नवरपरासीमा मात्रै ७८ करोडको क्षति

नवरपरासीमा मात्रै ७८ करोडको क्षति


आरपी उपाध्याय (नवलपरासी) । बाढीले नवलपरासीको कृषि क्षेत्रमा करिब ७८ करोड रकम बराबरको क्षति पुऱ्याएको छ । कहालीलाग्दो गरी आएको बाढीको पानी खेतमा जमेर ७७ करोड, ३३ लाख, १९ हजार रकम बराबरको अन्नबाली नष्ट भएका छन् । धानबाली, तरकारी खेती र माछा पालनमा समेतमा बाढीले ब्यापक क्षति पुऱ्याएको थियो ।

दुई साता अगाडी भारी वर्षा र स्थानीय खोलाहरुको बाँध फुटेर गाउँगाउँमा पसेको बाढीका पानी निकास हुन नपाएपछि खेतमै जमेर अन्नबाली नष्ट भएको छ भने पालन गरिएका माछा मरेर र बगेर व्यापारीलाई ठूलो नोक्सान पुगेको छ । जिल्लाको सीमावर्ती इलाका प्रतापपुर, सरावल, सुस्ता र पाल्हीनन्द गरी चार गाउँपालिकामा बढि क्षति भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत तेजनारायण गैरेले जानकारी दिए ।

बाढीका कारण खाद्यान्न बालिमा ६७ करोड ८७ लाख ७३ हजार ३ सय ७५, तरकारीमा ४ करोड २६ लाख ५५ हजार १६६ र माछामा ५ करोड १८ लाख ९० हजार ६ सय २५ रुपियाँ बराबरको क्षति भएको बताइएको छ । त्यस्तै, सरावल गाउँपालिकामा २३ करोड ७८ लाख ६२ हजार ७ सय ३० रुपिया बराबरको क्षति भएको छ भने प्रतापपुर गाँउपालिकामा ४ करोड २१ लख ३३ हजार ३ सय ३३, पाल्हीनन्दन गाउँपालिकामा २५ करोड ९२ लाख ५४ हजार ७ सय ५०, सुस्ता गाउँपालिका २४ करोड १ लाख ७५ हजारको क्षति भएको कृषि कार्यालयले जानकारी दिएको छ ।

यता त्रिवेणी गाउँपालिकामा ३४ लाख १० हजार, मध्यविन्दु नगरपालिकामा १७ करोड ९५ लाख २० हजार २ सय ५०, बर्दघाट नगरपालिकामा ५८ लाख ४१ हजार ५ सय २० र रामग्राम नगरपालिकामा ६६ लाख ४४ हजार २ सय को क्षति भएको कार्यालयले बताएको छ ।

यसैबिच बाढीले शिक्षा क्षेत्रअन्तर्गत २१ विद्यालयहरुको भौतिक संरचना र सामाग्रीमा गेर २१ लाखको क्षति पुऱ्याएको छ । बाढीका कारण केही विद्यालयका भौतिक संरचना विग्रेका छन् भने विद्यालयमा बिछ्याइएकोे कार्पेट, कुसन, गलैचा र किताबहरुमा समेत क्षति पुऱ्याएको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ । बाढीकै कारण २१ वटा विद्यालयमा १५ दिनसम्म पठनपाठन ठप्प रहेको थियो । बाढीको पानी विद्यालय परिसर र बाटोबाट बग्न थालेपछि गत ६ गतेदेखि ति विद्यालयमा पठनपाठन सुचारु भएको हो ।

यता बाढीले भत्काएको महेशपुर त्रिवेणी सडक खण्डको बाटोमा अझै यातायात सुचारु हुन सकेको छैन । सीमाक्षेत्र महेसपुर हुँदै त्रिवेणी निस्केको बाटोमा करिब ३० फिट बाटो बाढीका कारण भत्केको छ जहाँ अझै यातायात सुचारु हुन सकेको छैन । बाढीले भुजहवा र बुडन्तवापुरको बीचमा बाटो भत्केको छ । साईकल-मोटरसाईकल र पैदलयात्री मात्र त्यसबाट बडो मुस्किलले यात्रा गरिहेका छन् । चार पांग्रे कुनै सवारी साधनहरु आवतजावत गर्न सकेको छैन ।

यसैबीच नवलपरासीको सुस्ता गाउँपालिका सुस्तामा पनि बाढी पसेपछि ठुलो मात्रामा धनमालको नोक्सानी पुगेको छ । राहत सामाग्रीको वितरणको अवस्थाबारे नवलपरासीका प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा अधिकारीहरुको टोलीले निरिक्षण कार्य समपन्न गरेको छ । प्रजिअ उदय बहादुर राना मगरको नेतृत्वमा सुस्ता पुगेको सुरक्षा अधिकारीहरुमा अंचल प्रहरी कार्यालय भैरहवाकावरिष्ठ प्रहरी उपरिक्षक दिपक थापा, नवलपरासीका प्रहरी प्रमुख मुकुन्द आचार्य, सीमा सुरक्षा कार्यालयका एसपी वीरेन्द्रराज श्रेष्ठ लगायतका सुरक्षा अधिकारिहरुले डुबान कटानको अवस्था र राहत सामाग्रीको वितरण प्रणालीबारे जानकारी लिएका छन् । प्रजिअ राना मगरले डुबानबाट बढि प्रभावित भएका एकसय ९ घरपरिवारलाई राहत सामाग्री वितरण गर्नुभएको थियो । सो अवसरमा सुस्ता गाउपालिका वडा नम्बर ५ का वडाध्यक्ष प्रभुनाथ कोइरी, आदम हुसेन खां, लैयला बेगम लगायतले ठुलो संख्यामा सुस्तावासीहरुले सुस्तामा भएको क्षतिबारे सुस्तामा भएको ध्यानाकर्षण गराएका थिए ।