नेपाली प्रधानमन्त्री तिर्खाउँदा भारतीय विदेशमन्त्रीले दिइन् पानी

नेपाली प्रधानमन्त्री तिर्खाउँदा भारतीय विदेशमन्त्रीले दिइन् पानी



– वीरेन्द्र केएम (नयाँ दिल्लीबाट फर्केर)

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणबारे यतिबेला निकै चर्चा–परिचर्चा भइरहेको छ । त्यसो त भ्रमणको चर्चा हुनु अस्वाभाविक कुरा भएन, किनकि यो कुनै चानचुने भ्रमण थिएन, कार्यकारीको राजकीय भ्रमण जो थियो ।

कुनै पनि देशका कार्यकारी प्रमुख वा उच्च ओहदाका कुटनीतिज्ञ कुनै अर्को देश जाँदा त्यहाँ उनले कसरी बोल्ने, के बोल्ने, के गर्नेदेखि आफ्ना हरेक क्रियाकलाप निकै सोचेर गर्नुपर्ने हुन्छ भने यसबारे ध्यान पुऱ्याउन अन्य सहयोगीहरू पनि त्यत्तिकै मात्रामा तैनाथ रहेका हुन्छन् ।

यद्यपि, प्रधानमन्त्री भएर चौथो पटक भारत भ्रमणमा गएका देउवाको राजकीय भ्रमणमा त्यति गम्भीरता नरहेको पाइयो । उनका साथमा एउटा जम्बो टोली त थियो तर सो टोलीका सदस्यहरूको सक्रियता भने खासै देखिएन । भारतस्थित नेपाली दूतावासका कर्मचारीहरूको भूमिका त झन् सुहाउँदो थिएन । जम्बो टोली लिएर प्रधानमन्त्री भारत पुगेको भएता पनि टोलीमा सामेल रहेका सदस्यहरूको अक्षमता प्रधानमन्त्री देउवामार्फत झल्किरहेको थियो ।

प्रधानमन्त्री देउवाले विभिन्न मञ्चमा बोलिरहँदा सबैभन्दा बढी आलोचना दर्शकदीर्घामा सुनिने गरिन्थ्यो । हैदराबाद हाउसमा देउवाले बोलिरहँदा पत्रकार अनिल गिरिले भन्दै थिए, ‘कसले लेखेको होला यो स्पिच ? प्रधानमन्त्रीको स्पिचको यो स्तरीयता भएन’ छेउमा रहेका अर्का पत्रकार पर्शुराम काफ्ले थपे, ‘यो हुँदैभएन, आउनचाहिँ यत्रो जम्बो टोली लिएर आउने अनि यहाँ विचरा प्रधानमन्त्रीजीले मात्र तनाव लिनुपर्ने ? यो स्पिचको स्तरीयताले देशको शानमा ठेस पुगेको छ ।’

यसरी प्रधानमन्त्री बोलिरहदा त्यहाँ मात्र होइन बरु, ब्यपारीहरूको कार्यक्रम, इण्डिया फाउन्डेसनको कार्यक्रम र राष्ट्रपति भवनमा गार्ड अफ अनर भइरहँदा प्रधानमन्त्रीले बोलेका कुराको त कुनै चर्चै नगरौँ !

कुटनीतिक क्षेत्रमा राम्रो दखल राख्ने पत्रकार सविन धमलाले भने, ‘यो गल्ती प्रधानमन्त्रीको होइन बरु उनका सहयोगीहरूको हो, उहाँसँग आएका यो जम्बो टोली मोदीको भात खान मात्र आएका होइनन्, प्रधानमन्त्रीलाई सघाउन आएका हुन् । तर यहाँ त्यस्तो देखिएन । उनले थपे– ‘नेपालबाट आएका भ्रमण टोलीका सदस्यहरूलाई सेल्फी लिँदा र सपिङ गर्न फुर्सद भए पो प्रधानमन्त्रीको ख्याल राखुन् ।’

पानी सुषमाको हातबाट, नेपाली डेलिगेट्स हेरेकोहेर्‍यै
प्रधानमन्त्री देउवाको भारत भ्रमणका बेला नेपाली डेलिगेशनको सबैभन्दा आलोचना तब भयो जब प्रधानमन्त्री देउवा घाँटी सुकेर ‘ख्वाक..ख्वाक’ गरिरहे तर नेपाली पक्ष टुलुटुलु हेरर बसिरह्यो । यो घटनालाई सामान्य मान्न पक्कै सकिँदैन, प्रधानमन्त्री देउवा आफ्ना समकक्षीसहितका भारतीय नेतृत्वले देखाएको संवेदनशीलताको कारण केही समयस्थित भावुकमय नै बन्न पुगेको थियो ।

उच्चस्तरीय भ्रमणटोलीसहितको समकक्षीसँगको दुईपक्षीय वार्ता सकेर संयुक्त पत्रकार सम्मेलनको लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पोडियममा उभिएका देउवा समकक्षीले देखाएको सदासयताले उपस्थित सिङ्गो कार्यक्रम हल भावुक बन्न पुगेको थियो । घटनाक्रम त्यतिबेलाको हो जब द्विपक्षी वार्तापछि संयुक्त पत्रकार सम्मेलन सुरु भयो, नेपालका प्रधानमन्त्री देउवाले आफ्नो भ्रमणको क्रममा दुई देशबीच भएका सहमति र आफ्नो भ्रमणको विषयमा आफ्नो धारणा राखिरहेका थिए । सामान्य स्वास्थ्य समस्या रहेका प्रधानमन्त्री देउवा बोल्दाबोल्दै बीच–बीचमा खोक्दै थिए । अगाडि लामा लागेर बसेका नेपाली डेलिगेनको प्रधानमन्त्रीको भनाई सुनिरहेका थिए । सबैको ध्यान दुई मुलुकका प्रधानमन्त्रीहरूमाथि नै थियो ।

तर, भारतीय प्रधानमन्त्री मोदीले छेउमै रहेको मिनरल वाटरको बोतलतर्फ आफ्नो ध्यान आकर्षित गरे । देउवा बोलिरहँदा उनले बोतलको पानी गिलासमा खन्याइसकेका थिए । पानी खन्याइसकेपछि उनले भारतीय विदेशमन्त्री सुषमा स्वराजतर्फ इशारा गरे । स्वराज आएर त्यो ग्लास बोकी देउवाको अगाडि राखिदिँदै पानी पिउन इशारा गरिन् । घाँटीमा खसखस भएर होला बोल्दाबोल्दै बीच–बीचमा खोकिरहेका देउवालाई सौहाद्र्धपूर्ण रूपमा सदासयता देखाउँदै स्वराजले पानी दिइन्, देउवाले पिए र मन्तब्य टुङ्ग्याए । सुषमाले पानी दिँदा देउवा निकै भावुक देखिए । उनी भावनामा बहकिएको अनुमान सहजै गर्न सकिन्थ्यो, त्यही क्षणमा देउवाले नेपालको भूमि भारतविरुद्ध कुनै पनि हालतमा प्रयोग गर्न दिन्न भन्दै प्रतिबद्धता समेत गर्न भ्याए । यो भनिरहँदा देउवाको अनुहार र आवाजमा निकै नै भावुकता देखिएको थियो । दर्शकदीर्घामा बसेका नेपाली र भारतीय पत्रकारहरूमाझ समेत यस विषयको चर्चासहित गाइँगुइँ सुनिन्थ्यो । एबीपी न्युजका पत्रकार आशिष सिंहले भने, ‘भारत–नेपाल विषयमा कुनै प्रोटोकल छैन भन्ने यस घटनाले देखाएको छ ।’ छेउमा बसेकी एएनआइकी सम्पादक सुमिता प्रकाशले भनिन् यो कुनै समान्य घटानाक्रम होइन भारतीय पक्षले मानवता र अपनत्वमा कुनै प्रोटोकल हुँदैन भन्ने सावित गरेको छ । सँगै रहेका नेपाली पत्रकारहरूले नेपाली डेलिगेशन टिमप्रति निकै नै असन्तुिष्ट ब्यक्त गरिरहेका थिए ।

यद्यपि, देउवालाई पानी पियाउन मोदी र सुषमा आफै सक्रिय भइरहँदा नेपाली डेलिगेशन भने लाजले पानी–पानी भएको देखिन्थ्यो भने प्रायःको आँखामा ‘शर्म’ भरिएको प्रष्टै देखिन्थ्यो ।