गर्भिणी गैँडाको उद्धार, उद्धार टोली भारतमै

गर्भिणी गैँडाको उद्धार, उद्धार टोली भारतमै


बाढीको चपेटामा परेर भारत पुगेको एक गर्भिणी गैँडालाई बिहीबार राति उद्धार गरेर चितवन राष्ट्रिय निकुञ्जमा छोडिएको छ । निकुञ्जबाट बाढीले बगाएर भारत पु¥याएको उक्त दुर्लभ एकसिङ्गे गैँडालाई दुई दिनको अथक प्रयासपछि उद्धार गरिएको हो ।

हिजो राती ८ बजे चितवनको रत्ननगरस्थित जनकौली मध्यवर्ती सामुदायिक वनबाट निकुञ्जमा छाडिएको सो गैँडा निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्याल तथा वरिष्ठ पशु चिकित्सक डा. कमल गैरे नेतृत्वको टोलीले नेपाल–भारत सीमा क्षेत्रको दक्षिणपूर्व करिब १६ किलोमिटर टाढा भेडियारी भन्ने स्थानबाट उद्धार गरेको थियो ।

निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकलाई उद्धत गर्दै राससले जनाएअनुसार बगेर गएको गैँडा भारतमा रहेको सूचना पाएपछि निकुञ्जको प्राविधिक सहितको टोली यही भदौ १३ गते उद्धारका लागि दोस्रो पटक भारत गएको थियो । दुई दिनको प्रयासमा करिब १५ वर्षको गर्भिणी गैँडाको उद्धार भएको हो ।

यसअघि पनि निकुञ्जले भारतबाट पाँच र नेपाल–भारत सीमा क्षेत्रबाट एउटा गरी ६ वटा गैँडाको उद्धार गरिसकेको छ । अहिलेसम्म बाढीबाट बगाएका सात गैँडाको उद्धार भएको चितवन निकुञ्जले जनाएको छ । ६ वटाको उद्धार गरी फर्किएको टोली पुनः गैँडा रहेको थाहा पाएपछि उद्धारका लागि भदौ १३ गते पुनः भारत गएको थियो । अझै एउटा गैँडा रहेकाले प्राविधिकसहितको टोली गैँडाको खोजीमा भारतमै रहेको बताइएको छ ।