर र निधिजीलाई देख्थेँ । तर, अहिले देउवाजीसँग असन्तुष्ट पक्षधर साथीहरू मिटिङमा बस्न पाएको देख्दिनँ म । म त धेरै टाढा भइहालेँ, तर रामचन्द्रजीहरूलाई समेत बैठकमा सहभागी गराइँदैन ।

० माओवादीसँग सहकार्य गर्ने, दीर्घकालिक रूपमा गठबन्धन गरेर जानेजस्ता रणनीति देउवाजीले जो तर्जुमा गर्नुभएको छ, यसलाई तपाईंले कुन रूपमा लिनुभएको छ ?
– यसमा के छ भने संविधानतः नै हामी ‘कोलियसन कल्चर’मा गएका छौँ । दुई ठूला पार्टी यसरी बाँधिएर जानुहुँदैन भन्ने मेरो धारणा छ । तर, माओवादीलाई सँगै लिएर देउवाजी जसरी जान खोज्दै हुनुहुन्छ यसले नेपाली काङ्ग्रेसलाई कमजोर गर्छ भन्ने मलाई लाग्छ । स्थानीय निर्वाचन जो भयो, त्यसमा शेरबहादुरजीको समूहले केन्द्रबाटै माओवादीसँग गठजोड गर्ने जो नीति अवलम्बन ग¥यो, यसले काङ्ग्रेसलाई कमजोर पारेको छ । काठमाडौंमा हार्नुको हार्नुको एउटा मुख्य कारण माओवादीसँगको गठबन्धन–नीति नै थियो । उम्मेदवारका कारणले पनि होला हुन त, तर काठमाडौंलगायत अन्य ठाउँमा पनि हामीले भरतपुरको गठबन्धनको कारणले सिट गुमायौँ जस्तो लाग्छ मलाई ।

० माओवादीसँग यसरी केन्द्रीय तहबाटै चुनावी गठबन्धन गर्दा पार्टीभित्र यसै पनि झ्याङ्गिएको अन्तर्घात–संस्कृतिलाई वैधानिकता दिन्छ भन्ने लाग्दैन तपाईंलाई ?
– त्यही त ! स्थानीय तहमा गरेको भए हुन्थ्यो । केन्द्रले हस्तक्षेप गर्न हुँदैनथ्यो यस्तो विषयमा । यसले नेपाली काङ्ग्रेस र काङ्ग्रेस कार्यकर्तालाई कमजोर बनायो । जहाँ माओवादी कमजोर थियो त्यहाँ हाम्रो साथ लियो, तर उनीहरू बलियो भएको ठाउँमा काङ्ग्रेसलाई साथ नदिएर हराउने काम भयो ।

० अब शेरबहादुर देउवाजीबाट पार्टी सुदृढ हुने, प्रजातन्त्र सबल हुने, मुलुक र जनताले लाभ पाउने परिस्थिति देख्नुभएको छ कि निराश हुँदै जानुभएको छ तपाईं ?
– म त आशावादी मानिस हुँ । तर, कुनै पनि पार्टीको एउटा महत्वपूर्ण मापदण्ड निर्वाचन हो । यस आधारमा भन्नुपर्दा स्थानीय तहको निर्वाचनमा हामीले सफलता पाउन सकेनौँ । यसले नेपाली काङ्ग्रेस कमजोर हुँदै छ भन्ने देखाउँछ । जसले जे भने पनि काङ्ग्रेस नै एउटा लोकतान्त्रिक पार्टी हो र काङ्ग्रेस कमजोर हुनु भनेको देशका लागि दुर्भाग्य हो । जहाँसम्म यो कमजोरीको जिम्मेवारी कसले लिने भन्ने सवाल छ, यसमा पहिलो जिम्मेवारी त सभापतिले नै लिनुपर्ने हुन्छ । के कारणले पार्टी हार्नुप¥यो भन्दा तीन–चार कारण मुख्य छन् । एउटा आइजी प्रकरण, जसले हामीलाई अप्ठ्यारो परिस्थितिमा लग्यो । दोस्रो राजदूत सिफारिस या नियुक्ति प्रकरण, तेस्रोमा आउँछ महाभियोग प्रकरण । नेपाली काङ्ग्रेसजस्तो लोकतान्त्रिक छवि भएको पार्टीले न्यायपालिकामा त्यसरी प्रवेश गर्नुहुन्नथ्यो । र चौथो, भरतपुर प्रकरण । त्यो चुनावी गठबन्धनले गर्दा नेपाली काङ्ग्रेसको पराजय भएको हो । उम्मेदवारी दिँदा राम्राभन्दा हाम्रा हेर्नाले पनि बिग्रिन गयो । यसको जिम्मेवारी त सभापतिजीले नै लिनुप¥यो नि त ।

० तपाईं विभिन्न कारणसहित सभापतिको गल्ती–कमजोरी देखाउँदै हुनुहुन्छ, तर निकट भविष्यमै ठुल्ठूला दुईवटा चुनाव आउँदै छन्, यता सभापति देउवाले आफ्नो सोच र शैलीमा सुधार गर्न खोजेको पनि देखिँदैन र तपाईंहरूले उहाँलाई सुधार्न दबाब पैदा गर्न पनि सक्नुभएको छैन । यही स्थितिमा आगामी चुनावमा काङ्ग्रेसले कस्तो परिणाम भोग्ला ?
– यही स्थितिबाट जाने हो भने त अप्ठ्यारो परिस्थिति आउँछ नै । अहिले नै हेरौँ न, प्रदेश नम्बर २ मा हुन लागेको चुनाव सम्बन्धमा वरिष्ठ नेता रामचन्द्र पौडेल आउट हुनुहुन्छ, केबी दाइ आउट हुनुहुन्छ, खुमबहादुरजी आउट हुनुहुन्छ, कृष्ण सिटौलाजस्ता व्यक्ति आउट हुनुहुन्छ । मात्र प्रदेश नम्बर २ का केन्द्रीय सदस्य, विमलेन्द्रजी, शशांकजी र शेरबहादुरजी बसेर फैसला गर्दै हुनुहुन्छ । यसबाट अब काङ्ग्रेस कता पुग्ला भनी चिन्ता गर्नुपर्ने अवस्था आएको छ ।

० यसको मतलब अझै शेरबहादुरजी सुध्रिन खोज्नुभएको छैन ?
– उहाँले कार्यशैलीमा सुधार ल्याउनुपर्छ । उहाँलाई चिन्ता छैन भने पनि हामीलाई त काङ्ग्रेसको चिन्ता छ नि त ।

० यसैगरी उहाँ अघि जान खोजे तपाईंहरू केसम्म गर्नुहुन्छ ?
– के गर्ने भन्ने ? नेपाली काङ्ग्रेस छोडेर जाने कुरा त आउँदैन । चौधौँ महाधिवेशन पर्खिन्छौँ । यसका लागि उचित तयारी गर्छौं हामी ।

० ए… ! त्यसो भए चौधौँ महाधिवेशनसम्म पुग्दा काङ्ग्रेस जत्रो साइजमा बाँकी बस्छ त्यसैको नेता बन्न तयार छौँ भन्न खोज्नुभएको हो ?
– तीन–चार वर्ष बाँकी छ । देउवाजीलाई हटाउने भन्न खोजिएको होइन, सभापति भइसकेपछि उहाँले आफूलाई परिवर्तन गर्न सक्नुपर्‍यो । पार्टीमा पृथक् सोचविचार राख्ने समूह पनि छन्, ती समूहका साथीहरूलाई पनि समेटेर हिँड्न सकियो भने शेरबहादुरजी सफल हुनुहुनेछ, उहाँ सफल हुनु भनेको नेपाली काङ्ग्रेस सफल हुनु हो । यो भन्न खोजेको मैले ।

० शेरबहादुरजीले त अहिले नै आफू सफल भएको ठान्नुहुन्छ, तर काङ्ग्रेस त सफल भएको छैन नि ?
– म पनि यही त भनिरहेको छु ।

० शेरबहादुरजीले खोजेको प्रधानमन्त्री र पार्टी सभापतिको पद हो, त्यो दुवै उहाँलाई प्राप्त भएको छ…
– त्यति मात्र होइन, शेरबहादुरजी प्रधानमन्त्री हुनुभयो, सभापति हुनुभयो, सबै भ्रातृसंस्था उहाँकै पकडमा छ, यस्तोमा अब नेपाली काङ्ग्रेसचाहिँ कहाँ छ भनेर उहाँले विचार गर्नुपर्‍यो।

० काङ्ग्रेस जहाँ भए पनि आफूले प्रधानमन्त्री र सभापतिको पद पाइरहेपछि त्यो नै सफलता भएन र ?

– त्यो त म मान्दिनँ ।

० उहाँले त त्यही ठानिरहनुभएको देखिन्छ ?
– उहाँले ठान्नु आफ्नो ठाउँमा छ, तर म ठान्दिनँ ।

० यसको प्रतिवाद कसरी गर्नुहुन्छ त ?

– प्रतिवाद भनेर अब लडाइँ गर्ने कुरा भएन । उहाँले सच्चिने–सच्याउने ठाउँ धेरै छन् । रियलाइजेसन हुनुप¥यो उहाँलाई । यो बोध गरेर सबैलाई साथ लिई उहाँ अघि बढ्नुहुन्छ भने उहाँको पनि हित हुन्छ र पार्टीको पनि ।

० यसको मतलब चौधौँ महाधिवेसनसम्म तपाईं सभापतिको गलत क्रियाकलापको आलोचना या खण्डन मात्र गर्दै हिँड्नुहुन्छ ?
– राम्रो कामको समर्थन र नराम्रोको आलोचना र खण्डन दुवै गर्नेछु मैले । राम्रो कुराका लागि त उहाँको सर्वत्र समर्थन गरेकै छु । गिरिजाबाबु, सुशील दाइलाई पनि गलत गर्दा मैले गलत गर्नुभयो भनी भनेकै हुँ । देउवाजीलाई पनि त्यही हो ।

० पार्टीभित्र र बाहिरका पनि धेरैले देउवा विश्वास गर्न लायक हुनुहुन्न, हामीले धोका पायौँ भन्छन्, तपाईंले कहिल्यै त्यस्तो महसुस गर्नुभएको छ ?
– त्यसरी नहेरौँ होला । आफ्नो स्वार्थका लागि कतिपयलाई केही भन्नुभयो होला, वचन दिनुभयो होला, मसँग पनि यस्तो भएको होला… ।

० तपाईंलाई पनि पहिले प्रचण्डजीकै पालामा परराष्ट्रमन्त्री बनाउने भनेको, पछि बनाउनुभएन, आफू प्रधानमन्त्री भएपछि बनाउनेछु भनी तपाईंलाई नै कमिटमेन्ट गर्नुभएको, तर प्रधानमन्त्री भइसकेपछि तपाईंलाई बिर्सिएको भन्ने कुरा आयो, त्यस्तो भएको हो ?
– यो कुरा त सही नै हो, तर यस्ता कुरालाई इस्यु बनाउन चाहिनँ मैले, मेरो बानी पनि छैन यस्ता विषयलाई मुद्दा बनाउने ।

० आफ्नो पार्टीको आफूले मानेका नेताले दिएको वचन पूरा नहुँदा कस्तो लाग्दोरहेछ ?
– उहाँले मलाई कमिट गरेको हो, त्यसमा शङ्का छैन, तर उहाँले बनाउनुभएन भनेर म दुःखी पनि छैन । आई एम मोर देन ह्याप्पी !

० आफैँ बन्न सक्छु भन्ने विश्वास छ ?
– काम गर्दै जानेछु । पार्टीका कार्यकर्ता साथीहरूले पत्याए भने योभन्दा अगाडि गइहाल्छु नि, किन नजाने ? पत्याउनुपर्‍यो, पत्याउने काम गर्नुपर्‍यो ।

० आउने अधिवेशनसम्ममा तपाईं पार्टीको सभापतिका लागि तयार हुन सक्नुहुन्छ ?
– पार्टी सभापति हुने–नहुने इत्यादि कुरामा… कसरी समय अघि बढ्छ अहिले नै भन्न सक्ने अवस्थामा म छैन । तर, नेपाली काङ्ग्रेसका मेचीदेखि महाकालीसम्मका कार्यकर्ताले त्यही ढङ्गले पत्याए भने त्यो पनि हुन सक्छ, किन नहोला ?

० बेलाबखत कोइराला परिवारका चर्चित तीन सदस्य (शेखर, शशाङ्क र सुजाता) मिटिङ गर्ने गर्छन्, बाहिर चर्चा चल्छ, यसको कुनै राजनीतिक अर्थ पनि छ कि ?
– हामी त्यसरी सँगै खाना खान मात्रै त बसेको पक्कै होइन होला । नेपाली काङ्ग्रेस कमजोर भयो, बीपीले प्रतिपादन गर्नुभएको काङ्ग्रेसको सिद्धान्त– राष्ट्रियता, लोकतन्त्र, समाजवाद कमजोर भइरहेको छ भनेर हामी छलफल त गर्छौं नि । को सभापति हुने भन्ने कोणबाट हामी छलफल गर्दैनौँ, तर कमजोर बनिरहेको पार्टीको अवस्था उकास्नका लागि शेरबहादुरजीलाई कसरी सम्झाउने, रामचन्द्रजीलाई कसरी साथ लिने, सबै सँगै भएर कसरी अघि बढ्न सकिन्छ र काङ्ग्रेसलाई कसरी मजबुत पार्न सकिन्छ भन्ने विषयमा छलफल गर्छौँ हामी । चिन्ता पार्टीको हुन्छ न कि व्यक्तिविशेषको ।

० यस्तोमा कुनै उपाय पनि निकाल्न सक्नुभएको छ कि तपाईंहरूले ?
– छलफलहरू सुरु गर्दै छौँ भर्खर, उपायहरू त निस्किहाल्छन् नि । आखिर पार्टीलाई बलियो बनाउने कुरा न हो ।

० काङ्ग्रेसमा नयाँ पुस्ताबाट पनि विकल्प दिने प्रयत्न भएको अनुभूति गरिँदै छ, यसलाई तपाईं कुन रूपमा लिनुहुन्छ ?
– काङ्ग्रेस यस्तो अवस्थामा छ कि यसका शीर्षनेताहरू बीपी, गणेशमान, किसनुजीहरूसँग काम गरेका व्यक्ति हुन् भने पार्टीमा त्योभन्दा तल्लो पुस्ता र नितान्त नयाँ पुस्ता पनि यसमा क्रियाशील छन् । आज शीर्षतहमा देखिएका नेताहरूले आफ्नो समयमा काम पनि गरेकै हुन्, दिन सक्ने योगदान दिएकै हुन् । होला, कतिपय तिनका कमजोरी पनि, पार्टी बिग्रने अवस्था पनि तिनबाट निम्तियो होला, तथापि उनीहरूले राम्रै गर्न खोजे भन्ने ठान्छु । तर, अब नयाँ पुस्ता आइसक्यो । पढेलेखेको पुस्ता आएको छ देशभरि । महाधिवेशन प्रतिनिधिको मात्र कुरा गरेको होइन मैले, तल्लो तहमा पनि त्यस्ता सचेत युवा छन् अब काङ्ग्रेसमा । उनीहरूको भविष्यलाई पार्टीले विचार गर्न सक्नुपर्छ, व्यवस्थापन गर्न सक्नुपर्छ । यसो गर्न सके मात्र पार्टीको भविष्य थप उज्ज्वल हुनेछ । मचाहिँ यस पुस्तामाथि विचार गर्ने पक्षमा छु ।

० यतिबेला काङ्ग्रेसलाई सुधार गर्नुपर्दा कहाँबाट सुरु गर्नुपर्छ भन्ने सोच राख्नुहुन्छ तपाईं ?
– काङ्ग्रेसलाई सुधार गर्न त ‘टप’बाटै सुरु गर्नुपर्ने देखिन्छ, तलबाट होइन । मैले त दुवै ग्रुपका नेताहरूलाई (शेरबहादुर र रामचन्द्र) बेग्लाबेग्लै भने कि तपाईंहरू मन्त्री बनाउँदा, अर्को कुनै जिम्मेवारी दिनुपर्दा आ–आफ्नो समूह देखाउनुहुन्छ, यस्तो नगर्नुस् । तपाईंहरू दुईजना बस्नुस्, स्वस्थ छलफल गर्नुस् र निचोडमा पुग्नुस् । भागबन्डाको संस्कृति हुर्किंदा कार्यकर्तामा नराम्रो सन्देश गएको छ, पार्टीभित्रको झगडा सडकमा नल्याउनुस्, यसले पार्टीलाई कमजोर पार्छ भनेर भन्ने गर्छु म । तर, मान्नुहुन्न, सुन्नुहुन्न ।

० वास्तविकता त यही नै हो कि गुटगत सम्झौतामा पार्टी चलिरहेको छ, होइन ?
– हो, यस्तो विडम्बनाबाट पार्टी गुज्रनुपरेको छ ।

० यसरी ग्रुपका आधारमा चल्दा पनि अहिले ‘कोइराला समूह’ले चाहिँ भाग पाइरहेको छैन नि, किन होला ?
– म त कुनै ग्रुपमै छैन । कोइराला ग्रुप भन्ने बेग्लै समूह छ भन्ने मलाई त लाग्दैन । त्यस्तो छैन ।

० कुनै पनि ग्रुपमा तपाईं अटाउनुभएको छैन भन्न मिल्छ त ?
– म त्यस्ता ग्रुपमा जाँदैजान्नँ, गएको पनि छैन । भोट दिनुपर्दा एउटा कसै न कसैलाई दिनैपर्छ र मैले रामचन्द्रजीलाई दिएको हुँ । त्यो कुनै समूह भनेर होइन । देउवाजीलाई पनि खुलस्तै भनिदिएको छु कि भोट त मैले तपाईंलाई दिएको छैन है भनेर ।

० तपाईं काङ्ग्रेसको महाधिवेशनमा सबैभन्दा बढी मत पाएर जित्नुभएको नेता, यसको मतलब काङ्ग्रेसका धेरैभन्दा धेरै कार्यकर्ताको तपाईंमाथि आशा र भरोसा छ । त्यो आशा र भरोसाअनुसारको काम गर्न सकेको छु जस्तो लागेको छ तपाईंलाई ?
– म अहिले नेपाली काङ्ग्रेसको एउटा केन्द्रीय सदस्य हो । सांसद हो । मलाई जुन विश्वास गरेर काङ्ग्रेसका कार्यकर्ता साथीहरूले भोट दिनुभएको छ, जति उहाँहरूले मलाई माया गरेर जिताउनुभयो, त्यो मायामा अझ माया थपेर फर्काउन मैले सक्दो प्रयास गरेको छु, गरिरहेको छु ।

० वर्तमान काङ्ग्रेस नेतृत्वप्रति कार्यकर्ता तहमा व्यापक असन्तुष्टि छ र कार्यकर्ता पङ्क्तिले छटपटिँदै यस नेतृत्वको विकल्प दिन सक्ने नेता खोजिरहेको छ, तर कोही फेला नपरिरहेको भन्ने तपाईंले महसुस गर्नुभएको छ ? अनि, यो रिक्तता पूर्ति गर्न सक्छु भन्ने विश्वास तपाईंलाई छ ?
– यो वास्तविकता हो । जहाँसम्म मेरो प्रश्न छ, मैले त कोसिस गर्दै जाने हो, इमानदारीपूर्वक पार्टीको हित हुने काम–कुरा लिएर पार्टीका साथीहरूमाझ पुग्ने हो । शीर्ष नेतृत्वले गरेका राम्रा कामबारे पनि साथीहरूलाई बताउने हो, गल्ती भएको कुरालाई त्यसैअनुसार बुझाउने हो । पार्टीका कार्यकर्ताले पनि बुझेकै छन्, आमजनता नै सचेत छन् आज । जो कार्यकर्ता आज पीडामा छन्, पार्टीको भविष्यप्रतिको चिन्ताले सताइएका छन्, उहाँहरूलाई आश्वस्त पार्न केही न केही हदसम्म मैले सकेको छु भन्ने लाग्छ ।

० शेरबहादुरजीले सभापतिका रूपमा गरेका कामको जिम्मेवारी सिङ्गै पार्टी–पङ्क्तिले लिनुपर्छ भन्ने ठान्नुहुन्छ कि ठान्नुहुन्न तपाईं ?
– उहाँ पार्टी सभापति भएकाले एउटा संस्था पनि हो । कार्यसमितिमा भएका निर्णयको जिम्मेवारी त हामीले पनि लिनैप¥यो । तर, कार्यसमितिबाहेक पनि निर्णयहरू हुन्छन्, त्यस्ता निर्णयलाई चाहिँ मेरिटका आधारमा मात्रै अपनाउँछु म, न कि सभापतिले गरेका हुन् भन्दैमा आँखा चिम्लेर मान्न सक्छु ।

० एक नम्बरमा अस्वीकार गर्नुपर्दा सभापतिको कुनचाहिँ कुरालाई अस्वीकार गर्नुहन्छ तपाईं ?
– मैले अघि नै बताएका चार–पाँचवटा जुन बुँदाहरू थिए नि– प्रधानन्यायाधीशमाथिको महाअभियोग, प्रहरी महानिरीक्षक नियुक्तिमा बलजफ्ती, राजदूत नियुक्तिमा बदनामी, केन्द्रीय तहबाट माओवादीसँगको चुनावी गठबन्धनजस्ता कुरामा म सहमत छैन र जिम्मेवारी पनि लिन्नँ ।

० यस्ता महत्वपूर्ण कुरामा तपाईं जिम्मेवारी लिन नसक्ने अवस्थामा हुनुहुँदोरहेछ भने शेरबहादुरजीले गरेका कुनचाहिँ कुरा राम्रो छ भनी सहमत हुनुहुन्छ त ?
– पार्टीको केन्द्रीय समितिले अनेक निर्णयहरू लिएका छन् । ती सबै नराम्रा त छैनन् नि ।

० अन्त्यमा, यस अवस्थामा पार्टीका कार्यकर्ताहरूलाई दिने सन्देश के हुन्छ तपाईंबाट ?
– शीर्ष नेताहरूको क्रियाकलापका कारण कार्यकर्ता साथीहरू कतै–कतै विचलित भएको पनि म देख्छु, म भन्न चाहन्छु कि विचलित नहुनुस् ! पार्टीमा यस्ता कुरा आइरहन्छन्, भइरहन्छन् । काङ्ग्रेस एउटा खास सिद्धान्तमा आधारित राजनीतिक दल हो । बीपीले प्रतिपादन गर्नुभएको सिद्धान्त र आदर्शलाई धानेर गाउँ–गाउँमा बस्नुभएका कार्यकर्ता साथीहरूले विचलित हुनुपर्ने कारण छैन, किनकि तपाईंहरू नै पार्टीका आधार हुनुहुन्छ । विकार–विकृति भन्ने कुरा त आउँछ–जान्छ । आफ्नो स्वच्छ अडान छोड्नुहुँदैन । यसबाटै पार्टीलाई स्वच्छ र मजबुत बनाउन सहयोग पुग्छ ।

हेर्नुहोस् भिडियो–