प्रदेश नं. २ को निर्वाचन र दलहरूको मनोदशा

प्रदेश नं. २ को निर्वाचन र दलहरूको मनोदशा


बाढीप्रदत्त अस्तव्यस्त अवस्थाबाट सम्हालिन नसकिरहेकै परिवेशमा प्रदेश नम्बर २ मा ‘चुनावी बाढी’ पसेको छ । राहतका ‘कर्म’भन्दा बाढी नै छेकिदिने खालका ‘कुरा’को भारी बोकेर विभिन्न राजनीतिक दलका नेताहरू सो प्रदेशका जिल्ला–जिल्ला, गाउँ–गाउँ धाइरहेका छन् । उम्मेदवार चयनको चटारोबाट जबर्जस्ती मुक्ति पाए पनि चयनको चरणमा खेप्नुपरेको कचमचको उखरमाउलोले दलीय नेतृत्वलाई झस्काउन छोडेको छैन । किनकि, स्थानीय तहको प्रदेश नम्बर २ को निर्वाचनलाई ठूला भनिएका दलका साथै जबर्जस्ती निर्वाचनमा फाल हान्न विवश बनेको राजपा समेतले ‘वर्चश्वको लडाइँ’ तुल्याएका छन् । जसरी पनि पोल्टामा ‘जित’ पार्नुपर्ने बोझले सब थिचिएका छन् ।

पहिलो र दोस्रो चरणको निर्वाचनको परिणामबाट दोस्रो स्थानमा खुम्चिन पुगेको नेपाली काङ्ग्रेसले प्रदेश नम्बर २ को निर्वाचनलाई आफ्नो वर्चश्व कायम गर्ने अन्तिम अवसरको रूपमा लिएको जगजाहेर नै छ । मधेसकेन्द्रित दलहरूको एमालेविरोधी सोच वा गतिविधिलाई हावा दिएर त्यसको लाभ आफ्नो पोल्टामा पार्ने रणनीतिदेखि अन्य यावत् चुनावी दाउपेच प्रयोग गरेर ‘पोजिसन’ पुनस्र्थापन गर्ने अभीष्ट यतिबेला काङ्ग्रेस नेतृत्वमा हाबी भएको स्पष्ट सङ्केत मिलेको छ ।

यस्तै, जबर्जस्ती ‘मधेसविरोधी’ विशेषण व्यहोर्न परेबाट क्षुब्ध बनेको नेकपा (एमाले)ले पनि ‘आगोले पोलेको घाउ आगोमै सेकेर ठीक पार्ने’ सोचअन्तर्गत प्रदेश नं. २ को निर्वाचनलाई जीवनमरणकै सवाल बनाएको छ । एमालेका उच्च तहका नेताको जमात निकै अघिदेखि उक्त प्रदेशमा भिड्नुको तात्पर्य अत्यन्त गहिरो छ । प्रदेश नम्बर २ मा पनि यदि एक नम्बर सिट हासिल भएमा देशकै ‘नम्बर वन’ पार्टीको पगरी हत्याउने एमाले–अभियान सफलताको उत्कर्षमा त पुग्छ नै, ‘मधेसविरोधी’ छवि पखाल्नसमेत उसलाई सुवर्ण बहाना मिल्नेछ । यस पृष्ठभूमिमा एमालेले आफ्नो चिरपरिचित एवम् चर्चित चुनावी कौशल कुन हिसाबले प्रयोग गरिरहेको होला, अनुमान गर्न सकिन्छ ।

उता माओवादी केन्द्रको मनोदशा पनि काङ्ग्रेस र एमालेको भन्दा फरक छैन, उसको आफ्नै दाउ छ । सकारात्मक काम देखाएरभन्दा पनि प्रतिद्वन्द्वीहरूलाई भिडाएर स्वार्थ सिद्धि गर्ने आदत बनाइसकेको माओवादी केन्द्रले चुनावको यस चरणमा पनि सोही चाल चलिरहेको यसका शीर्षनेताले व्यवहारतः प्रस्ट्याइसकेका छन् । छिन्नभिन्न र इतिहासकै कमजोर अवस्थामा पनि मुलुकको राजनीतिको केन्द्र बनेर रहने सफलताबाट मैमत्त माओवादीले ‘मधेसको एक मात्र सच्चा हिमायती नेकपा माओवादी केन्द्र नै हो’ भन्ने प्रचण्ड–अभिव्यक्ति सार्वजनिक गरेको छ । यस पेरिफेरीमा माओवादी केन्द्रले प्रदेश नम्बर २ को चुनावलाई कति महत्व दिएको होला, प्रस्टै छ ।

जहाँसम्म राष्ट्रिय जनता पार्टी (नेपाल)को सवाल छ, राजपा त ‘तावाबाट खसेर भुङ्ग्रामा परेको’ भन्ने उखान चरितार्थ गर्दैै गरेको अवस्थामा छ । ‘मधेसको मागको सुनुवाइ राज्यले गर्दैनगरेको’ रटानमा रहेको राजपा–नेतृत्वका लागि यो निर्वाचन फगत एक चुनाव नभई एउटा अग्निपरीक्षा हो भनी बुझ्दा अन्यथा ठहरिँदैन । मुद्दा मधेसको रट्दै आए पनि मधेसकै जनताबाट बढारिनुपर्ने त्रास राजपा नेतृत्वमा यतिबेला व्याप्त छ । एकातिर भयको यस्तो मनोदशा व्याप्त छ भने अर्कोतिर आफूले जस्तोसुकै हार व्यहोर्नुपरे पनि एमालेलाई चाहिँ परास्त तुल्याउनैपर्ने मानसिकताबाट ग्रस्त रहेको र त्यसको ठोस उपाय नसुझिरहेको परिबन्दका कारण राजपा नेतृत्व चुनावअघि नै थकित पथिकझैँ क्लान्त देखिन पुगेको छ । उम्मेदवार छनोटमै सर्वाधिक सास्ती व्यहोरेर राजपाले सम्भावित लज्जास्पद चुनावी परिणामको भागीदारका रूपमा आफूलाई उभ्याइसकेको आभास हुन्छ । कथम्, एमालेले आफ्नो दाबीअनुसार प्रदेश नं. २ मा पनि एक नम्बर स्थान हासिल ग¥यो भने त्यसपछि आफ्नै भविष्य खोज्न राजपाका नेताहरू भौँतारिनुपर्ने प्रस्टै छ ।

यसप्रकार स्थानीय तहको तेस्रो चरण चुनाव तत्–तत् राजनीतिक दलका निम्ति अत्यन्त उहापोहको अवस्था बोकेर आएको छ । बाहिरबाट नियाल्नेहरूका लागि यो रोचक खेल प्रतीत भइरहे पनि बाढीप्रभावित जनतालाई मानवीय तवरले उपलब्ध गराइनुपर्ने राहतसमेत यतिबेला भोटको मसला बन्न पुगेको अवस्था भने दुःखदायी छ । र, चुनावपछि कतै अहिलेको कथित राहत पनि रोकिने त होइन ? पीडित मतदातामा चिन्ता छ । राहत भरिएको झोला दिएजस्तो गरेर दलका नेता–कार्यकर्ताहरू भोटको भीख मागिरहेका दृश्य पटक्कै स्वाभाविक लाग्दैनन् र पनि मुलुक यस्तै विसङ्गति व्यहोर्न अभीशप्त छ ।