ठूला पार्टीका नेतामाथि बिजुक्छेंले लगाए आरोप

ठूला पार्टीका नेतामाथि बिजुक्छेंले लगाए आरोप


‘सिंहदरबारको अधिकार गाउँ-गाउँ’ भन्ने नारा दिएर ठूला दलले जनतामाथि भ्रमको खेती गरेको आरोप नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले लगाएका छन् । ठूला पार्टीका नेता विदेशी प्रभावमा पर्दा देश संकटमा पर्दै गएको समेत नेता बिजुक्छेंको दाबी छ ।

बुधबार रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणमा दिएको अभिव्यक्ति संसदको मान मर्यादाविपरीत रहेको टिप्पणी मात्र गरेनन्, संसदले नेपाल र भारतको सीमामा बनाएका विभिन्न बाँध भत्काउने निर्णय गरे पनि सरकार चुप लागेर बस्नु गलत भएको भन्दै आक्रोश व्यक्त गरे । बाढीपीडितको राहत वितरण कार्यलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता पनि अध्यक्ष बिजुक्छेंले औंल्याए । तोकिएको समयमै चुनाव हुनुपर्नेमा जोड दिँदै उनले निर्वाचन आयोगलाई सरकारले प्रभाव र दबाबमा पारेर मिति परिवर्तन गराउन खोजे कसैको हित नहुने सुझाव दिए ।