सेल्फी खिच्ने क्रममा सुन्दरीजलमा ८ को मृत्यु

सेल्फी खिच्ने क्रममा सुन्दरीजलमा ८ को मृत्यु


काठमाडौंको सुन्दरीजलमा चार वर्षको बीचमा सेल्फी खिच्ने क्रममा ८ जनाले ज्यान गुमाएका छन् ।
४ जनालाई भने खोचबाट जिवितै उद्धार गरिएको नेपाली सेनाले जनाएको छ । खोलाको ढुङ्गामा बसेर सेल्फी खिच्ने क्रममा खोलामा तथा गहिरो खोचमा खसेर मृत्यु हुने गरेको हो ।

सुन्दरीजलमा रहेको नेपाली सेनाको श्री नं.१ विपत व्यवस्थापन गणमा शुक्रबार भएको रक्षा-संवाददाता अभिमुखीकरण कार्यक्रममा बोल्दै निमित्त गणपति सेनानी भगिरथ महतले सुन्दरीजल स्थित वागमती नदीमा सेल्फी खिच्ने क्रममा धेरै दुर्घटना हुने गरेको जानकारी दिएका हुन् ।

शनिवार तथा विदाका दिन सुन्दरीजल घुम्न यूवा यूवतीको भीड लाग्ने गर्दछ । बाग्मतीमा सेल्फी खिच्ने क्रममा दुर्घटना बढेपछि नेपाली सेनाले जोखिन न्यूनिकरण गर्ने कार्यक्रम अघि सारेको हो ।

गहिरो खोचमा खसेर घाइते हुनेहरु पनि बढेपछि नेपाली सेनाले अत्यधिक जोखिम युक्त स्थानको खोजी गरेर ८ स्थानमा ‘डेन्जर जोन’ को संकेत समेत राखेको छ । ती स्थानमा रेलिङ राख्न उपयुक्त हुने भन्दै सैनीक मुख्यालयमा लेखेर पठाएको सेनानी महतले जानकारी दिए । #फाइल संकेत तस्विर