दसैंको अग्रिम टिकट बुकिङ २२ गतेदेखि हुने

दसैंको अग्रिम टिकट बुकिङ २२ गतेदेखि हुने


दसैंमा घर जाने यात्रुका लागि सरकारले भदौं २२ गतेदेखि लामो र मध्यम दूरीमा चल्ने सवारी साधनको अग्रिम टिकट बुकिङ सुविधा खुल्ला गर्ने भएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, यातायात व्यवस्था विभाग महानगरीय ट्राफिक प्रहरी परिसर र उपभोक्तावादीबीच शुक्रबार भएको छलफलमा केही सर्तहरु राखेर भदौं २० गतेदेखि अग्रिम टिकट काट्ने सुविधा खुल्ला गरिएको हो ।

महासंघका कार्यवाहक अध्यक्ष डोलराज खनालका अनुसार केही शर्त राखेर भदौं २२ गतेदेखि अग्रिम बुकिङ खुल्ला गर्ने बिषयमा मौखिक सहमति भएको छ । यातायात व्यवसायीले लामो दूरी र मध्यम दूरीमा यात्रा गर्दा बोक्ने सामान कहाँ राख्ने बिषयमा लामो छलफल भएको थियो ।

गत बर्षको कात्तिकमा मन्त्रिपरिषदको बैठकले लामो दुरी र मध्यम दुरीमा सञ्चालन हुने सवारी साधनको छतमा यात्रुले यात्रा गरेका कारण दुर्घटना निम्तिएको भन्दै सवारी साधनको छतमा यात्रु बोक्न र यात्रुको सामानसमेत बोक्न निषेध गरेको थियो ।

सोही निषेधका कारण दसैंमा सर्वसाधारण घर जाँदा यात्रुसँगै हुने सामाग्री कसरी व्यवस्थापन गर्ने बिषयमा लामो बहस भएको थियो । त्यही बहसका कारण व्यवसायीले तत्काल अग्रिम बुकिङ सुविधा नखोल्ने अडान राखेका थिए ।