पार्टी फुट्दा कमललाई उर्जा !

पार्टी फुट्दा कमललाई उर्जा !


राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफ्नो दलले हिन्दू राष्ट्र र राजतन्त्रको नारालाई नछाडेको र यही एजेण्डाका आधारमा पार्टी संगठन विस्तार गरिने उदघोष गरेका छन् । नेपालगञ्जमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले भने,’हामीलाई राजसंस्था र हिन्दुराष्ट्रको मुद्दा छाडेको आरोप षडयन्त्रमूलक ढंगले लगाइएको छ, तर कसैले आरोप लगाउँदैमा पार्टीको मुद्दा गायब हुने होइन । अन्ततः हाम्रो चिनारी नै त्यही नै हुनेछ ।’

आफ्नो दललाई एक नम्बरको राष्ट्रवादी शक्ति दाबी गर्दै थापाले राष्ट्रवादी शक्ति र आत्मसमर्पणवादी शक्तिको टकराव नेपालको राजनीतिमा अन्त्य भइनसकेको र यसको अन्त्य नभएसम्म वर्तमान फोहोरी राजनीति कायम रहने पनि उनले बताए । पार्टी फुट्नु दुःखद भए पनि यसलाई अवसरका रुपमा लिएको भन्दै उनले आफूहरु अझै बलियो र चनाखो रुपमा अघि बढ्न फुटको घटनाले प्रेरित गरेको उनको स्वीकारोक्ति थियो ।

राप्रपाको बाँके जिल्ला कार्यसमितिद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले दुई चरणमा हुने भनिएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई आफ्नो दलले उच्च महत्व दिएको पनि प्रस्ट्याए ।