यूरोप भ्रमणको रमाइला अनुभूति(अन्तिम श्रृंखला)

यूरोप भ्रमणको रमाइला अनुभूति(अन्तिम श्रृंखला)


हामी सेन्ट्रल स्टेशनबाट आर्म्सटार्ड्याम शहरको त्यो भागमा हिँड्दै थियौं, जसलाई विश्वमा रेडलाइट डिस्ट्रिक्टको नाउँले चिन्दछ । यो शहरको क्षेत्र यौनकर्मीहरुका लागि एउटा ऐतिहासिक ठाउँ हो जसलाई रेडलेन्टर्न अथवा रेडलाइट क्षेत्रको नाम नेपोलियन बोनापार्टले १९औ शताब्दीको पूर्वार्धमा दिएका थिए । हामी सानो नहरको वरिपरि झिलिमिली रंगीविरंगी बत्तीहरु ब्ालेका भवनहरुअघि उभिएका थियौ । समीले रेडलाइटको बारेमा संक्षिप्त जानकारी गर्राईन् । हामी उनलाई पछ्याउँदै ससानो गल्लीहरुका बीच हुँदै अघि बढ्दै गयौं । मेरी श्रीमती भन्दै थिईन् … यो देशको सरकार कस्तो सरकार ? चेलीबेटीहरुलाई यौनदासी बनाएर राजश्व संकलन गर्ने ?… म बुरियाको कुरामा एकैछिन् निरुत्तर भएँ । तर, पछि सम्झाउँदै भने …जहाँ जुन कुरा संस्कारको रुप लिएर विकसित भएको हुन्छ त्यो मेटाउन सकिँदैन, यहाँको यो पेशाले धेरै शताब्दी नाघिसकेको छ…। हामी बजारको बीचतिर पुग्यौ । वेश्यालयहरुका बीचमा एउटा निकै पुरानो गिर्जाघर रहेछ । त्यो गिर्जाघर त्यहँाका यौनकर्मीहरु र यौन खरिद गर्न आउनेहरुका आत्मा पवित्र पार्नको लागि भगवानसँग क्षेमा माग्दै पाप पखाल्ने स्थल हो भनेर गाइडले हाँसो गर्दै भनेकी थिईन् । यहँाको यौन पेशा हजारौ वर्षदेखि चल्दै आएको भनिन्छ । विशेष समुन्द्र किनारमा अवस्थित यस शहरमा उहिले माछा मार्ने मानिसहरुले माछाबाट धेरै पैसा कमाउँथे रे । पैसा कमाएर खर्च गर्ने ठाउँ नभएकाले उनीहरु यस ठाउँका रेस्टुरेन्टहरुमा आएर रक्सी खाएर मनोरञ्जन गर्दथे । यौन चाहना भएकाहरुले पैसा तिरेर रेस्टुरेन्टका महिलाहरुसँग यौनक्रिया गर्ने चलन यहाँबाट नै शुरु भएको भनिन्छ । पछि गाउँ गाउँबाट महिलाहरु यहाँ आएर पेशा गर्न थालेका थिए । नेपोलियन सम्राट हुँदा पनि यस पेशालाई रोक्न सकेका थिएनन् । उनले यस क्षेत्रका यौन पेशा गर्ने घरहरुका अघि रातो लाल्टेनहरु बालेर राख्ने आदेश दिएका थिए । त्यसैबाट रेडलाइट एरियाको नामाकरण भएको थियो भनिन्छ । दोश्रो विश्वयुद्धताका हिटलरले नेदरल्याण्डलाई जर्मनीको अधीनमा गाभेपछि यस शहरको बेश्यावृत्तिलाई कानूनी हिसाबमा यौनपेशा गर्नका लागि वैधानिक छुट दिएका थिए भनेर स्थानीयवासीहरु भन्छन् ।
हामी घुम्दैजाँदा एउटा निकै फराकिलो पाटन जस्तो ठाउँमा एउटा महलको अघि आइपुग्यौ । गाइडले त्यस ठाउँको ऐतिहासिक पृष्ठभूमिको बारेमा भनिन् । त्यस ठाउँमा उहिले डचवासीहरुलाई मृत्युदण्ड दिइने थियो रे । मृत्युदण्ड साह्रै यातना दिएर दिनेचलन थियो । गाइडले भनिन् ….तपाईहरुलाई थाहा छैन होला, यो ठाउँ मानिसलाई मृत्युदण्ड दिने ठाउँ थियो, मृत्युदण्ड दिँदा दुबै हातखुट्टा बाँधेर खम्बामा बाँधिन्थ्यो अनि गाडाले तानेर दुबै हातखुट्टा चुँडाल्थे रे अनि त्यसलाई त्यतिकै मर्न दिइन्थ्यो रे । सुन्दा अङ्ग नै सिरिङ्ग हुने । उनी अझ भन्दै थिईन् … अर्को मृत्युदण्ड दिने चलन त अझ बडो पीडादायक थियो रे ..मानिसलाई नाङ्गो पारेर हात बाँधेर एउटा ठूलो तिखो खम्बा गुदाद्वारमा छिराएर खम्बालाई ठाडो पारेर मृत्युदण्ड दिइने चलन रहेको थियो, तर, फ्रान्सेलीहरुको अधीनमा आएपछि गाइलोटिनबाट घाँटी गिँडाएर मृत्युदण्ड दिने चलन चलेको थियो.. समीले भनेकी थिईन् । हामी त्यसपछि त्यही ठाउँबाट समूह-समूहमा छुटेर अघि बेलुकी सेन्ट्रल स्टेशनको शटलबस हुने ठाउँतर्फ लाग्ोका थियौ । त्यसैबेला नहरका वरिपरि भवनहरुमा तहतहका झ्याले यौनकर्मीहरु देखेका थियौ । मलाई एउटा सवालले घोंचिरहेको थियो मानिस पैसाको लागि आफै बेचिन किन तयार हुन्छन् । रेडलाइट जिल्लामा यौन बजारमात्र नभई त्यहाँ लागुपदार्थ पनि खुलेआम बेच्न पाउँदो रहेछ । लागुपदार्थको वर्गीकरणमा कतिपय “क” श्रेणीका लागुपदार्थ बेच्नभने निषेध छ भनिन्छ तर आर्म्सटार्ड्याममा लागुपदार्थ र यौनका लागि नै बढी पर्यटकहरु आउछन् रे भनेर गाइडले जनाएकी थिईन् । यसरी हामी तीनघण्टा जति बिताएपछि रातको एघारबजेतिर भिक्टोरिया होटलको अघिबाट शटलबसमा चढेर हामी वास बस्ने होटलमा साढे एघार बजेतिर आइपुगेका थियौ । भोलि हामी ६ बजे उठेर तयार हुनुथियो । भ्रमणको अन्तिम दिन, २९ मार्च २०११को दिनमा हामी आर्म्सटाड्यामबाट बेलजियम्को ब्रुज हुँदै लण्डन फर्किने कार्यक्रम थियो । हामी होटलमा आउने बित्तिकै सुत्यौ ।
बिहान हतार-हतार उठेर तयार भयौ । समानहरु मिलाएर फेरि सुटकेश गुडाउँदै कोचमा पुग्यौ । ड्राइभरहरु अघि नै तयार थिए । समान कोचमा राखेर हामी सबै ब्रेकफास्टकालागि हलमा गयौं । हामी आज अलि सबेरै जाने योजना बनाएको कारणचाँहि बेल्जियमको ब्रुज शहरमा केहीघण्टा घुमेर किनमेल गरी बेलुकि ६ बजे लण्डनको क्यानाडावाटरमा पुग्ने कार्यक्रम थियो । कतिपय भ्रमणकारीहरुका आजको साँझ हिथ्रोबाट कनेक्शन फ्लाइट थियो । सबैजना ब्रेकफास्ट लिने बेलामा आपसमा फोटोहरु खिचिरहेका थिए । कहिल्यै नदेखेका साथीहरु यसरी १२ दिनसम्म सँगै भ्रमण गरेर हिंड्दा आपनत्वको अनुभूतिले छुनु स्वाभाविक नै थियो । अपरिचित साथीहरु परिचित भएपछि नौलो न्यानो मित्रताको गाँठोमा आबद्ध भएका मानव अनुभूति छुटि्टइँदा नरामइलो लाग्नु पनि स्वाभाविक नै हो । सबैजना गाडीमा बसेर फराकिला डच भूमिलाई पार गर्दै हामी बेल्जियमतर्फ लाग्यौ । नीलो आकाश, सफा मौसम र न्यानो घामको वातावरणमा उल्लास हुँदै हामी आफ्नो गन्तव्य छोट्याउँदै थियौ । खेतका फाँटहरुमा घोडाहरु, गाईवस्तुहरु र चराचुरुङ्गीहरु उडिरहेका मनमोहक दृष्यहरु हेर्दै केहीबेर यूरोपका सम्पन्न राष्ट्रहरु बारे म घोत्लिन पुगेछु । तुल्नात्मक हिसाबमा यी राष्ट्रहरु सम्पन्न र आधुनिक सुखसुविधाका मामलामा धेरै अघिदेखि विकास भएको अनुभूति गरेँ मैले । केहीबेरपछि मलाई सबै भ्रमणकारी साथीहरुका इमेल र सम्पर्क नम्बर लिने विचार गरी डायरीमा लेख्नलाई अनुरोध गरेँ । सबैले मैलेझै अनुकरण गर्दै आ-आफ्ना डायरी साथीहरुलाई पालैपालो पास गरी लेख्न लगाएका थिए । नेदरल्याण्डको सिमाना र बेल्जियमको सिमानामा प्ार्ने एउटा चक्लेट पmयाक्टरीमा केहीबेर किनमेल गर्नका लागि गाडी रोकियो । यस ठाउँमा सिगरेट र चकलेट एकदमै सस्तो पाउँदो रहेछ । सबैजनाले सिगरेट र चकलेटहरु किने । हामीले पनि केही चकलेटहरु किन्यौ । आज सबैजना हतारहतार समान किनेर ढिलो नगरी गाडीमा चढेका थिए कारण कसैले ढिलो गरे नपर्खने भनी गाइडले सचेत गरेकी थिईन् । हामी त्यहाँबाट बेल्जियमतर्फ लाग्यौ । बेल्जियम पश्चिमी युूरोपमा अवस्थित संवैधानिक संघीय प्रणालीमा शासित राष्ट्र हो । लगभग एक करोड दशलाख जति जनसंख्या रहेको यस राष्ट्रमा प्रमुख तीनवटा सरकारी भाषाहरु क्षेत्रीय हिसाबमा प्रचलित छन् । जर्मनी, फ्रेन्च र डच भाषाहरु यहाँको प्रमुख राष्ट्रिय भाषाहरु हुन । यसबाहेक अन्य भाषाहरु पनि बोलिन्छन् । बेल्जियममाथि धेरै राष्ट्रहरुले प्रभुत्व कायम गरेका थिए अर्थात् इतिहासमा कैयौपल्ट यो क्षेत्र लडाइको मैदान बनेको थियो । सन् १८३०को बेल्जियम बिद्रोह पछि संवैधानिक राजतन्त्र तथा पार्लियामेन्टरी डेमोक्रेसीको रुपमा छुट्टै राष्ट्रको उदय भएको थियो । ब्रसेल्स बेल्जियमको राजधानी हो ।
यात्राको अन्तिम दिनमा हामी बेल्जियमको ब्रुज शहरमा दिनको एकबजेतिर पुगेका थियौ । निकै राम्रा विशाल भवनहरु निर्माण गरिएका शहरको टाउन सेन्टरमा पुगेर हाम्रो कोच रोकियो । हामीलाई त्यहाँ शहर घुम्नकालागि दुई घण्टाको समय दिएको थियो । मैले यूरोपको सातवटा राष्ट्रहरुका भ्रमणमा बेल्जियम आइपुग्दा मात्र नेपालीहरु भेटेको थिएँ । त्यही कोच रोकेको स्थानबाट अलिपर एउटा निकै पुरानो गिर्जाघरको छेउमा एकजना नेपालीको रेस्टुरेन्ट फेला पारेँ । बेल्जियममा पनि निकै नेपालीहरु पुगिसकेका रहेछन् । केही नेपालीहरु राम्रोसँग स्थापित भइसकेको कुरा एकजना पोखरेली भाइबाट थाहा लाग्ोको थियो । बेलायतबाट बेल्जियमनजिक रहेकोले बेलाबेलामा बेलायत घुम्न आउने कुरा पोखरेली भाइले भनेका थिए । हामी केहीबेर ती नेपाली भाइहरुसँग कुरा गरेर बजार घुम्न गयौ । छोटो समयमा केही शहरको क्षेत्रहरु घुमेर फेरि त्यही टाउन सेन्टरतर्फ फर्क्यौं । भोक लागिरहेको थियो । हामी एउटा बर्गरकिङको रेस्टुरेन्टमा पस्यौ । त्यहाँ गएर हामीले दिनको खाना बर्गर र फ्रेन्च फ्राइस खायौ । केही फोटोहरु खिच्यौ । यो भ्रमण अझ केही सप्ताह लम्बिएको भए हुन्थ्यो जस्तो लागिरहेको थियो । कताकता भ्रमणमा हामीले सबै हेर्न नभ्याएको जस्तो लागि रहेको थियो । बुरियाले भोलिदेखिको कामको कुरा गर्न थालेकी थिईन् । हामी भोलिबाट आ-आपmनो काममा जानुपर्ने थियो । तर, जति हेर्यौ, बुझ्यौ हामीले यो जीवनको सबैभन्दा रमाइला अनुभूति प्राप्त गरेका थियौ । मैले र बुरियाले बच्चाहरुलाई पलपल हृदयदेखि नै आशीर्वाद दिएका थियौं । यस भ्रमणलाई प्रायोजन गरेर बुवाआमालाई भ्रमणको रमाइला अनुभूति दिलाएका थिए । । हामी आफ्नो लञ्च लिइसकेपछि मलयसियाबाट आएका साथीहरुसँग कोचतर्फ गयौ । अहिले दिनको साढे २ बजिरहेको थियो । समी र ड्राइभरहरु भ्रमणकारीहरुलाई पर्खिरहेका थिए । सबैजना ठीक समयमा भेला भएका थिए । हामी अब बेल्जियमबाट फेरि फ्रान्सको क्यालेई, त्यसपछि इङलिस च्यानल पार गरेर डोभर हुँदै क्यानाडावाटर, लण्डनमा भरे साँझ ६ बजे पुग्नुपर्ने थियो । मनमा धेरै कुराहरु तरंगित भएर मानसपटलमा सम्झनाको बादलहरु पन्छाउँदै म अतीत केलाउँदै थिएँ । नेपालको धौलागिरी अञ्चल, पर्वत जिल्ला, चित्रेगाउँको बेंशीदेखि लेकसम्म सम्झनामा एक फन्को चाहार्दै, नेपालका हिमाल, पहाड र तराइबारे सोच्दै थिएँ यदि त्यो देशमा सबैथोक सुसम्पन्न भइदिएको भए यी यूरोपेली राष्ट्रहरुका तुलनामा स्वर्ग नै बल्नेथियो । दिन ढल्दै थियो हामी बेल्जियमको सिमाना नाघेर क्यालर्ेइ आइपुग्यौ । हामी साबिकको समयमा क्यानाडावाटर पुग्ने कुरामा ढुक्क भयौ । सबैजना क्यालर्ेइमा कोचबाट उत्रेर पानीजहाजभित्र पस्यौ । हाम्रो भ्रमणको पहिलोदिनमा डोभरबाट जहाज चढेर आउँदा दिन घुर्मिलो थियो, तर, आजचाँहि छर्लङ्ग सफा थियो । हामी सबैभन्दा माथिको तल्लामा गएर समुन्द्रको छालहरु हेर्दै रोमाञ्चित भइरहेका थियौै । मलेसियाबाट आएका साथीहरु र सिंगापुरबाट आएका साथीहरु हामीसँग नै माथि आएका थिए । सम्झनाकालागि जहाजभित्र केही फोटोहरु खिच्यौ । जहाजभित्र कफी पियौ र साथीहरुसँग उनीहरुको देशको परिस्थितिको बारेमा र नेपालको बारेमा केहीसमय कुरा गर्दै काट्यौ । केही समयभित्र नै हाम्रो जहाजले किनारा लिन आँटेको देखें । पारि किनारामा ह्वाइट क्लिफ सफा देखिरहेको थियो । ह्वाइटक्लिफको केही फोटोहरु खिच्यौ । जहाजबाट उत्रेर फेरि इमिग्रशन भएर हामी डोभरको वल्लो किनारामा कोच भएको ठाउँमा आइपुग्यौ । जीवनको प्रत्येक क्षणलाई खुशी बनाउनु आफ्नै हातमा हुन्छ र दुःखको माझ पनि खुशी लिन सक्नु नै म सफल जिन्दगी सम्झन्छु । मानवचोला फेरि प्राप्त हुन्छ भनेर कसलाई थाहा छ र जे छ यही जिन्दगी हो भन्ने सोच लिएर म आफ्नो जीवनसंगीनीसँग जीवन सफर तय गर्दै छु अविरल । जीवनको प्रत्येक फुर्सदिलो समयमा देशविदेशको भ्रमण गर्ने संकल्प मैले यस भ्रमणबाट गरेको छु । हामी बेलायतको भूभाग अर्थात् डोभरबाट लण्डनतर्फ आउँदै गर्दा मैले भर्खरै भ्रमण गरेर फर्केका देशहरु देखेर होला बेलायतका घरहरु मलाई अति पुराना प्रतीत भइरहेको थियो । हामी क्यानाडावाटर आइपुग्यौ, सायद बेलायत पनि जीवनको अन्तिम गन्तव्य नै भएर होला यतिबेला मलाई लण्डनको सेरोफेरो आफ्नै लागिरहेको थियो । यसपटक मैले लण्डन र्फकदाँ विदेश आएकोजस्तो अनुभूति गरेको थिइँन । म आफ्नो देशमा फर्किरहेको जस्तो लागिरहेको थियो । हामी क्यानाडावाटरमा ६ बज्नुअघि नै आइपुग्यौ । हाम्रो कोच चार्ल्टन भएर डार्टफोर्ड जाने हुनाले हामीलाई चार्लटन, घरसम्म पु-याइदिने सहमति ड्राइभरले दिएका थिए । क्यानाडावाटरमा सबै भ्रमणकारीहरुसँग विदा भएर हामी कोचभित्र फेरि चढ्यौ । मलाई ती सबै साथीहरुसँग छुटि्टँदा कताकता नरामाइलो लागिरहेको थियो । बुरिया साउथ अफ्रिकाकी साथीसँग अँगालो हालेर र्फकदा दुबै आँखा रसिएका थिए, बुरियाले आँशु पुछ्दै विदाइ गरेर कोचभित्र मेरो छेउमा आएर बसिन् । मैले बुरियाको आँशु पुछ्दै… धत् त्यसरी पनि रुने .. भनें, तर, मेरो मन पनि साथीहरुसँग छुटि्टदा अमिलो भइरहेको थियो । कोच विस्तारै क्यानाडावाटरबाट चार्लट्नतर्फ लाग्यो । साथीहरुलाई आँखाबाट ओझेल नहुन्जेल हात हल्लाउँदै विदा भयौ । हामी हाम्रो घरपछाडिको विलविच रोडमा झर्यौ । हामी घरमा २९ मार्च को साढे ६ बजे आइपुगेका थियौ ।
यसरी हाम्रो १२ दिने युरोप भ्रमणको समापन भएको थियो । मैले मेरा रमाइला अनुभूति शब्दहरुमा सम्पे्रषण गर्न पाउँदा अति नै खुशी लागिरहेको छ । मेरो यो छोटो नियात्रा पढेर मलाई प्रोत्साहित गर्ने मेरा प्रिय पाठकहरुलाई धेरै धेरै धन्यावाद प्रकट गर्दछु … अब फेरि पुरानो श्रृंखला अतीतको आँखीझ्यालभित्र नियाँल्दा लिएर केही समयपछि पुनः फर्कनेछु । हवस् त विदा …..