राजपाले अति गरे एमाले चुप बस्दैन : ओली

राजपाले अति गरे एमाले चुप बस्दैन : ओली


नेकपा एमाले अध्यक्ष केपी ओलीले राष्ट्रिय जनता पार्टी राजपाका नेता कार्यकर्ताले अति गरे एमाले चुप लागेर नबस्ने भन्दै राजनीतिक चरित्र देखाउन आग्रह गरेका छन् ।

‘यस्तै रहे एमाले कार्यकर्ता पनि चुप लागेर बस्दैन’ थाइल्याण्डमा स्वदेश फर्कने क्रममा बुधबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग उनले भने ‘एमाले प्रतिकार गर्न समेत अग्रसर हुनेछ’ ।

ओलीले संविधान स्वीकार गरेको एउटा राजनीतिक दलले शान्तिपूर्ण रुपमा गरेको अर्को दलको कार्यक्रममा ढुङगामुढा गरेर गैरसंवैधानिक हर्कत देखाएको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

उनले एमालेका नेताले एउटा टोपी लगाउँदा स्पष्टिकरण सोध्ने निर्वाचन आयोगले एमालेको कार्यक्रममा ढुङगामुढा भएको विषय किन नदेखेको भनि आयोगमाथी समेत खनिए ।

उनले प्रश्न गरे, ‘ढुङगामुढा भएको घटनाप्रति निर्वाचन आयोग र सरकार दुवै बेखबर छन् तर एउटा टोपी लगाएको विषमया चाहि स्पष्टिकरण सोधिन्छ, यो कस्तो सरकार ? कस्तो निर्वाचन आयोग हो र? ’

अध्यक्ष ओलीले राजपाका नेता कार्यकर्ताले मंगलबार जनकपुरमा गरेको त्यो व्यवहार फेरि दोहोरिए एमाले चुप लागेर नवस्ने चेतावनी दिए । उनले भने ‘यस्तै भए एमाले पनि चुप लागेर बस्दैन, त्यही किसिमको व्यवहार गर्न नपरोस् ।’

ओलीले सरकारले प्रदेश र केन्द्रीय संसदको चुनाव मंसिर १० र २१ गते दुइ चरणमा तोकेर गल्ति गरेको पनि बताए । सरकारले २ चरणमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन गराउने निर्णय गरेर झनै आफ्नो विश्वास गुमाउने काम गरेको प्रतिक्रिया दिए ।

उनले प्रमुख दलहरुसँग परामर्श समेत नगरी सरकारलाई निर्वाचनको मिति तोक्ने अधिकार नरहेको तर्क पनि गरे । अध्यक्ष ओलीले सरकार र सत्तारुढ दलहरु एकपछि अर्को अविश्वसनीय क्रियाकलाप गर्न लागि परेको आरोप पनि लगाए ।

बुधबार विहान बसेको मन्त्रीपरिषद बैठकले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको थियो ।